Comments Add Comment

कालीगण्डकी डाइभर्सन : शीर छेदन होस् तर, डाइभर्सन हुँदैन !

८ वैशाख, पोखरा । ‘भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ एक वर्ष अगाडि नै ब्रेक थ्रू’ को खबरले धेरैलाई आश जगाएको छ । विकासका कामले गति लिन नसकिरहेका बेला भेरी बबईमा पाएको सफलताले सरकारलाई पनि राहत नै दिएको छ ।

तर, भेरी बबईको ब्रेक थ्रूको खबरले कालीगण्डकी आसपासका बासिन्दाको मनमा भने भय र चिन्ताले सतायो ।

सरकारले कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देही र कपिलवस्तमा भरपर्दो सिञ्चाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि सारेको छ । कालीगण्डकी तिनाउ डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।

त्यसको केही तल पाल्पाको रम्भा र स्याङ्जाको मालुङ्गाको सीमा कालीगण्डकी तीरमा बस्नेहरुलाई भने काली डाइभर्सन बने चितवनसम्मका स्थानीयको अस्तित्व समाप्त हुने चिन्ताले सताएको छ । ‘कालीगण्डकी डाइभर्सन भयो भने त्यसआसपासका पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर र नवलपरासीसम्मका जनताको दैनिकी सकिन्छ, सम्भावना सकिन्छ, मूल्यमान्यता सकिन्छ,’ तनहुँ बैंडीका पेस्कबहादुर कार्कीले भन्छन्, ‘कालीगण्डकी डाइभर्सन कसैका लागि फाइदाजनक होला तर हाम्रा लागि आस्था र जीवनको आधार नै सकिन्छ ।’

राम्दी तलका जनप्रतिनिधि र सरोकारवालाले कालीगण्डकी डाइभर्सन बन्न नदिन आह्वान नै गरेका छन् ।

कालीगण्डकी आसपासका पाल्पाको रम्भा, रामपुर, स्याङ्जाको चापाकोट, गल्याङ र तनहुँको घिरिङ गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला समेत कालीगण्डकी तीर पाल्पाको खाडामै भेटिए । उनीहरुलाई कालीगण्डकी डाइभर्सनबारे लागेको छ, ‘यो त हाम्रो जीवन सक्ने आयोजना हो । मर्न तयार छौं तर, डाइभर्सन बन्न दिँदैनौं ।’

सरकारले भने झण्डै ४० अर्ब लागतको आयोजनालाई राष्ट्रिय गौरवमा राखेको छ र डीपीआर अन्तिम चरणमा छ ।

‘कालीगण्डकी डाइभर्सन तिनाउँ हुँदै भारत लैजाने योजना हो । उताको भूमि सुख्खा हुँदै गइरहेको छ, त्यसैले भारतले पानी लैजान चाहन्छ । तर, हामीले हाम्रो हरेक हिसाबले जीवनसँग जोडिएको आस्ताको नदी डाइभर्सन हुन दिँदैनौं,’ रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले भने ।

मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी उस्तै हिसाबले बग्न दिन थापाले सरकारसँग आग्रह गरे ।

कालीगण्डकी डाइभर्सन गर्नु भनेको कसैको स्वार्थमा एकातर्फका सन्तानलाई मारेर अर्कोतर्फको सन्तानलाई काखी च्याप्नेमात्रै नभए छिमेकीलाई नै सुम्पिनु भएको पाल्पा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कालीगण्डकी तिनाउ आयोजना अगाडि बढ्न नदिन गण्डकी प्रदेश र प्रदेश नम्बर ५ लाई आसपासका जनप्रतिनिधिले आह्वान गरेका छन् ।

कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाट धामसम्मका थुप्रै धार्मिक आस्था र सम्भावनाको केन्द्रलाई समाप्त गर्ने तनहुँ घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाले बताए । ‘कालीगण्डकी डाइभर्सन हुन नदिन हामी के गर्नुपर्छ तयार छौं । प्रदेश सरकार पनि तयार हुनुहोस्, तपाईहरुले खुट्टा नकमाउनु होला ।’

कालीगण्डकी एक नदीमात्र नभएर सभ्यता पनि भएकाले स्थानीयको भनाइ छ । कालीगण्डकीमार्फत धार्मिक, सांस्कृति, पर्यटकीय विकासको प्रचूर सम्भावना सदुपयोग गर्दै समृद्धिको बाटोमा हिँड्ने र यसको महत्वलाई पनि बचाइराख्ने बाटोमा स्तानीय तहहरु लागिरहेको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम अर्यालले बताए ।

कालीगण्डकीसँग जोडिएको स्याङ्जा, पाल्पा र तनहुँका स्थानीय तहले संयुक्त पर्यटकीय सम्भावना पनि खोजिरहेका छन् । हालै कालीगण्डकीसँग जोडिएका ५ स्थानीय तहले कालीगण्डकी र्‍याफ्टिङ फेस्टिभल गरेका छन् । भूगोलका हिसाबले पनि दुई प्रदेशलाई कालीगण्डकीले जोडेको र त्यसैको माध्यमबाट विकास खोजिरहेको रामपुरका मेयर थापाले बताए ।

प्रदेश नं ५ का सांसद नारायणप्रसाद आचार्यले देवघाट, मुक्तिनाथघाम, ऋषिकेश जस्ता पवित्र धार्मिक तीर्थस्थल कालीगण्डकीको बहाव परिवर्तन गरेर अस्तित्व मेट्नेबारे नसोच्न आग्रह गरे । अर्का सांसद युवराज खनालले कालीगण्डकीको डाइभर्सन होइन समृद्धिको अरु विकल्प ल्याउनुपर्ने बताउँछन् ।

कालीगण्डकी डाइभर्सनको कु्राले कालीगण्डकी आसपासका जनतालाई तर्साएको स्थानीयवासी तथा पूर्वसचिव शान्तबहादुर श्रेष्ठ बताउँछन् । ‘राम्दी तलका जनतालाई कालीगण्डकी डाइभर्सनको कुराले तर्साएको छ । कालीगण्डकी नहुँदा त्यस आसपासका मानिसका जीवन र आस्थाको केन्द्र सकिन्छ’ कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले भने । कालीगण्डकी नदीको बहाब परिवर्तन भए कालीगण्डकीसँग जोडिएका क्षेत्रमात्रै होइन, देशकै धर्म र आस्थामाथिको प्रहार हुने तनहुँका राजकुमार श्रेष्ठ बताउँछन् ।

जनताको शीर छेदन हुन दिन्नौं : अर्थमन्त्री गुरुङ

धार्मिक महत्व तथा एउटा सभ्यता र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी सधैं यसरी बगिरहने विश्वास छ, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङलाई । कोही कसैले चाहँदैमा कालीगण्डकीको डाइभर्सन हुन्छ भन्न नसोच्न अर्थमन्त्री गुरुङले चेतावनी दिए ।

डाइभर्सनको चिन्ता नगरी कालीगण्डकी उपत्यकाको एकीकृत विकासमा ध्यान दिन उनले जनप्रतिनिधिलाई आग्रह गरे । कालीगण्डकी डाइभर्सनको सम्भाव्यता अध्ययनकै प्रक्रियामा रहेको र त्यो राष्ट्रिय गौरवको योजना बनाउन खोजेपनि आफूहरुले रोक्न आग्रह गरिरहेको उनले बताए । ‘यस्तो धार्मिक, सांस्कृति र ऐतिहासिक महत्वको कालीगण्डकीको प्राकृतिक बहावलाई परिवर्तन गर्नु हुँदैन,’ अर्थमन्त्री गुरुङले भन्छन्, ‘त्यसो गर्नु डाइभर्सन हुने ठाउँभन्दा तल रहेका कालीगण्डकी क्षेत्रका नागरिकको शीर छेदन गरेर सरह हो ।’

मन्त्री गुरुङ लाखौं–लाख जनताको शीर छेदन हुने गरी कालीगण्डकी डाइभर्सन हुन नदिने बताए । उनले भने, ‘हामीले भनेका छौं । बरु हाम्रो शीर छेदन होस् तर, जनताको शीर छेदन हुन दिँदैनौं ।’

अर्थमन्त्री गुरुङले राष्ट्रिय योजना आयोगलाई गण्डकी प्रदेशसँगको सहमतिबिना यो डाइभर्सनको निर्णय गर्न नपाउने गरी मुख्यमन्त्रीसहित सरकारले दबाब दिएको विश्वस्त समेत पारे । कालीगण्डकी शीरदेखि तीरसम्म बग्न पाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment