Comments Add Comment

कस्तो हुनुपर्छ शिक्षक, कस्तो हुनुपर्छ कक्षाकोठा ?

छोराछोरीलाई कस्तो विद्यालयमा भर्ना गर्दै हुनुहुन्छ ? कक्षाकोठा कस्ता छन् ? विद्यालयको वातावरण कस्तो छ ? शिक्षक/शिक्षिका कस्ता छन् ?

विद्यालयमा छोराछोरीलाई भर्ना गरिदिएर मात्र अभिभावकको दायित्व पुरा हुँदैन । आफ्ना छोराछोरीले उक्त विद्यालयबाट कसरी सिक्छन् ? कस्तो वातावरणमा सिक्छन् ? के सिक्छन् ? भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले बालबालिकालाई भर्ना गरिदिनुअघि नै विद्यालयको पठन विधी, कक्षा कोठा, शिक्षकको योग्यता र व्यवहार बारे बुझ्नुपर्छ । सुरु गरौं, कक्षाकोठाबाट ।

विद्यार्थीमैत्री कक्षाकोठा

अहिले थरीथरीका विद्यालय छन्, महंगोदेखि सस्तोसम्म । कुनै विद्यालयको आफ्नै भवन छ । आफ्नै खेल मैदान छ । पर्याप्त स्रोत र साधन छन् । कुनै विद्यालयले भाडामा भवन लिएर विद्यालय सञ्चालन गरिरहेका छन् । कतिपय विद्यालयसँग चाहि राम्रो भवन मात्र नभएको होइन, पर्याप्त शैक्षिक सामाग्री पनि हुँदैन ।

विद्यालयको वातावरण र अवस्थाले विद्यार्थीलाई निकै प्रभाव पार्छ । पुस्तकको कुरा मात्र घोकेर वा सिकेर पुग्दैन, त्यहाँको वातावरणबाट पनि विद्यार्थीले स्वतस्फूर्त केही न केही सिक्नुपर्ने हुन्छ । यसर्थ विद्यालयको संरचना कस्तो छ ? शैक्षिक सामाग्री कति पर्याप्त छ भन्ने कुराले खास अर्थ राख्छ ।

यसको मतलब यो होइन कि, विद्यालय भव्य हुनुपर्छ । चम्किलो र तामझाम सहितको हुनुपर्छ भन्ने होइन । तर, विद्यार्थीमैत्री हुनुपर्छ । बालमैत्री हुनुपर्छ ।

विद्यार्थीमैत्री भनेको कस्तो हो त ?

विद्यार्थीमैत्री भनेको त्यस्तो विद्यालय हो, जहाँ उनीहरुले स्वतन्त्र ढंगले बिना अवरोध पठनपाठन गर्न सक्छन् । खेलेर, हासेर, रमाएर पढ्न सक्छन् । कुनैपनि जिज्ञासा मेट्नका लागि शैक्षिक सामाग्रीहरु सहजै फेला पार्छन् । यस्तो विद्यालय बालबालिकाका लागि अनुकुल हुन्छ ।

ठिक यसैगरी बालबालिका बस्ने कक्षाकोठा विद्यार्थीमैत्री हुनुपर्छ । अझ प्राथमिक र पूर्व प्राथमिक तहका बच्चालाई राख्ने कक्षाकोठामा विशेष ध्यान दिनैपर्छ । किनभने उनीहरुले पुस्तकबाट भन्दा आसपासको वतावरणबाट बढी सिक्छन् ।

बालबालिका पढ्ने कक्षाकोठा खुला, सहज, आकर्षक हुनुपर्छ ।

कक्षाकोठा खुला, फराकिलो, हावा आउजाउ गर्ने हुनुपर्छ । उनीहरु बस्ने कुर्सी वा ओछ्याने म्याट्रेस सहज हुनुपर्छ । कक्षाकोठालाई यसरी सजाउनुपर्छ, जहाँ उनीहरु रमाउन सक्छ । साथसाथै ति सजावटबाट केही उपयोगी कुरा सिक्न पनि सक्छ ।

पाठ्यपुस्तक मात्र होइन, कक्षाकोठा पनि बच्चाहरुले नयाँ कुरा सिक्ने स्रोत हो । कक्षाकोठालाई सही रुपमा सजाउने, उपयुक्त शैक्षिक सामाग्रीको व्यवस्था गर्ने हो भने उनीहरुले त्यहाँबाट स्वतः केही न केही सिक्छन् ।

बच्चाहरुलाई कार्टुन चित्र मन पर्छ । कार्टुनका पात्रहरुबाट पनि उनीहरुलाई केही सिकाउन सकिन्छ ।

पूर्व प्राथमिक तहका बालबालिकाका लागि खेल्ने, पढ्ने, सुत्ने, विश्राम गर्ने व्यवस्था हुनुपर्छ । यसका लागि एउटै कोठामा छुटाछुटै कर्नर अर्थात कुना बनाएर एकातिर सुत्ने, अर्कोतिर खेल्ने, अर्कोतिर पढ्ने ठाउँ बनाइदिनुपर्छ ।

शिक्षक/शिक्षिका: बालबच्चाका लागि बालबच्चा जस्तै

हामीकहाँ शिक्षक शिक्षिका भन्नसाथ विद्यार्थीहरु हच्किन्छन् । डराउँछन् । सर्तक हुन्छन् । यसरी शिक्षकसँग नै डर लागेपछि, ति शिक्षकले पढाएको कुरा उनीहरुले कसरी बुझ्न्छन् ?

के तपाईं/हामी मनभरी डर लिएर कुनै कुरा सिक्न वा बुझ्न सक्छौ ?

तर, तपाईं हाम्रो बच्चाको हालत त त्यस्तै छ । उनीहरु डर बोकेर विद्यालय जान्छन् । शिक्षकको सामुन्ने डराएरै बस्छन् । किन यस्तो हुन्छ भने शिक्षकहरुले उनीहरुलाई बढी अह्राई-खटाई गर्छन् । आदेश पालना गराउँछन् ।

तर शिक्षकले विद्यार्थीसँग दुरी बढाउने होइन । शिक्षक पनि बालबच्चासँग बच्चा जस्तै हुनुपर्छ । उनीहरुले शिक्षकलाई साथीको रुपमा स्विकार्न सक्नुपर्छ ।

बच्चाहरु प्रेमको भाषा बुझ्छन् । उनीहरुलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ । शिक्षकहरु अब विद्यार्थीलाई पढाउने र सिकाउने होइन, सहजकर्ता हुनुपर्छ । उनीहरुले के सिक्न चाहेका छन्, उनीहरुले के जान्न चाहेका छन्, उनीहरुले कसरी सिक्न सक्छन्, उनीहरुले कसरी बुझ्न सक्छन् भनेर शिक्षक/शिक्षिकाले बुझ्नुपर्छ ।

शिक्षक सामान्य पेशा होइन । शिक्षक हुनु भनेको सानो कुरा पनि होइन । एउटा बच्चाको समग्र भविष्य शिक्षकको हातमा हुन्छ । त्यसैले शिक्षकले किताबको पाठ पढाउने, होमवर्क गराउने मात्र होइन, बच्चालाई सही र जीवनोपयोगी कुरा सिकाउन सक्नुपर्छ ।

अभिभावकलाई सल्लाह

तपाईं आफ्ना छोराछोरीको भविष्यप्रति पक्कै चिन्तित हुनुहुन्छ । त्यसो हो भने आफ्ना बालबच्चालाई विद्यालय भर्ना गरिदिनुअघि उक्त विद्यालयबारे सोधीखोजी गर्नुहोस् । शिक्षकहरुसँग कुरा गर्नुहोस् । उनीहरुलको मनोविज्ञान बुझ्नुहोस् ।

विद्यालयमा कसरी पढाउँछ ? के पढाउँछ ? कसरी सिकाउँछ ? भन्ने कुरामा ध्यान दिनुहोस् । आवरण हेरेर वा लहलहैमा लागेर विद्यालय छनौट गर्ने गल्ती नगर्नुहोस् । किनभने विद्यालय भनेको तपाईंको भविष्य सजाउने घर पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment