
युएई । युएईमा अघिल्लो वर्षको तुलनामा ०७५ सालमा मृत्यु हुने नेपालीको सख्या बढेको छ । ०७४ मा ८४ जनाको मृत्यु भएको थियो भने ०७५ मा १०३ जनाको मृत्यु भएको छ ।
नेपाली दूतावास आबुधाबीको तथ्यांक अनुसार ०७५ सालमा ८ महिला र ९५ जना पुरुषको मृत्यु भएको छ । यो ०७५ साल वैशाख १ देखि चैत २९ गतेसम्मको विवरण हो ।
प्राकृतिक र आत्महत्याका कारण मृत्यु हुनेको सख्या धेरै छ । २ महिला र ५० जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । त्यस्तै २ महिला र २९ जना पुरुषले आत्महत्या गरेका छन् ।
प्राकृतिक कारणमा रक्सी खाएर, हृदयघात, मष्तिस्क पक्षपातलगायतले मृत्यु हुने गरेको छ । यस्तै दुर्घटनामा १८ जनाको मृत्यु भएको र २ जनाको हत्या भएको दूतावासले जानकारी दिएको छ । मृत्यु भएका सबैको शव नेपाल पठाइसकिएको छ ।
विदेशमा मादक पदार्थको सेवन गरेर हुने झगडा, अस्वस्थ्य खानपान तथा सडक प्रयोगको अज्ञानतालगायतले मृत्यु भएको छ ।
विभिन्न कारणले मृत्यु भएका कामदारको परिवारले पाउने क्षतिपूर्ति दिलाउन दूतावासले पहल गर्दै आएको छ ।
दुई महिनाअघि दूतावासले निकालेको तथ्यांकअनुसार यहाँ मृत्यु भएका ४ जना नेपालीको परिवारले क्षतिपूर्ति वापत २ करोड १० लाख रुपैयाँ ब्लडमनी पाएका छन् भने अन्य ३१ जनाको अदालती प्रकृया चलिरहेको छ ।
प्रतिक्रिया 4