Comments Add Comment

व्यवसायी चन्द्रप्रसाद हत्या: दुई महिनासम्म रहस्यमै

परिवारको गुनासो: प्रहरीले गम्भीर भएर अनुसन्धान गरेन

६ वैशाख, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर–१ मा व्यवसायी चन्द्रप्रसाद आचार्यको हत्या भएको दुई महिना पुग्न लागिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

वीरेन्द्रनगरको जुम्ला रोडमा चिया पसल सञ्चालन गर्दै आएका आचार्यको १८ फागुनमा शव भेटिएको थियो । घटना भएको ५१ दिन वितिसक्दा पनि दोषी पत्ता नलाग्दा मृतकका परिवारले प्रहरी–प्रशासनमाथि असन्तुष्टी व्यक्त गर्न थालेका छन् । आचार्यकी छोरी संगीताले अनलाइनखबरसँग भनिन्, ‘घटना भएको यत्तिका दिन वितिसक्दा समेत प्रहरीले अनुसन्धानमा गम्भिरता देखाएको छैन । यसले हामीलाई पीडामाथि थप पीडा दिएको छ ।’

घटनाको अनुसन्धानमा सुरुदेखि नै प्रहरीले लापरबाही गरेको उनको आरोप छ । ‘शव भेटिएपछि प्रहरीले परिवारलाई समेत खबर गर्न आवश्यक ठानेन । हामीले बुबालाई एकैपटक पोष्टमार्ट गर्ने घरमा मात्र देख्न पायौं,’ उनी भन्छिन्, ‘राति १०ः०३ बजे प्रहरीले घटनाबारे जानकारी पाएको रहेछ । तर, राति साढे १ बजे मात्र हाम्रो एक जना आफन्तलाई खबर भयो ।’

ती आफन्तले पनि बिहान मात्रै आफूहरुलाई खबर गरेको उनले बताइन् । पोष्टमार्टम गर्ने वेलामा पनि परिवारको मान्छेलाई जान नदिइएको संगीताले दाबी गरिन् ।

के भएको थियो त्यस दिन ?

सरकारी कार्यालयलाई लक्षित गरेर आचार्यले सञ्चालन गरेको क्यान्टिन त्यस दिन बन्द थियो । उनी श्रीमतीसहित ससुराली गएका थिए । तर, सञ्चो नभएको भन्दै चाँडै निस्किए ।

राति ८ बजेसम्म उनलाई वीरेन्द्रनगरमा देख्ने व्यक्ति प्रशस्तै छन् । घटनास्थलबाट केहीपर रहेको एउटा डेरी पसल र हस्पिटलको सीसी टीभी क्यामरामा पनि उनी ८ः४६ बजेसम्म ‘कभर’ भएका छन् । त्यसपछि १ घन्टा १४ मिनेटको अवधिमा भएको घटनाको गुथ्थी प्रहरीले सुल्झाउनु पर्नेछ ।

आचार्यको शव भेटिएको स्थान छेवैमा अतिथि होटल छ । त्यहाँको भित्ता र दुई वटा तौलियामा रगतको टाटा भेटिएको थियो । यसलाई परीक्षणका लागि प्रहरी काठमाडौंको सामाखुशीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । तर, अझैसम्म त्यसको रिपोर्ट आइनपुगेको प्रहरीले बताउने गरेको संगीताको भनाइ छ । यद्यपि, सामाखुशीस्थित प्रयोगशालामा बुझ्दा त्यतिवेलै रिपोर्ट पठाइसकेको जानकारी मिलेको उनले दाबी गरिन् ।

‘रातिबाटै तदारुकताका साथ प्रहरीले छानबिन थालेको भए अपराधी पत्ता लाग्थे । तर, प्रहरीले अपराधीलाई सबुत मेटाउने पर्याप्त समय दिएको छ,’ संगीता थप्छिन् ।

प्रदेश प्रहरी प्रमुख भन्छन्–उच्च प्राथमिकता साथ हेरेका छौं

घटनाको विषयमा कर्णाली प्रदेशका प्रमुख महेश विक्रम शाहसँग जिज्ञासा राख्दा उनले यस प्रकरणमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताए ।

प्रदेशबाट पनि टोली खटाएर अनुसन्धान भइरहेको उनको भनाइ छ । ‘पीडामा रहेको परिवारले शंका गर्नु स्वभाविक पनि हो । तर, हामीले उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान गरिरहेका छौं’, डीआईजी शाहले अनलाइनखबरसँग भने ।

सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरे पनि आफूहरुले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको दाबी गर्छन् । ‘प्रदेश प्रहरी कार्यालयका डीएसपी सा’बको नेतृत्वमा ११ जनाको अनुसन्धान समिति पनि बनेको छ’, एसपी रजौरेले अनलाइनखबरलाई भने, ‘टोलीमा प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक जना कर्मचारी पनि हुनुहुन्छ ।’

उनले चाँडै अभियुक्त समात्न सके आफूहरुले पनि स्याबासी पाउने उल्लेख गर्दै भने, ‘कुनैकुनै केश जटिल हुन्छ । अहिलेसम्म थुप्रै व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिसकेका छौं । हालसम्म अभियुक्त पहिचान हुन सकेको छैन ।’

आचार्यको कर्णाली प्रदेश अस्पताल, कालागाउँमा पोस्टमार्टम भएको थियो । रिपोर्टमा मुटु फुटेर भएको आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको भनिएको छ ।

उनको दुईपट्टि गरेर ७ वटा करङ्ग भाँच्चिएको देखिएको छ भने गद्र्धनको हड्डी पनि भाँचिएको छ । चिकित्सकहरु उनको ढाडमा रडले हानेको जस्तो डाम देखिएको बताउँछन् ।

साथै, हात पनि भाँच्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment