Comments Add Comment

क्रिस गेल र सन्दीपको रोचक संघर्ष

Photo Credit : Ron Gaunt /SPORTZPICS for BCCI

८ वैशाख, काठमाडौं । टी-२० क्रिकेटको दुनियाँमा ‘युनिभर्स बोस’ भनेर चिनिन्छन् वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेल । फ्रेन्चाइज क्रिकेटमा सर्वाधिक रन, सर्वाधिक ठूलो स्कोर, सर्वाधिक सतक, सर्वाधिक छक्का सबै उनका नाममा छन् ।

जब क्रिस गेल आफ्नो लयमा हुन्छन्, उनले कुनै पनि बलरलाई पानी भन्न दिँदैनन् ।

शनिबार उनै गेल र नेपालका युवा स्पिनर सन्दीप लामिछाने आईपीएलमा आमनेसामने भए । दिल्ली क्यापिटलबाट आईपीएल खेलिरहेका सन्दीप दोस्रो ओभरमै गेलविरुद्ध बलिङ गर्न आए । स्पिनरले पावर प्लेमा बलिङ गर्नु चुनौतिपूर्ण हो ।

त्यसमाथि अघिल्लो तीन म्याचमा मौका नपाएका सन्दीपका लागि पनि आफूलाई फेरि एकपटक प्रमाणित गर्नुपर्ने चुनौती थियो । उनलाई अर्को चुनौति थियो, ड्यू अर्थात् ओसको । ओसिलो मैदानमा स्पिनरलाई बल टर्न गराउन कठिन हुन्छ ।

किङ्स इलाभेन पञ्जावका दुई ओपनर केएल राहुल र गेलको जोडी यस आईपीएलको खतरनाक ओपनिङ पेयरमध्ये एक हो । पहिलो ओभर बलिङ गरेका इशान्त शर्माले ३ रन मात्रै खर्चेका थिए । दोस्रो ओभरमै कप्तान श्रीयस एयरले सन्दीपलाई बल थमाए । त्यसो त सन्दीप पावर प्लेमा बलिङ गर्न अभ्यस्त छन् ।

सन्दीपको पहिलो बलमै राहुलले डाउन द ग्राउन्ड छक्का प्रहार गरे भने तेस्रो ओभरमा चौका हाने । तीन बलमा १० रन खाए पनि सन्दीप हतास बनेनन् । चौथो बलमा राहुललाई ऋषभ पन्तको हातबाट स्टम्पिङ गराउन सफल भए । पञ्जाबलाई यो ठूलो झट्का थियो ।

तर, अर्को इन्डबाट गेलले सन्दीपमाथि हमला सुरु गरे । दिल्लीको चौथो ओभरमा आफ्नो दोस्रो ओभर फ्याक्न आएका सन्दीपविरुद्ध गेलले चारवटा चौका प्रहार गरे । तर, तेस्रो बलमा उनी आउट हुनुपर्ने थियो । सन्दीपले कट एन्ड बोल्डको कठिन मौका खेर फाल्दा बल बाउन्ड्री बाहिर पुगेको थियो ।

दोस्रो ओभरमा महंगो सावित गरेका सन्दीपलाई कप्तानले त्यसपछि होल्ड गरे । र, उनलाई फिर्ता ल्याइयो १३ औं ओभरमा जतिबेला गेलले आफ्नो विष्फोटक रुप धारण गरिसकेका थिए । ३५ बलमा ४ छक्का र ६ चौकाका साथ ६३ रनमा खेलिरहेका गेलले पञ्जावलाई ठूलो स्कोरतर्फ अगाडि बढाउने सम्भावना थियो ।

दिल्लीका अर्का लेग स्पिनर अमित मिश्रमाथि पनि गेलले उस्तै कडा सटहरु खेलेका थिए ।

१३ औं ओभरको पहिलो बलमै गेलले सन्दीपलाई छक्का प्रहार गरे । उनले सन्दीपले बल फ्याक्नु अगावै ठूलो शट खेल्न आफूलाई तयार बनाइसकेका थिए र सफल पनि भए ।

दोस्रो बलमा सन्दीपले गेलसँग मिठो बदला लिए । टिनएजरविरुद्ध लगातार छक्का प्रहार गर्ने प्रयास गर्दा गेल बाउन्ड्री लाइनमा क्याच हुन पुगे ।

यो पनि पढ्नुहोस दिल्ली ५ विकेटले विजयी, सबैभन्दा सफल बलर बने सन्दीप

यो विकेटमा दिल्लीका फिल्डर कोलिन इन्ग्रामको पनि उत्तिकै योगदान थियो । उनले ओभर ब्यालेन्स भएर बाउन्ड्रीबाहिर पुग्ने स्थितिमा अक्षर पटेललाई चतुर्याइपूर्वक बल पास गरेका थिए र अक्षरले यसलाई क्याच गरेका थिए ।

यो बल नै खेलमा टर्निङ प्वाइन्ट बन्यो । यही ओभरको अन्तिम बलमा सन्दीपले साम कुरानलाई आफ्नै बलमा क्याच गरे । यसरी एकै ओभरमा दुई महत्वपूर्ण विकेट गुमेपछि पञ्जाब दबावमा आयो । खासगरी गेलको विकेटले विशाल स्कोरको सम्भावना टर्‍यो । पञ्जाबको तल्लो क्रमको ब्याटिङ लाइन खासै बलियो छैन ।

आफ्नो चौथो तथा अन्तिम बलमा सन्दीपले सात रन मात्रै खर्चिए । उनको विकेट संख्या बढ्न सक्थ्यो यदि अन्तिम बलमा रवाडाले मन्दिप सिंहको क्याच नछोडेको भए । यद्यपि ४ ओभरमा ४० रन खर्चेर महत्वपूर्ण समयमा तीन महत्वपूर्ण विकेट लिनुले सन्दीप दिल्लीका सबैभन्दा सफल बलर सावित भए ।

दुई खेलमा कमजोर प्रदर्शनपछि लगातार ३ वटा खेलमा मौका नपाएका उनले आफूलाई पुनःस्थापित गरेका छन् । ड्यूजले गर्दा स्पिनरलाई बलिङ गर्न कठिन हुँदा पनि उनी सर्वाधिक विकेटटेकर बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment