Comments Add Comment

लाक्पाज चुल्होः शान्त वातावरणमा, स्वादिलो खान्की

तपाईं शहरभित्र यस्ता ठाउँको खोजीमा हुनुहुन्छ, जहाँको वातावरण शान्त होस् । सीतल होस् । सुरम्य होस् । त्यसो हो भने तपाईं पुग्नुपर्छ, झम्सिखेलको लाक्पाज चुल्होमा ।

लाक्पाज चुल्हो । यो नाम सुन्ने बित्तिकै लाग्न सक्छ यो एउटा तिब्बती खाजा मात्र पाइने ठाउँ हो । तर, यहाँ आएपछि थाहा हुन्छ लाक्पाज चुल्होमा अरू थुप्रै परिकार खान पाइन्छ । लाक्पाज चुल्होको विशेषता के भने, यहाँ तपाईंले शहरी कोलाहाल झेल्नुपर्दैन । न कुनै भिडभाड । यो एउटा बगैंचा हो । अर्थात बगैंचासँगै लाक्पाज चुल्हो छ ।

अब कुरा गरौं यसको भित्री ढाँचाको ।

रेष्टुरेन्टको भित्री सजावट परम्परागत नेवारी ढाँचामा गरिएको छ । लाल्पाज किचेनमा रहेको ठूलो बुद्धको मूर्ती र यहाँ बजाइने मधुर संगीत कारण मलाई बौद्ध वा स्व्यम्भूमा बसिरहेको भान हुन्छ । यहाँको मेन्यु लोक्ता कागजमा लेखिएको छ र यसमा संसारभर कै परिकारहरू राखिएको छ । नेपाली दाल भात खाने कि इटालियन रिसोटो खाने कि थाई करी ?

पालुङ्गो र चिज मःम

लञ्चको सुरुवात हामीले पालुङ्गो र चिज मःम बाट गर्‍यौं । मःममा चिज हालिएकाले यसको स्वाद अलि फरक लाग्यो । मःम साधारण भन्दा निकै क्रिमी थियो । पालुङ्गोको सागले मःम मा फरक खालको स्वाद दियो । तर, मलाई यो मःम को बारे के मन पर्यो भने यो निकै हलुका छ र यसमा मसलाको उचित समिश्रण गरिएको छ । यो परिकार तपाईं भेजिटेरियन नभए पनि चाख्नु होला । तर तपाईंलाई मासु नै चाहिन्छ भने चिकेन मःम खानुहोस् । त्यो पनि उत्तिकै मिठो छ ।

चिकेन पारमिजियाना

मःम पछि हामीले मगायौं चिकेन पारमिजियाना । यो परिकार कुखुराको मासु, गोलभेंडाको सस र मोजरेल्ला चिज हालेर तयार पारिन्छ । हुन त कुखुराको मासु, गोलभेंडाको सस र मोजरेला चिज आफैमा स्वादिलो हुन्छन्, यससँगै खाँदाको मज्जा बेग्लै छ । चिकेन पारमिजियानासँगै आउँछ रेष्टुरेन्टमा तयार पारिएको कुसकुस ।

थाई रेड चिकेन करी

मेन कोर्सका लागि हामीले मगायौं थाई रेड चिकेन करी । यो करी मसालेदार छ र यसमा अलिकति अमिलो पनि हालिएको छ । हामीले खाइराख्ने अरू करीहरू भन्दा यसको स्वाद फरक छ । चिकेन निकै टेन्डर छ यसको ग्रभी भातसित खान निकै मिठो हुन्छ ।

यदी तपाईँलाई गुलियो खान मन छ भने लेमन मेरिङ र चकलेट ब्राउनी अर्डर गर्नुहोस् ।

लाक्पाज चुल्हो सञ्चालनमा आएको १० वर्ष भइसकेको छ तर रेष्टुराँको सेफ अहिलेसम्म एउटै छन् । मेन्यू अलि महँगो लागे पनि यहाँको वातावरण र स्वादिष्ट खानाले तपाईं सन्तुष्ट हुनुहुनेछ ।

स्थानः पुल्चोक (रोड हाउस क्याफे अगाडि)

खुल्ने समयः ११ बजे देखि ९स्३० सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment