Comments Add Comment

‘दार्जीलिङ र काठमाडौंको दूरी बढ्यो’

'नेपालसँगको फरक अहिले दार्जीलिङले बुझेको छ'

७ बैशाख, दार्जीलिङ । झण्डै २ हजार वर्षअघि जुम्लाको सिञ्जा क्षेत्रमा बस्ने खस जातिले बोल्न सुरु गरेको नेपाली भाषा  नेपालमा मात्र सीमित छैन । नेपालको एकीकरण र भारतमा अंग्रेजको प्रवेशसँगै नेपाली भाषाले नेपालको जनसंख्या र भूगोल दुबै पार गर्न थालेको हो ।

नेपालको पश्चिमतर्फ भारतीय राज्य उत्तराखण्डसम्म मात्र नेपाली भाषाको प्रभाव देखिन्छ । तर, जति-जति पूर्वतिर लाग्यो, नेपाली भाषाको प्रभाव गहिरो हुँदै जान्छ । भौगोलिक सीमा काँकरभिट्टा पार गरेपछि आउने भारतको पानीटंकीमा पनि पश्चिम बंगालको आधिकारिक भाषा बंगालीलाई नेपाली भाषाले थिचेको छ ।

नेपाली भाषा पश्चिम बंगालको महत्वपूर्ण सहर सिलिगुडी, जलपाइगुडी र डुबर्स पुग्दा पनि कमजोर हुँदैन । जलपाइगुडी रेल स्टेसनमा यात्रुहरुलाई सबै किसिमका सूचना नेपाली भाषामा दिने गरिएको दृश्यबाट पनि यसको छनक मिल्छ । अझ पहाडै पहाड दार्जीलिङ सिक्किम, भुटान कटेर अरुणाञ्चल प्रदेशको पश्चिमी सीमासम्म पुग्दा पनि नेपाली भाषाले जनजीवनकै भाषाको स्वीकृति पाएको देखिन्छ ।

दुई दशकअघि नै भुटानबाट एक लाखभन्दा बढी नेपालीभाषीहरु विदेशी भएको आरोपमा लखेटिए । तर, उनीहरुको मातृभाषाले भुटानमा पनि अहिलेसम्म स्थानीय भाषाका रुपमा मान्यता पाएको छ ।

भारतको आसाम, नागाल्याण्ड, मणिपुर हुँदै म्यानमारसम्म पुगेर अनलाइनखबरले नेपाली भाषाको अवस्था बुझ्ने प्रयास गरेको छ । यससम्बन्धी केही रिपोर्टिङ र अन्तरवार्ता प्रकाशित भइसकेका छन् । यही मेसोमा दार्जीलिङतिर छिर्न खोज्दा सिंगै भारत लोकसभा निर्वाचनमा व्यस्त थियो । दार्जीलिङ पहाडमा टिकट पाउने सबै उम्मेदवारहरु नेपालीभाषी नै थिए । त्यसमध्ये भारतीय जनता पार्टीका राजु विष्ट र तृत्रमूल कांग्रेसका अमरसिंह राईको कडा प्रतिस्पर्धा देखिन्थ्यो । दार्जीलिङमा विहीबार मतदान भइसकेको छ, अब परिणाम आउन मात्रै बाँकी छ ।

चुनावी तामाझाममा दार्जीलिङका चर्चित कवि तथा पत्रकार मनोज बोगटीलाई हामीले फेला पार्‍यौं । गोर्खाल्याण्ड आन्दोलनमा बौद्धिक हस्तक्षेप गर्ने अनि युवा अकादमी पुरस्कार पाइसकेका मनोज बोगटी नेपालका साहित्यकार वीचमा पनि उत्तिकै लोकप्रिय छन् । उनका ५ कविता सङ्ग्रह र एउटा कथा सङ्ग्रह प्रकाशित छन् । उनको कथा सङ्ग्रह ‘लाइफ अफ बटरफ्लाई’ ले गतिलो पाठक प्रतिक्रिया पाएको छ ।

हामीले भारतमा नेपाली भाषा र नेपालीभाषीहरुको अवस्थाका बारेमा जिज्ञासा राख्दा बोगटीले राजनीतिक चेतनाका कारण अहिले काठमाडौं र दार्जीलिङका वीचमा दूरी बढेको विश्लेषण सुनाए ।

प्रस्तुत छ दार्जीलिङे कवि मनोज बोगटीसँगको साहित्यवार्ता :

 

हामी बर्मादेखि नेपाली बस्ती छिचोल्दै नेपालको सिमानासम्म आइपुगेका छौं । हामीलाई भारतमा नेपाली भाषाको फैलावट देखेर अनौठो लाग्यो । तपाईंलाईचाहिँ नेपाली भाषाको यो फैलावट देख्दा कस्तो लाग्छ ?

नेपाली भाषा नेपालमा जति बोलिन्छ, भारतमा त्योभन्दा बढी जनसङ्ख्याले नेपाली बोल्ने गर्छन् भन्ने हामीलाई थाहा छ । नेपाली भाषाको फैलावट देखेर नै धेरैअघि सन् १९९२ अगस्ट २० मा नेपाली भाषालाई भारत सरकारले आधिकारिक भाषाको मान्यता दिएको हो । यसकारण हाम्रा लागि यो अनौठो कुरा होइन ।

तर, नेपालीभाषाले जसरी भारतमा राष्ट्रिय भाषाका रुपमा मान्यता पायो, गोर्खाल्याण्डले त पाएन नि ? तपाईहरु अझै पनि संघर्षरत  नै हुनुहुन्छ । के कारणले हो ?

नेपाली भाषालाई मान्यता दिलाउन भारतभरिका नेपालीभाषीहरुले आन्दोलन गरेका थिए । पूर्वोत्तर भारतका ८ राज्यमा नेपाली भाषाका लागि एकैसाथ आन्दोलन भएको थियो । त्यहाँबाट जित्ने सांसदहरुले नेपाली भाषाको विषयमा लोकसभामा आवाज उठाएका थिए । यस अर्थमा त्यो राष्ट्रिय चरित्रको आन्दोलन थियो ।

यता, गोर्खाल्याण्डको आन्दोलनले भारतभरि छरिएर रहेका गोर्खालीहरुलाई समेट्न सकिरहेको छैन । दार्जीलिङ र त्यस वरपरका जनताको चासो मात्रै भएका कारण यो मुद्दा क्षेत्रीय हुन पुग्यो । पश्चिम बंगालका २३ जिल्लामध्ये एउटा जिल्लाले मात्रै छुट्टै राज्यको माग गर्दा केन्द्रले देशको एउटा कुनाको सानो अशान्तिका रुपमा मात्रै लियो ।

हाम्रा नेताहरुमा पनि कमीकमजोरीहरु रहे । ३५ वर्षभन्दा बढी समयदेखि हामी लडिरहेका छौं र सयौं गोर्खालीहरुले ज्यान गुमाएका छन् । आन्दोलन कमजोर बनाउने खेलहरु भए । त्यसैले गाह्रो भएको हो ।

यो पनि पढ्नुहोस मणिपुरका नेपालीभाषीलाई मनको बाघले खाँदैछ : भवानी अधिकारी

नेपाल संघीयता गइसकेपछि हामीलाई लाग्न थालेको छ, गोर्खाल्याण्ड ठूलो मुद्दा होइन । गोर्खाल्याण्डले माग गरेको भन्दा कम भूभाग र जनसङ्ख्यामै नेपालमा संघीयताको अभ्यास भइरहेको छ । तर, यत्रो वर्षदेखि गरिएको आन्दोलन सफल नभएको देख्दा नेपालीहरु अनौठो मान्छन्, के भन्नुहुन्छ ?

पश्चिम बंगालका लागि दार्जीलिङ विश्व बजारमै ठूलो ब्राण्ड हो । दार्जीलिङ भन्नेवित्तिकै संसारको जुनसुकै कुनाको व्यक्तिले पनि त्यो केका लागि प्रसिद्ध छ र कहाँ छ भनेर थाहा पाउँछन् । त्यसमध्ये थ्री टी अर्थात टी, टिम्बर र टुरिजमबाट पश्चिम बंगालले ठूलो आम्दानी गरिरहेको छ । यो छुट्टै राज्य हुनेवित्तिकै पश्चिम बंगालसँग देखाउने कुने ‘शो-पिस’ रहँदैन । यही कारण पश्चिम बंगाल यसलाई छुट्याउँन चाहदैन । केन्द्रमा हाम्रो बल पुग्दैन । यही कारण हामी संघर्षरत छौं ।

तपाईं यहाँको चर्चित कवि र पत्रकार पनि हुनुहन्छ । यहाँका जनताले गोर्खाल्याण्ड प्राप्त गर्न सक्ने सम्भावना छ ?

अवश्य छ । तर, हाम्रा नेताहरुले हाम्रो आन्दोलन के कारणले असफल भइरहेको छ भनेर गम्भीररुपमा विचार गर्न सकेका छैनन् । ममता बनर्जीले गोर्खा जातिबीच फूटाऊ र शासन गर भन्ने नीति लिइरहँदा सानोतिनो लोभमा हामी परिरहेका छौं । अहिले भिन्न जातजातिका नाममा पैसा आइरहेको छ, जबकि पहिले गोर्खाको नाममा एकमुष्ठ पैसा आउँथ्यो ।

यो निर्वाचनपछि भने आम जनताले हामीलाई कसरी लोभ र डरमा पारिएको छ भन्ने बुझ्दै जानेछन् र पुनः यो आन्दोलन सशक्त हुनेछ भन्ने लाग्छ ।

यो पनि पढ्नुहोस ‘बर्मा गए कर्म सँगै ! नेपाल गए कपाल सँगै !’

काठमाडौंबाट हेर्दा दार्जीलिङले नेपाललाई पहिले जति माया गर्दथ्यो, आजभोलि त्यति माया गर्दैन भन्ने ठान्न थालिएको छ । किन यसो भयो होला ?

यसका केही कारण छन् । हिजो हामीले अधिकार खोजेका थिएनौं, त्यसैले भारत सरकारले वा राज्य सरकारले हामीलाई खुला छाडेको थियो । हामी भारतीय नागरिक भए पनि नेपालमा हलगोरुजस्तै नारिएर हिँड्थ्यौ । साहित्य, संगीत कलामा एक समान थियौं । कहिलेकाहीँ त कस्तो थियो भने हामी दुई देशका नागरिक हौं भन्ने समेत बिर्सन्थ्यौं ।

अगमसिंह गिरीले नौ लाख तारा गीत नै लेखिदिए, जसमा नेपाल राष्ट्रको वर्णन छ । दार्जीलिङ पहाडमा घरको दैलोमा नेपाली राजाका तस्वीरहरु टाँगिएका हुन्थे । हाम्रा बाजेहरु आफ्नो थातथलो नेपाल हो भन्न कञ्जुस गर्दैनथिए ।

जुन दिनदेखि हामीले अधिकार खोज्न थाल्यौं, आन्दोलन दबाउने नाममा हामीलाई नेपालबाट आएको भनियो । सन् १९५० को नेपाल-भारत सन्धीको धारा ७ र ८ ले नेपाल र भारतका नागरिक एक-अर्काको देशमा सजिलै आवत-जावत र बस्न सक्छन् भनेको छ । । तर, आन्दोलन सुरु भएपछि यसलाई कमजोर पार्न को रैथाने र को नेपालबाट आएको भन्ने कुराले असर गर्‍यो ।

यहाँका आन्दोलनकर्तालाई नेपालसँग के नाता छ भनेर जोड्न थालियो । यहाँ कहिले आयौ भनेर भोटरलिस्ट र राशन कार्डको खोजी भयो । आज पनि बिमल गुरुङमाथि नेपालका माओवादीसँग जोडेर मुद्दा चलिरहेको छ । सर्वोच्चमा यो मुद्दा विचाराधीन छ ।

पहिलेदेखि नै यस्ता धेरै कारणले पहाडबासीलाई झस्क्याउने गरेको थियो । नेपालमा राजनीतिक संकट हुँदा त्यहाँका नेताहरुले सीमापारिका नेपाली बस्तीहरुमा छिरेर मिटिङ  गरे । त्यसले पनि बंगाल सरकारलाई यस्ता आरोप लगाउन सजिलो भयो ।

तर, यी घटनाले हामीलाई राजनीतिकरुपमा सचेत गराएको छ । हामी भाषाका रुपमा एउटै हौँ, तर हाम्रो भूगोल र राजनीतिक सोच फरक छ । यो कुरा अहिले दार्जीलिङले बुझेको छ ।

आजको दिनमा नेपाल र दार्जीलिङको सम्बन्ध केवल भाषामा मात्रै बाँकी रहेको हो ?

एउटा सामान्य उदाहरण दिन्छु-

दार्जीलिङमा नेपालको झापा क्लब र बंगालको कुनै क्लबबीच फुटबल म्याच भयो भने दार्जीलिङले झापा क्लबका पक्षमा हुटिङ गरेको देख्न सकिन्छ । जबकि हामी बंगाल राज्य अन्तरगतका जिल्लामा बसोबास गर्छौं । केही बंगाली साथीहरुलाई हाम्रो यो चरित्र अनौठो लाग्छ । तर सत्य हो, हामी बंगला गीतभन्दा नेपाली गीत, बंगला साहित्यभन्दा नेपालका साहित्य पढ्न रुचाउँछौं ।

यो कुरा ठीक त्यस्तै हो, जस्तो बंगालको साहित्य बंंगालमा भन्दा बंगलादेशमा बिक्री हुन्छ । रविन्द्रनाथ टेगोरलाई उनीहरु आफ्नो मातृकवि मान्छन्, जसरी हामी भानुभक्तलाई मान्छौं र वर्षको एक दिन भानुभक्तका नाममा छुट्टी पाउँछौं ।

तपाईमा साहित्यको पहिचानको तीव्र लालसा र गोरखाल्याण्ड आन्दोलनको तडप नै बढि भेटिन्छ । एउटै कुरा सधैंभरि लेख्दा दिक्क लाग्दैन ?

म जुनबेला हुर्किंदै थिएँ, त्योबेला दार्जीलिङ गोर्खाल्याण्डको आन्दोलनमा होमिएको थियो । गाउँका गाउँ रातभर जागा रहेर सरकारविरुद्ध लडिरहेका थिए । मेरा बुवा चिया बगानमा पानी पटाउने फलामे पाइप काटेर भरुवा बन्दुक बनाउनुहुन्थ्यो । मलाई पनि उहाँले नै बन्दुक चलाउन सिकाउनुभयो । उहाँ दिनभर खेतमा काम गर्न जानुहुन्थ्यो र रातभर गाउँमा सीआरपी (अर्ध सैनिक बल) नछिरोस् भनेर सुरक्षाको सङ्केत दिनुहुन्थ्यो ।

गाउँका चार डाँडामा स-साना समूहहरु बस्थे । मूलबाटोबाट सीआरपी छिरे नछिरेको कुरा लाइटले सङ्केत गर्दथे । खतरा भए टर्च लाइटमा रातो रंगको प्लास्टिक बेरेर एउटा डाँडामा देखाइन्थ्यो । त्यो संकेत पाएपछि अर्को डाँडामा छेऊको समूहले सूचना दिन्थ्यो । यसैगरी सारा पहाडमा खतराको सूचना दिने गरिन्थ्यो । म यस्तो वातावरणमा हुर्कदै गएँ । नेपाली भाषा र गोर्खाको चिनारी नै मेरो जीवनको बन्यो । त्यसबाहेक अरु कुरा लेख्नै जानिनँ ।

कलिलै उमेरमा क्रान्तिकारी कुरा लेखेको भनेर खिसिटिउरी भएपछि बाध्यतामा प्रेम कविता पनि लेखियो । तर, त्यो मनले लेखिएन । मेरो लेखनको उद्देश्य गोर्खा पहिचानमै केन्द्रित छ ।

यो पनि पढ्नुहोस पूर्वोत्तर भारतको अन्तिम गाउँ, जसले १२२ नेपाली चेलीलाई बचायो

साहित्यमै किन लाग्नुभयो त ? राजनीति पनि गर्न सक्नुहुन्थ्यो नि ?

हामीलाई स्कुलका मास्टरले हरिभक्त कटुवाल, बैरागी काइँला र धरणीधर कोइरालाको बुटी खुवाइदिए । मातेको मान्छेको भाषणजस्तै कविता लेख्नुपर्छ भनेर उकासिदिए । अनि त के  छ, हामी पनि त्यस्तै बन्न सक्छौ भन्ने लोभ पलाएपछि बाटै फरक भयो । तर, म सन्तुष्ट छु ।

हरेक व्यक्तिले आफ्नो पहिलो रचना प्रेम कविताबाट गर्छन्, तपाईंको अनुभवचाहिँ कस्तो छ ?

प्रेममा पर्नुअघि नै भुटानी नेपालीहरुको दुःखको प्रेममा परेँ । मेरो घर दलगाउँ नामको पहाडमा पर्छ । यो कालेबुङको ठीक तल, भुटानको सीमानामा पर्छ । सानो छँदा त्यहाँ आन्दोलन भएको र नेपालीभाषीहरु मेरो घरको बाटो हुँदै नेपालतिर छिरेको देख्दा मेरो मनले एउटा कविता गुन्गुनायो र लेखेँ, ‘घर र्फकनेलाई’ । यो नै प्रकाशित मेरो पहिलो कविता हो । त्यसले यति प्रसंसा पायो कि कविता नै मेरो असन्तुष्टि पोख्ने साधन बन्न पुग्यो ।

यस्ता कविता कहिलेसम्म लेखिरहनुहुन्छ ?

जबसम्म दार्जीलिङ पहाडका जनताले आफ्नो पहिचान पाउँदैनन् । मैले त्यही लेख्नुपर्छ, जुन मेरो सयमले भोगिरहेको छ । आज नेपालको साहित्यलाई १० वर्षे जनयुद्धले जसरी कुनै न कुनै रुपले छोएको छ, ठीक त्यस्तै छ दार्जीलिङ वरपरको नेपाली साहित्य ।

मेरो लेखनमा पनि मेरो समाजको आन्दोलन र यसको अन्तरविरोधको छाप देखिन्छ । यो ठीक त्यस्तै लाग्छ, जस्तो इराकका कवि सिनान अन्तनुको ।

अन्त्यमा, एउटा कुनै कविताको टुक्रा ?

सिनान आन्तनुको त्यही एउटा कविता सुनाउन चाहन्छु, जसलाई म बारम्बार गुन्गुनाउने गर्छु :

रगतमा चोबिएको ब्रस उठाएँ

र बनाएँ भित्तामा एउटा खिड्की

त्यहाँबाट देखेँ, दुईटा दृश्य-

एउटा युद्ध र अर्की आमा

आमा कफन बुनिरहेकी थिइन्

पेटको बच्चाका निम्ति !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment