News Summary
Generated by OK AI. Editorially reviewed.- २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटिएका ७२३ हतियार फिर्ता भएका छन् भने ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेका छन्।
- जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा सम्लग्न ५९५ जना पक्राउ परेका छन् र २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
- सरकारले अझै बाहिर रहेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष अपरेसन सञ्चालन गरिरहेको छ र अनुसन्धान प्रक्रिया जारी छ।
११ मंसिर, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ फिर्ता भएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेसम्म ७२३ हतियार फिर्ता भएको जानकारी दिए ।
यसअघि गत २७ कात्तिकमा राष्ट्रिय सभा अन्तरगतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्रीले ७१८ थान हतियार फिर्ता भएको विवरण प्रस्तुत गरेका थिए । त्यसयता थप पाँच थान हतियार बरामद भएको हो ।
जेनजी आन्दोलनका क्रममा भागेका वा फरार रहेका कैदीबन्दी फिर्ता हुनेक्रम समेत जारी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा भागेकामध्ये ४ हजार ८५७ कैदीबन्दी अझै बाहिरै छन् ।
गृहमन्त्री अर्यालका अनुसार २४ भदौमा भागेकामध्ये ९ हजार ६९७ कैदीबन्दी फिर्ता भइसकेका छन् । ‘अझै बाहिरै रहेकाहरूलाई फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गरिरहेको छ,’ अर्यालले भने ।
बैठकमा उनले जनाएअनुसार जेनजी आन्दोलनका क्रममामा तोडफोड र आगजनीमा सम्लग्न ५९५ जना पक्राउ परेका छन् । परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा सरकारी, सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनी भएको थियो ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । सार्वजनिक भिडियो फुटेज लगायतका आधारमा प्रहरीले तोडफोड र आगजनीमा सम्लग्नलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दै मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ ।
यसक्रममा पक्राउ परेका ५९५ जनामध्ये २८३ जनाविरुद्द मुद्दा दर्ता भएको हो । उनीहरूविरुद्ध के कस्तो कसुरमा मुद्दा दर्ता भएका छन् भन्ने गृहमन्त्री अर्यालले खुलाएका छैनन् ।
प्रतिक्रिया 4