+
+
Shares

मधेशको सुरक्षा अवस्था बुझ्दै गृहमन्त्री अर्याल

२१ फागुनको चुनावलाई केन्द्रमा राखेर क्रियाशील हुन निर्देशन

जेन–जी आन्दोलनपछि गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका ओमप्रकाश अर्याल सोमबार पहिलोपटक मधेश झरेका थिए, जहाँ उनले छठ अवलोकन त गरे नै मधेशको सुरक्षा व्यवस्थाबारे पनि छलफल गरे।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक ११ गते २२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले मधेशमा छठ पर्वको अवसरमा सुरक्षा अवस्थाको निरीक्षण गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न हुने कामना गरे।
  • अर्यालले महोत्तरीमा सुरक्षा समन्वय बैठकको अध्यक्षता गर्दै फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन निर्देशन दिृए।
  • बैठकमा सुरक्षा निकायहरूले मधेशमा संयुक्त गस्तीले सुरक्षाको वातावरण सुधार भइरहेको र निर्वाचनका लागि आवश्यक तयारी भइरहेको जानकारी गराएका थिए।

११ कात्तिक, जनकपुरधाम। सिंगै मधेश–तराई छठ पर्वको रौनकमा रहेका बेला सोमबार गृहमन्त्री ओमप्रकाश अर्याल जनकपुरधाम पुगेका थिए। सबैभन्दा पहिले उनी गंगासागर घाट पुगेर छठको अवलोकन गरे। त्यसक्रममा उनले निर्धारित समयमै निर्वाचन सम्पन्न होस् भन्ने प्रार्थना गरे।

‘चुनाव तोकिएकै मितिमा गर्छौं । त्यसका लागि छठमा पनि हामी कामना गरिरहेका छौं । हामीलाई शक्ति प्रदान होस् । त्यसबाहेक हामीसँग विकल्प पनि छैन,’ मन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग भने, ‘शान्ति सुरक्षाप्रदान गर्नेमा म कटिबद्ध छु’

त्यसै दिन उनी महोत्तरीको मठिहानी लगायतका छठघाटहरूको निरीक्षणमा गए। स्थानीयबासीसँग भेटघाट गरी सुरक्षाको स्थिति बुझ्ने प्रयास गरे।

‘गृहमन्त्रीले विभिन्न छठघाटहरू अवलोकन गर्नुभयो र केही स्थानीयसँग कुराकानी गर्नुभयो,’ एक सुरक्षाकर्मीले सुनाए, ‘उहाँ जेनजी आन्दोलनपछि जनस्तरमा सुरक्षा अवस्थाबारे प्रत्यक्ष अनुभूति गर्न खोज्दै हुनुहुन्थ्यो।’

गृहमन्त्री अर्याल मधेश पुग्नुको कारण छठ पर्वको अवलोकन त छँदै थियो, त्यही मेसोमा उनी मधेशका जिल्लामा सुरक्षा अवस्थाबारे पनि आश्वस्त हुन खोजिरहेका थिए। त्यसैले जनकपुरधाम पुगेको भोलिपल्ट मंगलबार उनले मंगलबार प्रदेशलगायत चारजिल्लाका सुरक्षा अधिकारीहरूसँग छलफल गरे।

सशस्त्र प्रहरी बल, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, बर्दिबासमा ६ घण्टा चलेको सुरक्षा समन्वय बैठक अर्यालकै अध्यक्षतामा भएको थियो। बाहिनीपति डीआईजी कृष्ण ढकालको संयोजनमा भएको बैठकमा गृह मन्त्रालयका सचिव, मधेश प्रदेशका प्रमुख सचिव, मध्यपूर्वी पृतनाका पृतनापति, गृह मन्त्रालयका सहसचिव, प्रदेश सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख, सर्लाही, सिराहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहभागी थिए।

जेनजी आन्दोलनपछि देखिएका घटनाक्रम, मधेश प्रदेशको हालको शान्ति–सुरक्षा अवस्था, सुरक्षाकर्मीको मनोबल, सुशासन, सेवा प्रवाह र आसन्न निर्वाचन तयारीबारे त्यहाँ विस्तृतमा छलफल भएको एक सहभागीले बताए। बैठकमा विभिन्न सुरक्षा निकायका प्रमुखहरूले आफ्नो–आफ्नो क्षेत्रको अवस्थाबारे विस्तृत ब्रिफिङ दिएका थिए।

 

सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री अर्यालले दुई विषयमा विशेष जोड दिए– निर्धारित अवधिमै निर्वाचन र सुशासनका निम्ति आवश्यक वातावरण निर्माण गर्ने।

भारतसँगको खुला सीमा प्रत्येक निर्वाचनका बेला चुनौती बन्ने गरेको सुरक्षा अधिकारीहरूले बताउँदै आएका छन्। मंगलबारको बैठकमा भने प्रमुख जिल्ला अधिकारीहरूले मधेशमा निर्वाचनका लागि आवश्यक वातावरण बन्दै गएको जानकारी गराएका थिए।

जेनजी आन्दोलनपश्चात तीनवटै सुरक्षा निकायले समन्वय थालेको तथा संयुक्त गस्तीले सुरक्षाको वातावरण राम्रो बनाएको उनीहरूको भनाइ थियो।

‘तीनवटै सुरक्षा निकायको संयुक्त गस्ती चारवटै जिल्लाहरूमा भइरहेको छ। त्यसकारण सुरक्षाको वातावरण समग्रमा समान्यीकरण हुँदै गइरहेको छ। चुनावको वातावरण बन्दै गइरहेको छ भनेर चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले विषय उठाउनु भएको छ,’ बैठकमा सहभागी अर्का सुरक्षा अधिकारीले भने।

जेनजी आन्दोलनपश्चात मधेशमा राजनीतिक दलको गतिविधि पातलिएको र अन्य अवस्था सामान्य रहेको कुरा पनि बैठक उठेको थियो। महोत्तरीमा एक साताअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको जनसभा भएको थियो। रौतहटमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको कार्यक्रम भएका थियो । अन्य त्यति राजनीति दलका गतिविध ठूलो रूपमा नभएको र अवस्था सहज भएको सुरक्षा अधिकारीहरूको ब्रिफिङ थियो।

बैठक संचालन गरेका सशस्त्र प्रहरीका एसपी अम्बिकाप्रसाद जोसीका अनुसार सुरक्षा स्थितिबारे ब्रिफि सुनेपछि मन्त्री अर्यालले फागुन २१ गते स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने गरी थप शान्तिपूर्ण वातावरण निर्माणमा लाग्न निर्देशन दिए।

‘नयाँ सरकार गठन भएसँगै सुरक्षाको अवस्था सामान्य बनेको छ,’ गृहमन्त्री अर्यालको भनाइ उद्धृत गर्दै ती सुरक्षा अधिकारीले सुनाए, ‘बिग्रिएको शान्ति सुरक्षा र सेवा प्रवाहलाई सामान्यीकरण गर्न, फागुन २१ को निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सक्रिय हुन तथा सुशासन प्रबर्द्धनमा लाग्न म सबैलाई निर्देशित गर्दछु।’

निर्वानका लागि आवश्यक मतदान केन्द्रहरूको पुनर्निर्माण र सुदृढीकरणका विषयमा शीघ्र प्रतिवेदन तयार पारी पठाउन पनि उनले निर्देशन दिएका छन्।

‘मतदान केन्द्रको पुनर्निर्माण गर्नुपर्ने, मतदान केन्द्रहरूलाई सुदृढ गर्न आवश्यक पर्ने विषयहरू विश्लेषण गरेर यहाँहरूले शीघ्र प्रतिवेदन गर्नुहोला,’ उनले भने, ‘प्रदेश र जिल्लास्तरले निर्वाचन सुरक्षा योजनालाई शीघ्र अन्तिम रूप दिनुहोला। यहाँहरूले प्रदेशस्तर र जिल्लास्तरमा शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका विषयहरूमा सही सूचना संकलन, विश्लेषण गर्ने र आवश्यकता अनुसार जोखिमका आधारमा समयमै सम्बन्धित निकायमा सम्प्रेशित गर्ने काम गर्नुहोला।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?