५ वैशाख, काठमाडौं । विप्लव समूहको बन्दका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्वाध चलिरहेका छन् ।
देशकै प्रमुख लाइफ लाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् ।
दोलखाको चरिकोट । तस्वीर: चन्द्र आले/अनलाइनखबर
दोलखाको चरिकोट बजारमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।
बन्दले प्रदेश ५ को जनजीवन पनि प्रभावित भएको छ । प्रदेश ५ का मुख्य राजमार्गमा बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधनहरु भने न्यून संख्यामा चलेका छन् । मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् । प्रदेश ५ का बाह्रवटै जिल्लाका लागि बस जीप छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट सवार्वजनिक सवारीसाधनहरु चलेका छैनन् ।
बम र शंकास्पद वस्तुले जनजीवन त्रस्त
पाल्पामा त बम विस्फोट नै भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो । प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको दुम्कौली हेल्थ पोष्ट अगाडि र गैंडाकोट नगरपालिका १३ र १४ को बीचमा पर्ने बेल्डिया शंकास्पद वस्तु भेटिएपछि सवारी आवागमन प्रभावित भएको छ ।
पूर्वीनवलपरासीमा भेटिएको शंकास्पद वस्तु । तस्वीर: रामकुमार श्रेष्ठ/अनलाइनखबर
रुपन्देहीको कोटिहवा-बाउन्नकोटी सडकमा पनि शंकास्पद वस्तु फेला परेको अनलाइनखबरकर्मी टोपराज शर्माले जनाएका छन् । बम आशंका गरिएको उक्त शंकास्पद वस्तुलाई निष्कृय पार्न नेपाली सेनाको टोली पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
यस्तै, बुटवल–भैरहवा सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा बिहीबार बिहानै भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ नं. वडा कार्यालय अगाडि कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4