Comments Add Comment

भूकम्पको ‘इपिसेन्टर’ बारपाक : न गाउँ, न शहर !

पुरानो वास्तुकलाको ठाउँमा आरसीसी बिल्डिङ

(सम्पादकीय नोटः आगामी वैशाख १२ गते महाभूकम्प गएको तीन वर्ष पूरा भएर चौथो वर्ष लाग्दैछ । यसवीचमा पुनर्निर्माणका काम के कति भए ? भूकम्प पीडितको घाउमा मल्हम लाग्यो कि लागेन ? भूकम्पले खण्डहर बनाएका सम्पदा, सरकारी संरचना अनि व्यक्तिका घरहरुको अवस्था अहिले के कस्तो छ ? यो तीन वर्षको अवधिमा हामी कति उठ्यौं ? कति धूलो टक्टक्यायौं ? अबको साता मुलुकमा पक्कै पनि भूकम्पपछिको पुनर्निर्माणबारे राष्ट्रिय बहस हुनेछ, हुनैपर्छ ।

यसैसन्दर्भमा अनलाइनखबरले ‘०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा’ शीर्षकमा ०७२ सालको भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे श्रंखलावद्ध सामाग्री पाठकसमक्ष पस्कन सुरु गरेको छ । पहिलो चरणमा भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुगेर अनलाइनखबरका लागि विकास मरहट्टाले तयार पारेको सामाग्री प्रस्तुत गरेका छौं – सं.)

****

महाभूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकको वाहृय परिवेश हेर्दा लाग्छ, बारपाकी जनताले १२ वैशाख ०७२ को त्यो त्राशदी भुलिसके । तर, बारपाकवासीको भित्री मन अझै झस्किन र छट्पटिन छाडेको छैन ।

एकै झट्कामा ७२ जनाले ज्यान गुमाउँदाको असर र १४ सय घरधुरी खण्डहरमा परिणत भएको अवस्था एकाध वर्षमै बिर्सन सकिने कुरा पनि भएन । त्यो पीडा सहँदै र दारुण अवस्थासँग जुध्दै आएका बारपाकीले आफ्नो दैनिकीलाई सामान्य बनाएका छन् ।

भूकम्पमा धेरै कुरा गुमाएका बारपाक र बारपाकीले पछिल्लो चार बर्षमा थुप्रै परिवर्तन ल्याएका छन् ।

रहेन परम्परागत वास्तुकला

भूकम्पको चार वर्षमा बारवाक खण्डहरबाट त विस्तारै उठेको छ तर, आफ्नो पुरानो रुप पुरै गुमाएर । बदलिएको बारपाकमा ढुङ्गाले छाएका ढुंगामाटाका एकनाशे घरहरु इतिहास बन्न पुगेको छ । त्यसको ठाउँ पर्यटकले मन नपराउने आरसीसी बनावट र टिनको छानाले लिएको छ ।

भूकम्पले ध्वस्त हुनु अघिको बारपाक

परम्परागत गुरुङ वास्तुशैली बिर्सेर ठुल्ठुला आरसीसी बिल्डिङ बनेकामा जितबहादुर घलेलाई पनि राम्रो लागेको छैन । ‘बारपाक अहिले न गाउँ न शहर भा’को छ,’ उनले भने, ‘पुरानो गुरुङ गाउँ हेर्न आउने पर्यटक अब आउँछन् जस्तो लाग्दैन ।’

घलेलाई बजारे खानपानको रजगज चलेको पनि बेठिक लागिरहेको छ । हुन पनि, अहिले यो पुरानो गुरुङ गाउँमा यहाँको असली खान्की ढिँडो-गुन्द्रुक र सिस्नो पाइँदैन । लोकल कुखुराको स्वाद लिने इच्छा ब्रोइलर खाएर मार्नुपर्छ । भुटेको मकै भटमासको भोक चाउचाउ र चाउमिनले मेटाउनुपर्ने अवस्था आएको छ ।

रुपीनाला गेष्ट हाउस सञ्चालक मीनबहादुर गुरुङले पाहुनालाई चाहेर पनि स्थानीय परिकार खुवाउन नसकेको बताए ।

उनका अनुसार भूकम्प अगाडि ढिडो, न्युरो, टुसा, लोकल कुखुरा, मकैभटमास, लगायतका परिकार खुवाइन्थ्यो । भूकम्पपछि खेतिपाती र वनजंगलमा ध्यान नपुग्दा स्थानीय स्वादलाई बजारे उत्पादनले विस्थापन गरेको छ ।

यो पनि पढ्नुहोस भूकम्पपछि फेरिएको बारपाकको रुप

बारपाकमा आलु, काउली, सिमी, केराउ आदिको स्वाद प्रशिद्व छ । तर, बारपाकीहरु वासस्थान पुनर्निर्माणमै केन्दि्रत हुनु पर्दा कृषि उत्पादन पनि ओझेलमा पर्‍यो । गाउँका होटलहरुमा आयातित चिजवस्तुका परिकार पस्कन बाध्य भए ।

स्थानीय कृष्ण सुनारले ब्रोइलरको चलन बढेपछि लोकल कुखुरा रोग लागेर मर्न थालेको बताए । भूकम्पपछि बहुसंख्यक बौद्ध धर्मालम्वीहरुको यो गाउँमा धर्म-संस्कृतिको मौलिकता पनि फिका भएजस्तो लागेको उनी बताउँछन् ।

भूकम्पपछि बारपाकले पाएको भनेको लगानी हो । अहिले बारपाक सडक सञ्जालमा जोडिएको छ । सीपमूलक तालिमले स्वरोजगारी बढाएको छ, व्यापार-व्यवसाय फस्टाएको देखिन्छ ।


तर, पुनर्निर्माणको क्रममा मौलिकता र इतिहास जोगाउन भने चुकेको छ, बारपाक । घले र गुरुङबहुल बारपाकको हरेकजसो घर लाहुरे परम्परामा जोडिएका छन् । वेलायती सैन्य सेवाको सर्वोच्च पदक भिक्टोरिया क्रस बिजेता गजे घले यहीँका हुन् ।

बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ समेटिएको बारपाकको पुनर्निर्माण सन्तोषजनक छ । वडा नम्वर १ का अध्यक्ष रोशन बिकका अनुसार, दुवै वडाका कुल एक हजार ३०१ लाभग्राहीमध्ये ८५ प्रतिशतले घर बनाइसकेका छन् ।

बाँकीको घर धमाधम बन्दै छन् । लाभग्राही सूचीमा नपरेका ११४ जनाले गुनासो फारम भरेको छन् ।

मानिसहरु पुराना घरको काठपात तह लगाउने र नयाँ घर बनाउने काममा व्यस्त देखिन्छन् । स्वास्थ्य चौकीहरुको पुनर्निर्माण भइसकेको छ । हिमालय मावि नयाँ भवनमा सञ्चालित छ । भूकम्पले होमस्टे सञ्चालित २२ घर भत्काएको थियो, जसमध्ये १७ वटा पुननिर्माण भइसकेको बारपाक होमस्टे सञ्चालक समितिकी अध्यक्ष मनुष घलेले बताइन् । बाँकी यही वर्ष सकिने अनुमान छ ।

बाहिरयालाई जग्गा किन्न रोक

अन्य सारा नेपालीलाई जस्तै बारपाकीहरुलाई पनि नेपालभर बेरोकटोक हिँडडुल गर्न, बस्न, ब्यापार-व्यावसाय गर्न, जग्गाजमिन किन्न, सम्पत्ति जोड्न सक्ने संवैधानिक अधिकार छ । बारपाकले भने बाहिरियालाई जग्गा किन रोक लगाएको छ ।

स्थानीय जीतबहादुर घलेका अनुसार, बाहिरियाहरु आउँदा जग्गाको भाउ बढ्ने, संस्कृति लोप हुने र आफ्नै शाखा सन्तानलाई जग्गा नरहने डरले तत्कालीन गाउँ बिकास समितिले त्यस्तो निर्णय गरेको हो । भन्छन्, ‘बाहिरका मान्छेहरु आएर बस्दा विकास त छिटो हुन्थ्यो तर, बारपाकीलाई भविश्यमा समस्या पर्छ भनेर त्यस्तो निर्णय गरियो ।’

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment