
१० वैशाख, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई संवैधानिक दायराभित्रैबाट आफ्ना गतिविधि सञ्चालन गर्न सुझाएका छन् ।
‘बुझेर संवैधानिक दायराबाट हिड्छन् भने ठीक छ । बाहिरको बाटो हिड्यो भने त्यसलाई मूल धारमा ल्याउनु सरकारको दायित्व हो’ मंगलबार कानूनमन्त्रालयमा पत्रकारहरुसँग मन्त्री ढकालले भने, ‘समाजमा भय, आतंक सिर्जना गर्ने, अस्थिरता मच्चाउने खालका गतिविधि भएपछि अविभावक भएको हुनाले नियन्त्रण गर्नु सरकारको कर्तव्य हो ।’
धर्म निरपेक्षता खारेज गर्नुपर्छ भनेर माग राख्ने राप्रपासँग वार्ता गरे । अर्को विप्लव नेतृत्वको दलसँग किन वार्ता गर्नुभएन ? भन्दै पत्रकारले प्रश्न गरे । विप्लव समूहलाई दल भनेपछिमन्त्री ढकालले आक्रोशित हुँदै भने, ‘हेर्दा प्रेस कार्ड भिर्नुभएकै देखिन्छ । कुन दल हो वा होइन भन्ने ९/१० कक्षा पढ्नेलाई सोध्ने प्रश्न हो ।’
‘निर्वाचन आयोगमा दर्ता नै नभएको दल हुन्छ ? दल हुनलाई विधि प्रक्रिया पुराएको हुनुपर्दैन ? मन्त्री ढकालले त्यसैमा थपे, ‘कुनैपनि दलहरुप्रति प्रतिवन्ध लगाएका छैनौं । निर्वाचन आयोगमा कुन दल दर्ता भनेर हेर्न सकिन्छ । दर्ता नै नभएको दलमाथि प्रतिवन्ध लायो भनेर ‘स्यालको हुइया’ जस्तो चलाउने परिपाटी हामीकहाँ देखिएको छ ।’
आस्थामाथिको अतिक्रमण हुँदै नभएको प्रष्टीकरण दिँदै उनले राप्रपासँगको वार्तातर्फ संकेत गर्दै भने, ‘आफ्नो-आफ्नो अस्था राख्न पाइन्छ । संविधान मानेरै फरक आस्था राख्नेसँग त हामी बसिरहेकै छौं ।’
मंगलबार कानूनमन्त्री ढकालको संयोजकत्वको सरकारी बार्ता टोली र धर्म निरपेक्षता खारेज गर्नुपर्ने लगायतका आन्दोलन गर्दै आएको राप्रपाबीच वार्ता भएको थियो ।
प्रतिक्रिया 4