
२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल चीन भ्रमणमा छन् । उनले आइतबार चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरेका छन् ।
सियान नगर सरकार (सियान म्युनिसिपल गभरमेन्ट) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्ने सियान विश्वविद्यालयका कार्यरत नेपाली प्राध्यापक तथा सो अध्ययन केन्द्रका निर्देशक डा. राजीवकुमार झाले जानकारी दिए ।
यसले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवर्द्धनका बारेमा अनुसन्धान गर्दछ । अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्ने झाले बताए ।
उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरु, सो विश्वविद्यालयका पदाधिकारीहरु र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरुको सहभागी थिए ।
महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गरे । उनले दुई देश एक अर्कोबाट लाभान्वित हुदै आएको प्रसङ्ग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गरे ।
चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताए । नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे ।
महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ राजनीतिक भेटघाटको कार्यक्रम छ ।
नेपालमा रहँदा बालुवाटारको जग्गा किनेको आरोप लागेर विवादित बनेलगत्तै महासचिव पौडेल चीन भ्रमणमा गएका हुन् । पौडेल अहिले नेकपाभित्रै आलोचनाको पात्र बनिरहेका छन् ।
प्रतिक्रिया 4