
विश्व महाशक्ति राष्ट्रहरूमा केही वर्षअगाडि आर्थिक मन्दीका कारण पुँजीवाद संकटमा प¥यो । पुँजीवादीहरूले धमाधम मार्क्सको अर्थशास्त्र पुस्तकका पाना पल्टाउन सुरू गरे । परिणामतः संकटमा पुगेको पुँजीवाद, मार्क्सवादको सहयोगमा पुन जुरूक्क उठ्यो । पुँजीवादीहरू फेरि पनि मार्क्सवादलाई प्रयोग गर्न सफल भए । यसबाट कम्युनिष्ट पार्टीका नेताहरुले गम्भीरतापूर्वक पाठ सिक्न जरूरी देखिन्छ ।
मार्क्सवाद वैज्ञानिक सिद्धान्त हुँदाहुँदै पनि लागु गर्ने जोड–कोण नमिल्दा विश्व कम्युनिष्ट आन्दोलनमा समस्या देखिएका छन् । मार्क्सवादलाई बुझ्ने सन्दर्भमा कतै जड्सुत्रवाद, वेदजस्तै तलमाथि गर्न नमिल्ने र मौलिकताको नाम स्वार्थ अनुसार व्याख्या गर्ने समस्या व्याप्त छ । मार्क्सको यो भनाइ आज पनि सान्दर्भिक छ– दुनियाँलाई बुझ्न सहज छ, परन्तु बदल्न जटिल छ ।
संस्कृति कुनै समाजमा गहराइसम्म व्याप्त गुणहरूका समग्ररूपको नाम हो । संस्कृतिको अर्थ उत्तम या सुध्रेको स्थिति हो । मानव सधैं गतिशील हुनाले स्वभावतः प्रगतिशील प्राणी हुनुपर्छ । समाज तथा दर्शनशास्त्र, सौन्दर्यशास्त्र, राजनीति, कला र साहित्यलाई सधैं प्रगतिशिलता तर्फ डोराउने जिम्मेवारी मुख्यतः मार्क्सवादीहरूको हो ।

संस्कार हरेक सभ्य व्यक्तिको परिचय हो । संस्कार सधैं समान हुन्छ । तथापि उच्च कुलीन शासक वर्गले संस्कृति र संस्कारलाई आफ्नो अनुकुलता व्याख्या गर्दै आफ्नो चलन चल्तीमा प्रयोगमा ल्याइएका शब्द नै सर्वप्रिय र सर्वस्वीकार्यता भएको दलील पेश गर्ने गरेका छन् । श्रमजीवी वर्गका जनता उच्च वर्गले जबरजस्ती थोपर्ने संस्कार र संस्कृत सहजै स्वीकार गर्ने पक्षमा छैनन् । यसर्थ संस्कारले पनि वर्गीय रूप ग्रहण गरेको छ ।
नेपाली समाजको अध्ययन गर्दा शासक वर्गले शोषण गर्न अनेक संस्कृति योजनावद्ध निर्माण गरे । राणाकालीन समयमा राणाले गरे । राजातन्त्रात्मक समयमा राजाले गरे । राणा र राजामा आफ्नो शासन टिकाउन गरेका कार्यमा तात्वीक भिन्नता छैन । आफ्नो चाकडी गर्ने र जयगानको स्तुती गर्नेलाई दुवै शासनकालले पर्याप्त सुविधा दिए ।
सुविधाको लोभमा तत्कालीन समयका केही नेताहरू राजाको एकदलीय शासनमा समाहित भए । केही नेताहरूको आदर्श च्युत, संस्कारमा ह्रास र वैचारिक स्खलनका कारण पञ्चायती ब्यवस्था लामो समय कायम रह्यो । अन्ततः केही थान अवसरवादी नेताहरूले आफ्नो वैचारिक संस्कारलाई तिलाञ्जली दिँदै दरवारिया संस्कार अवलम्वन गरे । मुलुकमा गणतन्त्र आउँदा पनि पुरातनवादीले आफ्नो भेष उस्तै कायम राखेका छन् ।
आज यो मुलुकको राज्य सत्तामा पुँजीवादी चिन्तन राख्ने गैह्रकम्युनिष्टको संख्या बढिरहेको छ । यो अवसरवादी संस्कारको परिणाम हो । यस्ता मनुवाले आफ्नो लाभका लागि मार्क्सवाद उपयोग गर्दै बदनाम गर्दैछन् ।
नेपालमा कांग्रेसले नेतृत्व गरेका सरकारले उदारवाद प्रश्रय दिएकै कारण सीमित ब्यक्तिलाई नवधनाड्य भए । यसर्थ वर्तमान कम्युनिष्ट नेतृत्व सरकारका काम आधारभुत वर्गका जनता लाभान्वित हुनै पर्छ । भष्ट्राचारको अन्त्य हुनै पर्छ । अन्य पार्टी र कम्युनिष्ट पार्टी नेतृत्वले लिएको वैचारिक संस्कारको फरकपन हुनुपर्छ । यसले अन्ततोगत्वा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई सहयोग पुग्छ ।
नेपालको राज्यसत्तामा पुग्न र पुगेपछि मध्यम वर्गको रूपधारण गर्नुपर्ने के त्यस्तो बाध्यता सिर्जना भएको छ, जसका कारण सादा जीवन, उच्च विचार थोरै नेताहरूमा मात्र देख्न सकिन्छ । कम्युनिष्ट नेताहरूमा आएको संस्कारमा परिवर्तन समय सापेक्ष आवश्यक हो वा होइन । नेपालमा अव मार्क्सवादको संस्कार र सांस्कृतिक पक्षको आवश्यकताबारे विहङ्गम बहस हुन जरूरी छ ।
समृद्ध मुलुक निर्माण अभियानका लागि प्रगतिशील किसिमको संस्कार र संस्कृति आवश्यक छ । नेकपाका नेताहरूले बुर्जुवा संस्कार अवलम्वन गर्ने सन्दर्भमा जनता तथा विशाल पंक्तिको पार्टीका आम कार्यकर्ता, जनयुद्धका शहीद, वेपत्ता परिवारलाई विशेष रूपमा सम्झन जरूरी छ । मार्क्सवादीहरू बुर्जुवा र पेटी बुर्जुवा भेषमा, पुँजीवाद अवलम्वन गरेका देशको संसदमा आवश्यक होला ।
परन्तु नेपालको संविधानमा मुलुक अब समाजवादउन्मुख हुने भनिएको छ । समानता र सामाजिक न्यायलाई आत्मसाथ गरेका कम्युनिष्ट नेताहरूले अब मनन गर्दै व्यवहारमा पनि लागु गर्न जरूरी छ ।
प्रतिक्रिया 4