Comments Add Comment

स्वयम्भू र हनुमानढोका जोड्ने सम्पदा मार्ग : गुरुयोजना र एप सार्वजनिक

५ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ४ वटा विश्व सम्पदामध्ये २२ सय मिटर दुरीमा रहेका स्वयम्भू र हनुमानढोका दरबार क्षेत्र जोड्ने सम्पदा मार्गको गुरुयोजना र यस सम्बन्धी बिवरण भएको मोवाइल एप्लिकेसन सार्वजनिक गरिएको छ ।

विश्व सम्पदा दिवस २०१९ को सन्दर्भ पारेर महानगरको सम्पदा तथा पर्यटन समितिले बिहीबार स्वयम्भूबाट निकालेको सम्पदा र्‍याली हनुमान ढोका पुगेपछि आयोजना गरिएको समारोहमा गुरुयोजना र मोवाइल एप सार्वजनिक गरिएको हो ।

स्वयम्भूको भुइँखेलबाट निकालिएको र्‍याली बिष्णुमती नदी पार गर्दै, नरदेवी, ढोकाटोल हुँदै मरुगणेशबाट हनुमानढोका पुगेको थियो ।

गुरुयोजना सार्वजनिक गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जीवन्त सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोडेपछि स्थानीयको जीविकोपार्जनमा सुधार हुने अपेक्षा ब्यक्त गरे ।

‘सम्पदा संरक्षण र व्यवस्थापन कार्य स्थानीयको दैनिकीसँग जोड्ने हाम्रो चाहना हो, अनुपम कला कृतिको अवलोकनका लागि आन्तरिक पर्यटकको सम्भावना पनि प्रवल छ’, उनले भने ।

गएको वर्ष ७ दिनको तयारीमा कार्यक्रम गरिएको स्मरण गर्दै उनले यस वर्ष गुरुयोजना तयार भएप,ि योजना कार्यान्वयनको चरणमा पुगेको बताए ।

समारोहमा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले २ किलोमिटर दुरीमा २ वटा विश्व सम्पदा सूचीमा सूचीकृत भएका सम्पदा क्षेत्र हुनु तथा यसबीचमा २० भन्दा बढी ऐतिहासिक एवं पुरातात्विक महत्वका कलाकृति हुनुलाई विश्वको आठौं आश्चर्यका रुपमा लिइनुपर्ने दाबी गरे ।

यस क्षेत्रका स्थानीयहरु परम्परादेखि तिथि, मिति र साइतमा तन्त्र, मन्त्र, साधना तथा सामाजिक जीवनमा आधारित कला प्रदर्शन गर्दै आएका छन् ।

उनले यी प्रस्तुतीलाई पर्यटकको जानकारीका लागि देखाउन पाए यसले काठमाडौंको मात्र नभइ देशकै गौरव बढाउने विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्धनका लागि योजनाबद्ध कार्यक्रम अघि सारेको छ । कार्यक्तममा बोल्ने क्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले सम्पदा मार्गजस्तै पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अरु पनि कार्यक्रम ल्याउन लागिएको जानकारी दिए ।

सम्पदा संरक्षण र यिनको प्रवर्धन गरेर काठमाडौंको गौरव बढाउने साझा लक्ष्यमा सबैले काम गरौं, साझेदारसँग महर्जनको आग्रह थियो ।

त्यस क्रममा नगर कार्यपालिका सदस्य एवं समितिकी सदस्य रमिताकमल स्थापितले सबै मिलेर एउटै कार्यक्रम अघि सारौं र त्यसलाई सफल बनाउन लाग्नुपर्ने बताए ।

कार्यक्रममा सहरी योजना आयोगकी सहायक बिज्ञ रजिता शाक्य उदासले गुरुयोजनामा समेटिएका कार्यक्रमको खाकाका विषयमा प्रकाश पारेका थिए ।

उनका अनुसार सम्पदा मार्गमा भएका सांस्कृतिक ऐतिहासिक सामान तथा बस्तुको महत्व उजागर गर्ने, पर्यटकलाई बस्तु, ठाउँ तथा सामानका बिषयमा जानकारी दिने व्यवस्था गर्ने, मौलिक कला संस्कार तथा संस्कृतिको प्रवर्धन गर्ने, हस्तकला, खानपानजस्ता स्थानीय सम्भावनालाई आयमा रुपान्तरण गर्ने काम गुरुयोजनामा समेटिएका छन् ।

सम्पदा पदयात्राको कार्यान्वयनसँगै स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन, स्थानीय जनताको आर्थिक विकासमा टेवा, आन्तरिक एवं बाह्य पर्यटनको विकास र सम्पदाको मूल्य मान्यता बारे जनमानसमा चेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

मूर्त एवं अमूर्त सम्पदाहरूको पहिचान, पुस्तान्तरण तथा सम्बद्र्धनका लागि अघि सारिएको कार्यक्रममा महानगरका वडा १५, १८, १९, २०, २३ र २४ समेटिएका छन् ।

यी वडा भएर जोडिने बिश्व सम्पदा क्षेत्रको २.२ किलोमिटर दुरीभित्र करीब २० वटा महत्वपूर्ण सम्पदास्थलको अवलोकन गर्न सकिने छ ।

कार्यक्रमपछि सहभागीहरुले सिंहसत्तलमा आयोजना गरिएको चित्रकला प्रदर्शनी अवलोकन गरेका थिए । सम्पदा र्‍याली, मूल समारोह तथा चित्रकला प्रदर्शनीमा नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजबैद्य, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यहरुसँगै स्थानीय सम्पदा प्रेमी र साझेदारहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment