+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

संसदीय समितिमा सहज गृहमन्त्री

एक घण्टा बढी सांसदहरूका प्रश्न सुनेपछि अर्यालले भने, ‘माननीय (सांसद) ज्यूहरूसँग कुरा गर्दा मनोबल बढ्यो ।’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ मंसिर ११ गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले संसदीय समितिको छलफलमा सांसदहरूसँग नियमित संवादले सरकारको मनोबल बढ्ने बताए।
  • अर्यालले चुनाव फागुन २१ मा हुने प्रतिबद्धता जनाउँदै शान्ति सुरक्षामा प्रभाव नपर्न दिने बताए।
  • उनले जेनजी आन्दोलनका क्रममा लुटिएका ७२३ हतियार फिर्ता भइसकेको र ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेको जानकारी दिए ।

११ मंसिर, काठमाडौं । सामान्यतया: संसदीय समितिमा हुने छलफलमा सहभागी हुन कार्यपालिका सदस्य अर्थात् मन्त्रीहरू हच्किन्छन् । किनभने, सांसदहरूले कडा प्रश्न गर्छन् । जवाफ चित्तबुझ्दो नभए आलोचना हुन्छ ।

बिहीबार संसदीय समितिको छलफलमा सहभागी गृहमन्त्री ओमप्रकाश अर्याल भने खुसी देखिए । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार गृहमन्त्रीसँग छलफल राखेको थियो । छलफलमा बोलाएकोमा उनले खुसी प्रकट गरे ।

एक घण्टा बढी सांसदहरूका प्रश्न सुनेपछि अर्यालले भने, ‘माननीय (सांसद) ज्यूहरूसँग कुरा गर्दा मनोबल बढ्यो ।’

संसद् र सरकारबीचको सम्बन्धलाई प्रगाढ बनाउन आवश्यक रहेको बताएका उनले संसदीय समितिले मन्त्रिपरिषद्का अन्य सदस्य र प्रधानमन्त्रीलाई समेत बोलाउन सक्ने धारणा राखे । समितिले बोलाएर छलफल गर्दा सरकारकै मनोबल बढ्ने उनको तर्क थियो ।

‘यो छलफलले मनोबल बढेको छ । त्यसकारण अरु माननीयज्यूहरू (मन्त्रीहरू)ले पनि यस्तै मौका पाउनुभयो, स्वयं प्रधानमन्त्रीज्यूले पनि यस्तै वातावरणमा आफ्ना विचारहरू आदानप्रदान गर्न पाउनुभयो भने हाम्रो मनोबल बढ्नेछ, अझै रचनात्मक हुनेछ,’ गृहमन्त्री अर्यालले भने ।

वर्तमान सरकार जेनजी आन्दोलनको बलमा बनेको हो । २३ र २४ भदौको जेनजी आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य भएपछि आन्दोलनकारीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएका हुन् ।

सरकार आन्दोलनको बलमा बने पनि राज्यका अन्य निकाय र संयन्त्रमा दलीय आधारमा निर्वाचित र नियुक्त पदाधिकारीहरू छन् । राष्ट्रिय सभामा दलीय प्रतिनिधित्व नै छ । यस्तोमा राष्ट्रिय सभाप्रति समेत सरकार सशंकित रहनु स्वभाविक हो ।

यस्तो भाव स्वयं गृहमन्त्री अर्यालले बिहीबार संसदीय समितिमा प्रकट गरे ।

उनले भने, ‘…राष्ट्रिय सभाका समितिहरू हाम्रो पक्षमा हुनुहुन्छ भन्ने भयो भने हामीलाई अझै बल पुग्छ भन्ने लाग्छ । यसकारण यस (संसदीय समितिको बोलावट)लाई मैले एकदम सकारात्मक रूपमा लिएको छु ।’

छलफलमा सांसदहरूले सरकारसँग नियमित रूपमा छलफलमा बस्ने पक्षमा रहेको बताएका थिए । सांसद रुक्मिणी कोइरालाले सातामा दुई पटक मन्त्रीसँग छलफल गर्ने तालिका बनाउन प्रस्ताव नै गरिन् ।

गृहमन्त्री अर्यालले जवाफ दिए, ‘साताको दुई पटक सांसदहरूसँग बस्ने स्वागतयोग्य कुरा हो ।’ सांसदहरूसँग नियमित बस्ने प्रस्तावलाई मन्त्रिपरिषद्का अन्य सदस्य र प्रधानमन्त्री कार्की समक्ष लिएर जाने प्रतिबद्धता उनले जनाए ।

‘यसो (सांसदहरूसँग नियमित बस्नेगरी तालिका निर्माण) हुँदा त हामी (सरकार) नै बढी लाभान्वित हुन्छौं जस्तो लाग्छ,’ उनले थपे ।

गृहमन्त्रीको हैसियतमा आफू धेरै छलफलमा सहभागी हुने गरेको र कतिपय छलफलमा सरकारकै मनोबल गिराउने प्रयास भएको अनुभव अर्यालले सुनाए । उनले सांसदहरूका प्रश्न र सुझावले मनोबल बढाएको भनेर धन्यवाद दिए ।

‘आफ्ना विचारहरू राख्नु भएको छ यी सबै विचारहरूलाई ग्रहण गर्दछु । सबै विचारहरू उपयोगी छन्, सरकारको मनोबल बढाउने खालका छन्,’ गृहमन्त्री अर्यालले भने, ‘कतिपय फोरमहरूमा कतिपय विचारहरू आउदाखेरि सरकारको मनोबल घटाउने हो कि भने जस्तो पनि लाग्छ । तर यहाँ (संसदीय समितिमा) आएका सबै विचारहरू सरकारको मनोबल बढाउने खालका छन् सरकारलाई आफ्नो उद्देश्यमा अझै सबलीकरण गर्ने खालका छन्।’

चुनाव गराउन दृढ

संसदीय समितिको छलफलमा अधिकांश सांसदले फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भन्ने संशय बाँकी नै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । चुनाव नहुने कारणमा सांसदहरूले शान्ति सुरक्षाको अवस्था, राजनीतिक दलहरूको विश्वास आर्जन गर्न सरकारले गरिरहेको पहलमा कमी तथा जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दीलाई देखाएका थिए ।

जवाफमा गृहमन्त्री अर्याल चुनाव गराउन दृढ देखिए ।

‘प्रतिबद्धता जाहेर गर्न चाहन्छु– अहिले चुनावको वातावरण बन्ने तर्फ नै गएको छ । लगभग अब सबै दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुभएको छ । यो भनेको चुनावमा सहभागी हुन्छु भनेको हो,’ गृहमन्त्रीले भने, ‘सरकार यही बुझेर अगाडि बढिसकेको छ र यसअनुसार नै काम हुन्छ ।’

उनले निर्वाचनलाई शान्ति सुरक्षाको कारणले प्रभावित हुन नदिने प्रतिबद्धता जनाए । लुटिएका हतियार फिर्ता गर्न र भागेका कैदीबन्दी नियन्त्रणमा ल्याउन विशेष अपरेशन चलाइएको जानकारी दिए । उनका अनुसार २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ फिर्ता भइसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा भागेकामध्ये ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेका छन् । ४ हजार ८५७ कैदीबन्दी भने अझै बाहिरै छन् । आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा सम्लग्न ५९५ जना पक्राउ परेका छन् । परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यी विवरण प्रस्तुत गर्दै गृहमन्त्री अर्यालले भने, ‘जसरी पनि चुनाव गर्ने हो, त्यो शान्तिपूर्ण रुपमा गर्नेहो, निष्पक्ष रुपमा गर्ने हो । मन्त्रीहरूको भूमिका पनि त्यस्तै हुन्छ ।’

सरकार निश्पक्ष भइदियोस् भन्ने दलहरूको चाहनामा तलमाथि नहुने पनि उनको प्रतिवद्धता छ । उनले भनेका छन्, ‘यो गैरदलीय सरकार हो । गैरदलीय सरकार भइसकेपछि हामीले त्यहि खालको भूमिका खेल्नु पर्छ भन्ने यहाँहरूको अपेक्षा छ। मैले त त्यहि नै डिक्लेयर नै गरिसकेको छु ।’

चुनावको वातावरण बनाउन सरकारले राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको पनि उनले स्मरण गरे ।

‘दलहरूलाई हामीले विश्वासमा लिन्छौं। गृहमन्त्रीकै हैसियतले पनि म आफ‌ैंले पनि विशेष पहल गर्नुपर्ने महसुस भएको छ,’ उनले भने, ‘स्वयं प्रधानमन्त्रीज्यूले पनि दलहरूसँग संवाद गरिरहनुभएको छ ।’

गृहमन्त्रालयको विशेष जिम्मेवारी भएको र गृहमन्त्रीसँग दलहरूको बढी अपेक्षा भएको महसुस गरेको उल्लेख गर्दै उनले थपे्, ‘गृहमन्त्रीको हैसियतले पनि दलहरूसँग आफैंले रिचआउट गरेर विश्वासको थप वातावरण बनाउँदै चुनावमा जाने हो ।’

छलफललाई अझै निरन्तरता दिने पनि उनको प्रतिवद्धता छ ।

‘अझै दलहरूसँगको संवाद मूल नेतृत्व तहसम्म चाहिँ पुगेको छैन । त्यो एउटा अवस्था बाहेक अरु हिसाबले हेर्दा सबै राजनीतिको सबै तह तप्कामा नेताहरूसँग बहस छलफलहरू अगाडि बढेका छन्,’ उनले भने ।

संवाद्‌मा दल–जेनजी

छलफलको क्रममा सांसदहरूले चुनावको समयमा राजनीतिक दल भर्सेस जेनजी हुन सक्ने खतरा औंल्याए । खासगरी बाराको सिमरामा एमाले र जेनजीका बीचमा भएको झडप, कैलालीमा एमाले नेताहरू र जेनजी आमने–सामने भएको घटनालाई देखाएर सांसदहरूले यस्तो चिन्ता प्रकट गरेका हुन् ।

‘बाराको घटना, कैलालीको घटना देख्यौं,’ सांसद पदम परियारले प्रश्न गरे, ‘जेनजी भर्सेस पार्टी, पार्टी भर्सेस जेनजी र पार्टी भर्सेस पार्टी हुने अवस्थालाई सरकारले कसरी काबुमा राख्दैछ ?’

जवाफमा गृहमन्त्री अर्यालले सरकार र अन्य सरोकारवाला पक्षको समेत सक्रियतामा वातावरण धेरै नै सहज भइसकेको बताए । अहिले राजनीतिक दल र जेनजीहरू आफैं समेत औपचारिक/अनौपचारिक संवादमा रहेको स्मरण गरे ।

यहीँनेर उनले राजनीतिक दल र जेनजी आफैं समेत संवादमा रहेको बताए । उनी भन्छन्, ‘अहिले स्वयं दलको पहलमा वा जेनजीहरूको पहलमा पनि कतिपय औपचारिक र अनौपचारिक संवादहरू भइराखेका छन्। यहाँसम्म आइपुग्नु राम्रै पक्ष हो ।’

अर्यालका अनुसार दलीय गतिविधि हुन पाउनुपर्छ भन्नेमा सरकार प्रष्ट छ । ‘जेनजी अ र दल बीचको द्वन्द्व न्यूनीकरण गर्दै गएका छौं,’ उनी भन्छन्, ‘दलीय गतिविधि हुन पाउनु पर्छ। हाम्रो प्रणाली नै त्यहि हो। यसमा हामी स्पष्ट छौं– दलीय गतिविधि शान्तिपूर्ण रूपमा हुनुपर्छ। अहिंसात्मक रूपमा हुनुपर्छ।’

अहिलेको विशेष परिस्थिति भएको हुनाले सकभर तडकभडक र उक्साहटमा नलागी दलहरूले गतिविधि गर्दा राम्रो हुने उनको सुझाव छ ।

‘हामीलाई स्थिति फेरि सम्हाली नसक्नु होला कि भन्ने डर र चिन्ता छ। सबैको सहयोगमा दलीय गतिविधिलाई सहजीकरण गर्ने नै हाम्रो नीति छ,’ उनले भने, ‘हिंसा एकदमै बर्जित छ ।’

नागरिकले बढाए प्रहरीको मनोबल

सांसदहरूले छलफलमा उठाएको अर्को महत्वपूर्ण विषय हो– प्रहरीको कमजोर मनोबल । यस्तोमा चुनाव गराउन अप्ठ्यारो पर्छ कि भन्ने उनीहरूले आशंका व्यक्त गरे ।

जवाफमा गृहमन्त्री अर्यालले प्रहरीको मनोबल बढाउने काम भइरहेको बताए । जेनजी आन्दोलनका क्रममा प्रहरीहरू कार्यालयबाटै विस्थापित भएका थिए । गृहमन्त्रीका अनुसार अहिले ती प्रहरी कार्यालयहरू पुनर्स्थापित भएका छन् ।

‘४५० भन्दा बढी कार्यालयहरूमा क्षति भएको थियो, अहिले ती अधिकांश पुनर्स्थापित भएका छन्, यसमा नागरिकहरूले सहयोग गर्नुभयो,’ गृहमन्त्री अर्यालले भने, ‘नागरिकले पनि प्रहरीलाई माया गरिरहेको अवस्था छ। प्रहरी नभई नहुने संयन्त्र हो।’

प्रहरी भएन भने सधैं असुरक्षित हुन्छौं भन्ने भावना नागरिकहरूमा पलाएको उल्लेख गर्दै उनले थपे, ‘नागरिकले नै पनि प्रहरीको मनोबल बढाउन भूमिका खेलिरहनुभएको छ ।’

प्रहरीको मनोबल बढाउन सरकारले समेत काम गरिरहेको र गर्ने पनि गृहमन्त्री अर्यालको प्रतिबद्धता छ ।

प्रहरीभित्र हुने सरुवा/बढुवामा हस्तक्षेप नगरेपछि स्वत: प्रहरीको मनोबल बढ्ने गृहमन्त्रीले दावी गरे । उनी भन्छन्, ‘प्रहरीको मनोबल बढाउन बढुवा/सरुवा गर्दा कुनै खालको पक्षपात हामीले गरेको छैन र परिचालन हुँदा पक्षपात पूर्ण तरिकाले गरेको छैन । यसले मोराल बढ्ने हो जस्तो लाग्छ ।’

सेवा–सुविधाहरू भन्दा प्रतिष्ठा ज्यादा महत्वपूर्ण रहेको र प्रतिष्ठाले नै मनोबल बढाउने उनको दृढता छ । प्रहरीले पेशागत स्वतन्त्रता, स्वायत्तता पाउने वातावरण भएकाले स्वत: मनोबल बढाएको उनको दाबी छ ।

‘मुख्य कुरा–मर्यादाको कुरा हो। प्रतिष्ठाको कुरा हो। अहिले बर्दीको प्रतिष्ठा बढाउने काम नै हामीले गरेका छौं,’ गृहमन्त्री अर्याल भन्छन्, ‘उहाँहरूले कहिँ पनि अपमानित हुनु पर्दैन। उहाँहरूलाई हामीले दुरुपयोग पनि गर्दैनौं ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?