News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन जारी राखेका छन्।
- सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् र कारण देखाउ आदेश जारी भइसकेको छ।
- प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको थियो र सरकारले २१ फागुनमा मध्यावधि निर्वाचन घोषणा गरेको छ।
२१ कात्तिक, काठमाडौं। प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी रहने छ।
नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो। एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सुरु गरेका थिए।
काठमाडौंमा उपलब्ध भएकाहरूको दस्ताखत सुरु गरेको र जारी रहने विघटित प्रतिनिधिसभाका सदस्य हेमराज राइले बिहीबार नै जानकारी दिएका थिए।
संकलित हस्ताक्षर कसरी प्रयोग गर्ने भन्नेमा भने एमालेका नेताहरूले प्रष्ट केही भनेका छैनन्। सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा भनेर मत प्रकट मात्रै गर्ने भन्ने प्रश्नमा नेताहरूले जवाफ दिएका छैनन्।
सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन्। त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ।
कारण देखाउ आदेश जारी हुनु अगाडिको बहसमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनको विषयमा कतिजना सांसद अदालत आए भनेर प्रश्न समेत गरेका थिए।
संवैधानिक इजलासमा प्रतिनिधिसभा पुनर्स्थापनाको पक्ष वा माग राखेर कति जना सांसद आए भनेर खोजी भएको अवस्थामा सांसदहरूले हामी विघटनको पक्षमा छौं भनेर देखाउन खोज्नु स्वभाविक भएको एमालेका नेताहरू बताउँछन्।
प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो। २३ र २४ भदौमा जेन–जी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेपछि राष्ट्रपतिले २७ कात्तिकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा मध्यावधि निर्वाचन घोषणा गरेका हुन्।
सरकार र निर्वाचन आयोग तोकिएको चुनाव गराउने कार्यमा अगाडि बढिरहेको छ। अर्कोतर्फ सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ।
नेकपा एमालेले भने प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउँदै आएको छ। यही सन्दर्भमा उसल आफ्ना सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेको हो।
विघटित प्रतिनिधिसभामा एमालेका ७९ जना सांसद थिए।
प्रतिक्रिया 4