Comments Add Comment

वीरगञ्ज भन्सारको राजश्व असुलीमा भारी गिरावट

चैतमा लक्ष्यभन्दा ३४ प्रतिशत कम राजश्व संकलन

७ वैशाख, वीरगञ्ज । मालबस्तुको आयातमा गिरावट आएपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलन लक्ष्यभन्दा एकदमै कम उठेको छ । वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यभन्दा ६६ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।

केही प्रतिशत तलमाथि हुनुलाई सामान्य मानिए पनि भारी अन्तर देखिएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो ६ महिनादेखि लगातार लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको वीरगन्ज भन्सार कार्यालयले गत चैत महिनामा भने लक्ष्य भन्दा ३४ प्रतिशत कम राजश्व असुलेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म भने भन्सार कार्यालयले लक्ष्यभन्दा बढी नै राजश्व उठाएको थियो ।

चैतका लागि कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले लक्ष्यभन्दा ५ अर्ब १७ करोड १२ लाख ९९ हजार कम अर्थात ६६.५२ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । कार्यालयले १० अर्ब २७ करोड ३२ लाख २८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयले फागुन महिनामा पनि लक्ष्यभन्दा १८ प्रतिशत कम राजश्व असुली गरेको थियो । विभागले १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ लक्ष्य दिएकोमा कार्यालयले १२ अर्ब ६० करोड ४३ लाख ८३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । जुन लक्ष्यको ८१ दशमलव ६१ प्रतिशत मात्रै हुन आउँछ ।

पछिल्ला केही महिनायताको राजश्व अध्ययन गर्दा विभागले बजारको अध्ययन नै नगरी लक्ष्य तोकेको भन्सारका अधिकारीहरु बताउँछन्

गत आर्थिक वर्ष ०७४/७५ को चैतमा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको ८८ दशमलब ६३ प्रतिशत राजश्व असुली गरेको थियो । विभागले १२ अर्ब ९ करोड ५३ लाख १८ हजार लक्ष्य दिएकोमा कार्यालयले १० अर्ब ७२ करोड ६ लाख ११ हजार रुपैयाँ संकलन गरेको थियो ।

आर्थिक वर्षको पछिल्लो ६ महिनामा लगातार लक्ष्य अनुसारको राजश्व संकलन नभएपछि त्यसको असर कुल राजश्व असुलीमा पनि परेको छ । चालु आर्थिक वर्ष ०७५/७६ साउनदेखि चैतसम्म ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा १० प्रतिशत कम राजश्व संकलन गरेको छ ।

विभागले ९ महिनाका लागि १ खर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजार राजश्व संकलनको लक्ष्य दिएकोमा १ खर्ब १३ अर्ब ३० करोड १८ लाख २१ हजार संकलन गरेको छ । गत आर्थिक वर्षको ९ महिनामा कार्यालयले लक्ष्यको ९४.७४ प्रतिशत राजश्व संकलन गरेको भन्सारको तथ्यांक छ ।

गत वर्ष ९ महिनाका लागि ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएको वीरगञ्ज भन्सार कार्यालयले ९१ अर्ब ६६ करोड ८९ लाख ११ हजार राजश्व संकलन गरेको थियो ।

आयात घट्यो

देशकै मुख्य नाका भएका कारण वीरगञ्ज भन्सार कार्यालयबाट बढी राजश्व संकलनको अपेक्षा राख्नु स्वाभाविक हो । तर पछिल्ला केही महिनायताको राजश्व अध्ययन गर्दा विभागले बजारको अध्ययन नै नगरी लक्ष्य तोकेको भन्सारका अधिकारीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको चैतमा वीरगञ्ज भन्सार नाका हुँदै ४५ अर्ब १ करोडको सामान आयात भएको छ । जुन गत वर्षको तुलनामा १८ अर्ब ९० करोडले कम हो । गत आर्थिक वर्ष ०७४/७५ चैत महिनामा ६३ अर्ब ९१ करोडको समान आयात भएको थियो । तर निर्यातमा भने झण्डै दोब्बर वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको चैत महिनामा २ अर्ब ३२ करोडको समान निर्यात भएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३३ करोडको मात्रै माल बस्तु निर्यात भएको थियो ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले चैत महिनामा राजश्व संकलनमा अप्रत्याशित गिरावट आउनु पछाडिको मुख्य कारण कारोबारमा कुल आयातमा कमी आउनु नै मुख्य भएको बताए । ‘अघिल्लो आर्थिक को चैतको तुलनामा ३० प्रतिशत मालबस्तु आयातमा कमी आएको छ । मालवस्तुको आयात नै कम भएपछि त्यसले रेभिन्युमा नकारात्मक असर पर्नु स्वभाविक हो,’ उनले भने, ‘कुन कुन मालबस्तु आयातमा कमी आएको हो हामी अध्ययन गर्दैछौं ।’

लक्ष्य बढाउँदा बजार र मालबस्तुको मूल्यको अध्ययन नगरी गरिएकाले पनि राजश्व संकलन अप्रत्यासित कमी देखिएको भन्सार अधिकारीहरु बताउँछन् । अटो लोनमा कडाइ र राजश्वमा वृद्धि गरेपछि भन्सारबाट नयाँ गाडी आयात लगातार घटिरहेको भन्सार कार्यालयले जनाएको छ । ‘राजश्वको प्रमुख हिस्सा ओगट्ने गाडी आयातमा कमी आउनेवित्तिकै भन्सारको राजश्वमा नकारात्मक असर पर्छ । अन्य माल बस्तु पनि विगतको तुलनामा कम आयात भएको छ,’ भन्सारका एक कर्मचारीले भने ।

भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतो पनि चैत महिनामा कारोबार नै कम भएको बताउँछन् । ‘विभागले पछिल्लो ६ महिनामा ३० प्रतिशत बढाएर लक्ष्य तोकेको छ  तर व्यापार भने घटेको छ । बढी राजश्व उठ्ने नयाँ सवारी सधान र औद्योगिक कच्चा पदार्थ, दूध, मरिच, मोटरसाइकल, गाडी, चिनी, क्लिंकर लगायतका मालबस्तुको आयात घटेको छ,’ उनले भने, ‘भारत तथा तेश्रो मुलुकबाट आयात गर्ने समान नै कम आएकाले लक्ष्य अनुसारको राजश्व असुली नभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment