Comments Add Comment

जुजु धौः गर्मीको स्वादिलो पेय

हपहपी गर्मी । तिर्खाएको अवस्था । यतिबेला चिसो र स्वादिलो दही पाए कस्तो होला ?

पक्कै पनि हामी यस्तो कल्पना गर्छौ । जब-जब तिर्खा लाग्छ, कुनै यस्तो पेयको सम्झना आउँछ, जसले आँत तृप्त हुन्छ । यस्तो पेयमा दही जतिको गुनिलो र स्वादिलो अरु के होला ?

अब दहीको प्रसंग कोट्याएपछि, जुजु धौ किन छुटाउने । जुजु धौ, जो आफैमा एक ब्रान्ड हो । यो पेयको इतिहास भक्तपुरसँग जोडिएको छ । खासमा भक्तपुरकै रैथाने उत्पादन हो, जुजु धौ । माटोको भाँडामा टम्म भरिएको चिसो दही नै जुजु धौको विशेषता हो । अहिले शहरमा जुजु धौ प्रशस्तै पाउन थालिएको छ । गर्मीमा त यसको बजार अझ उत्कर्षमा पुग्ने गर्छ । किनभने जुजु धौको पारखी शहरमा कम्ता छैनन् ।

मल्लकालिन पेय

जुजु धौको प्रसंग उठाएपछि हामी मल्लकालिन इतिहासमा र्फकनुपर्ने हुन्छ । नेपालको मध्ययुगिन अर्थात १२ औं शताब्दी बीचका शासक हुन्, मल्ल वंश । त्यही मल्ल वंशका राजहरुले रुचाएका पेय थियो, जुजु धौ । भनिन्छ, मल्ल राजाहरुले सेवन गर्ने भएकाले नै यसलाई जुजु धौ भनिएको हो । जुजु धौ खासमा नेवारी भाषाबाट न्वरान गरिएको हो । यसको अर्थ चाहि, दहहीको राजा ।

जुज धौ एक ब्रान्ड

हामीकहाँ केही यस्ता खान्की एवं परिकार छन्, जो ब्रान्डकै रुपमा स्थापित छ । जस्तो थकाली खाना,  समयबजी, गुन्द्रुक र ढिंडो, भक्का आदि । यी खानेकुराले समुदाय र भूगोल विशेषको चिनारी पनि बोकेको छ । यस्तै परिकार हो, जुजु धौं । जुजु धौ भन्नसाथ हामी भक्तपुर सम्झन्छौं । किनभने जुज धौ भक्तपुरले नै स्थापित गरेको र व्यापक बनाएको रैथाने स्वाद हो ।

तर, जुजु धौ अहिले भक्तपुरमा मात्र सीमित छैन । शहरभरी यो छाइसकेको छ । सामान्य दुध डेरीदेखि सुपरस्टोरसम्ममा जुजु धौ उपलब्ध हुन थालेको छ ।

कसरी बन्छ जुजु धौ ?

जुजु धौ सामान्यत अन्य दही जमाए जसरी नै बनाइन्छ । गाई वा भैंसीको दुध उमालेर दही बनाइन्छ । जुजु धौं बनाउँदा चाहि जति जति दुध उमालिएको छ, त्यो आधा भएपछि अर्थात राम्ररी उम्लिएपछि दहीको लागि तयार हुन्छ ।

दुध उम्लेर आधा भएपछि त्यसमा चिनी, सकुमेलको धुलो राखेर चलाइन्छ । अब उक्त दुधलाई सेलाउनका लागि छाडिन्छ । मनतातो भएपछि माटोको भाडोमा राखिन्छ । उक्त दुधमा एक चम्चा जति दही राख्नुपर्छ ।

दहीलाई न्यानो ठाउँमा छोपेर राख्नुपर्छ, ताकि राम्ररी जम्न सकोस् । खासगरी भुस बिच्छ्याइएको कोठामा दही जमाउने भाडो राखिन्छ । सामान्यत १० घण्टाभित्र दही राम्ररी जम्छ ।

जुजु धौ र भक्तपुरको संस्कृति

जुजु धौ भक्तपुरलाई चिनाउने पेय मात्र होइन, यहाँको सांस्कृतिसँग जोडिएको कुरा पनि हो । भक्तपुरका बासिन्दाले यसलाई शुभ संकेतको रुपमा र सगुनको रुपमा प्रयोग गर्छन् ।

कोही आफन्तले यात्रा गर्न लागेको भए, शुभ यात्राको कामना गरी ‘धौ स्वागं’ भनेर दहीको टिका लगाइदिने चलन छ । कतै पाहुना लाग्दा वा पाहुनालाई स्वागत गर्दा पनि सगुनको रुपमा दही नै प्रयोग गरिन्छ । दहीलाई सुख, समृद्धिको प्रतिक मान्ने गरिन्छ । चाडपर्वमा त दही अनिवार्य नै हुनेगर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment