Comments Add Comment

केन्द्र सरकार प्रदेशलाई असफल बनाउने खेलमा छ : मुख्यमन्त्री पौडेल

८ वैशाख, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्र सरकार प्रदेशलाई असफल बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।

अलपत्र परेका योजनाहरु प्रदेश सरकारलाई जिम्मा लगाएको भन्दै उनले प्रदेश सरकारलाई अघि बढ्ने भन्दा पनि असफल बनाउने खेलमा संघीय सरकार रहेको बताएका हुन् ।

‘संघीय सरकारले आर्थिक प्रगति ९९ र भौतिक प्रगति ५० प्रतिशत भएको योजना प्रदेशको जिम्मेवारीमा पठाएको छ अब कसरी सम्भब छ योजना कार्यान्वयन गर्न ?’ मुख्यमन्त्री पौडेलले प्रश्न गरे । मुख्यमन्त्री पौडेलले अहिले प्रदेश सरकारलाई अधिकार नहुँदा टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको गुनासोसमेत गरेका छन् ।

उनले बजेटमा केन्द्रबाटै सुधार भएर आउनुपर्ने भन्दै उनले कुन विकास निर्माणको काम कुन सरकारले गर्ने भन्ने कुरा छुट्टिन जरुरी रहेको बताए ।

मुख्यमन्त्री पौडेलले नीतिगत स्पष्टता नहुँदा अहिलेसम्म मुलुक विकासको गतिमा अघि नबढेको भन्दै तीनवटै सरकारले प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गनुपर्ने बताए ।

संघीय संसदको अर्थ समितिको आयोजनामा आउँदो आर्थिक वर्षको पूर्वबजेट छलफलमा बोल्दै उनले प्राथमिकताको आधारमा छुट्याइएका भन्दा पनि खल्तिका योजनामा लागेकाले मुलुक समृद्धिको दिशामा अघि नबढेको दावी गरे ।

कार्यक्रममा संघीय सरकारले समावेश गर्ने बजेटमा अर्थ नीति कस्तो हुनु पर्ने, उद्योगी व्यवसायीहरुका लागि कस्तो नीति अवलम्बन गर्नुपर्ने, सरकारले कुन-कुन क्षेत्रमा अनुदान दिनुपर्ने लगाएयको बिषयमा छलफल गरिएको छ ।

छलफलमा आएका सुझाबका आधारमा अर्थ समितिले सरकारलाई बजेट बनाउँदा समेट्नु पर्ने बिषयमका बारेमा निर्देशन दिने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटलाई प्रभाबमुख बनाउनका लागि यस्ता छलफल गरिएको बताए ।

कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल लगायतकाले बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रदेश ३ मन्त्रालयका कर्मचारी, जिल्लाका गाउँपालिका, नगरपालिका, उपमहानगरका प्रमुख तथा उपप्रमुख उद्योगि, ब्याबसायीलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment