१८ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बीच भेट भएको छ । आयोग कार्यालय बहादुर भवनमा भएको भेटमा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल भएको हो ।
भेटमा निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे छलफल भएको गृहमन्त्रीनिकट स्रोतले बतायो ।
निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । निर्वाचन आचारसंहिता अनुसार प्रचारप्रसार निषेध अवधि (मौन अवधि) समेत सोमबार राति १२ बजेबाट सुरु हुनेछ ।
प्रचारप्रसार निषेध अवधि सुरु हुने पूर्व सन्ध्यामा भएको छलफलमा निषेध अवधिमा सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको जानकारी मन्त्री अर्यालले दिए । उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदानको अवस्था रहेको पनि बताए ।
मन्त्री अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबिच समन्वयमा काम भइरहेकाले भयरहित वातावरणमा निर्वाचन हुने विश्वास व्यक्त गरे ।
भेटमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको परिपालना गराउन सूक्ष्म रूपमा अनुगमन हुने जानकारी दिए । भण्डारीले आचारसंहिताको पालनालाई प्राथमिकतामा राखिएको र उल्लङ्घनकर्तालाई कानुन अनुसार कारबाही हुने बताए ।
छलफलका क्रममा गृहमन्त्री अर्यालसमक्ष निर्वाचनको सम्पूर्ण तयारीबारे ब्रिफिङ भएको थियो । मतपेटिका, मतपत्र तथा निर्वाचन सामग्री सम्बन्धित जिल्लाहरूमा पुर्याइसकिएको जानकारी गराइएको छ । यस्तै, मतदानपछिको मतपेटिका ढुवानीलगायतमा आयोगले मिलाएको प्रबन्धबारे पनि जानकारी गराइएको छ ।
गृहमन्त्री अर्याल तथा कार्यवाहक प्रमुख भण्डारीसमेतले यसअघि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील तथा संवेदनशील मानिएका निर्वाचन केन्द्रहरूको समेत अनुगमन गरेका थिए ।
प्रतिक्रिया 4