+
+
Shares

सामुदायिक विद्यालयमा भर्ना पाउनै मुश्किल

टोपराज शर्मा टोपराज शर्मा
२०७६ वैशाख ६ गते १२:५०

६ वैशाख, बुटवल । सरकारी (सामुदायिक) विद्यालय भन्नासाथ धेरै अभिभावकहरु नाक खुम्च्याउँछन् । सरकारी स्कुलमा पढाईको गुणस्तर राम्रो छैन भन्ने आम धारणा छ, जुन केही हदसम्म सत्य पनि हो । त्यसैले अभिभावकहरु आफ्ना छोराछोरीलाई जसरी पनि बोर्डिङ स्कूलमा पढाउन खोज्छन् ।

आर्थिक अवस्था कमजोर भएका परिवारले पनि ऋणधन गरेरै निजी स्कूलमा बच्चा पढाउन चाहनछन् । सामुदायिक विद्यालयहरुमा भने विद्यार्थीको अभाव हुन्छ ।

तर, रुपन्देहीका केही सामुदायिक विद्यालयमा भने यसको ठीक उल्टो स्थिति छ । आधा दर्जन सामुदायिक विद्यालयहरुले निजी बोर्डिङ स्कूललाई शैक्षिक गुणस्तरमा चुनौति दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ ।

विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् ।

यस्तै अब्बल सामुदायिक विद्यालय मध्ये एक हो, कालिका मानव ज्ञान मावि बुटवल । कालिकानगरस्थित साविकको कालिका मावि अघिल्लो वर्ष बुटवल रामनगरको मानव ज्ञान माविसँग मर्ज भएर कालिका मानव ज्ञान बनेको हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।

मन्टेश्वरीदेखि अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने विद्यालयले सरकारबाट शैक्षिक गुणस्तरमा सर्वोत्कृष्ट विद्यालयको पुरस्कार पाइसकेको छ । ब्रिटिस काउन्सिलबाट समेत इन्टरनेसनल स्कूल अवार्ड प्राप्त गरेको विद्यालयमा प्रदेशका मन्त्रीदेखि ‘ठूलाबडा’ले आफ्ना सन्तान भर्ना गर्न तछाडमछाड गर्छन् ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आफ्नी छोरीलाई यही विद्यालयमा भर्ना गरेका छन् । गत वर्ष १ हजार २ सय नयाँ विद्यार्थी भर्ना गरेको कालिका मानव ज्ञान मावि यस वर्ष करिब ७ सय नयाँ विद्यार्थी भर्ना लिने योजनामा छ ।

सेक्टर १ मा ५ सय २५ जना र सेक्टर २ मा १ सय ३२ जना नयाँ विद्यार्थी भर्ना गर्ने गरी संख्या सीमा निर्धारण गरिएको प्रधानाध्यापक घनश्याम पाठकले बताए ।

करिव ७ सय सिटका लागि करिब ३ हजार विद्यार्थीले आवेदन फारम लगेको उनले जानकारी दिए । ‘यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं,’ पाठकले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’

सेक्टर १ र २ मा गरेर अहिले कालिका मानव ज्ञानमा ५ हजार ५ सय २९ जना विद्यार्थी अध्ययनरत छन् ।

कालिका मानव ज्ञान माविबाट यस वर्षको एसईई परीक्षामा ३ सय ७१ जना विद्यार्थी सहभागी भए । विद्यालयमा झण्डै २ सय शिक्षक तथा कर्मचारी कार्यरत छन् । यो देशमै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो ।

कालिकाले विगत ६ वर्षदेखि लगातार साविक एसएलसी र हाल एसईईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ । विद्यालयसँग ५ वटा बस छन् । विद्यालयले स्वीमिङ पुल, छात्रावास, शिक्षक आवास गृहका अतिरिक्त खेलकुदका लागि विभिन्न योजनासहित ८० करोडको गुरुयोजना बनाएर काम थालेको छ ।

कालिका जस्तै अब्बल शैक्षिक गुणस्तरका कारण नाम कमाएको तिलोत्तमा नगरपालिका मणिग्रामको शान्ति नमूना मावि । नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यममा पढाई हुने विद्यालयमा पनि नयाँ भर्ना पाउन हम्मेहम्मे पर्छ ।

यस वर्ष विद्यालयले ५ सय नयाँ बिद्यार्थी भर्ना गर्ने प्रधानाध्यापक कूलप्रसाद लामिछानेले बताए । शान्ति नमुनाले पनि प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना दिने गरेको छ ।

विद्यालयले यस वर्षदेखि बाहिरका विद्यार्थी भन्दा आधारभूत तहका छिमेकी विद्यालयहरुबाट आउने विद्यार्थीलाई भर्नामा प्राथमिकता दिने नीति लिएको प्रधानाध्यापक लामिछानेले बताए । निजी विद्यालय छाडेर आउने विद्यार्थीको चाप बढ्न थालेपछि सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिएर भर्ना गर्ने नीति लिनुपरेको उनले खुलाए । विद्यालयमा ३१ जना सरकारी दरबन्दीका र ७० जना निजी श्रोतका शिक्षक कर्मचारी छन् । विद्यालयको आफ्नै दुई वटा बस छन् ।

बुटवल हाटबजारलाइनको पुरानो विद्यालय कान्ति माविले पनि पछिल्ला वर्षहरुमा आफूलाई उत्कृष्ट सामुदायिक विद्यालयको सूचिमा उभ्याएको छ । करिब ३ हजार विद्यार्थी अध्ययन अध्ययनरत छन् भने यो वर्ष ५ सय जना नयाँ विद्यार्थी लिइने प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । नयाँ विद्यार्थी भर्नाका लागि करिब एक हजार पाँच सय फारम वितरण भएको उनले जानकारी दिए ।

कान्तिले पनि नयाँ भर्नाका लागि कक्षा ६ भन्दा माथिका लागि स्तर मापन प्रवेश परीक्षा लिने गरेको छ । ‘विद्यार्थीको चाप थेगिनसक्नुहुन्छ, भर्ना हुन चाहेकामध्ये एकचौथाई मात्र भर्ना लिनु हाम्रो वाध्यता हो,’ प्रधानाध्यापक ज्ञवालीले भने, ‘आफ्नो सेवा क्षेत्रका विद्यालयबाट आउने विद्यार्थीलाई प्राथमिकता दिएका छौं ।’

गत वर्ष प्रवेश परीक्षामा एक हजार पाँच सय सहभागी भएकामा ३ सय नयाँ विद्यार्थी भर्ना भएका थिए ।

कान्तिमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा र ६ देखि माथि अंग्रेजी र नेपाली दुबै माध्यममा पढाई हुन्छ । भौतिक संरचना निर्माणमा स्थानीय र प्रदेश सरकारले सहयोग गरे आगामी वर्षहरुमा थप विद्यार्थी भर्ना गर्न सकिने ज्ञवाली बताउँछन् ।

उत्कृष्ट सामुदायिक विद्यालयमै गनिने अर्को विद्यालय हो–देवीनगरस्थित नविन औद्योगिक कदरबहादुर रीता मावि । विगतमा सुकुम्बासी परिवारका छोराछोरी मात्र अध्ययन गर्ने र नतिजा पनि दयनीय रहेको यो विद्यालयले पछिल्लो एक दशक भौतिक पुर्वाधार र शैक्षिक गुणस्तरमा फड्को मारेको छ । १ हजार ८ सय विद्यार्थी अध्ययनरत विद्यालय यस वर्ष ४ सय नयाँ विद्यार्थी भर्ना लिने तयारीमा छ ।

कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ इन्जिनियरिङको पढाइ हुुने यो विद्यालयमा पनि भर्ना पाउन सजिलो छैन । नयाँ भर्ना हुने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने नियम छ । विगतमा जस्तो सुकुम्बासी र विपन्न परिवारका मात्र होइन, अहिले सम्पन्न परिवारका छोराछोरीको पनि लर्को लाग्छ । स्थानीय जनप्रतिनिधिका छोराछोरीले समेत अध्ययन गर्ने यो विद्यालयले पनि ब्रिटिस काउन्सीलबाट इन्टरनेसनल स्कूल अवार्ड प्राप्त गरेको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापनसहित राजनीति नगर्ने हो भने विद्यालयको शैक्षिक गुणस्तर सुुधार गर्न गाह्रो नहुुने बुटवलका शिक्षाविद् आनन्दमानसिंह शाक्य बताउँछन् । ‘देशभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न रुपन्देहीका यिनै विद्यालय हेरेर अनुशरण गरे हुन्छ’, प्रोफेसर शाक्यले भने ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?