News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई 'अभूतपूर्व' भनी टिप्पणी गर्नुभएको छ।
- उहाँले मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको र सरकारको योजना सफल भएको बताउनुभयो।
- मतपेटिका संकलन र गणनास्थलमा सुरक्षामा प्राथमिकता दिने योजना शुरु गरिने उहाँले उल्लेख गर्नुभयो।
२१ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारको निर्वाचनलाई ‘अभूतपूर्व’ भनी टिप्पणी गरेका छन् । निकै शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको भन्दै उनले सरकारको योजना सफल भएको बताएका हुन् ।
‘हामीले मतदानको दिनमा कहिँ पनि हिंसा र रक्तपात नहोस् भनेर केही महिनाअघिदेखि भन्दै आएका थियौं’ उनले अनलाइनखबरसँगको प्रतिक्रियामा भने, ‘त्यो लक्ष्य पूरा भएको छ ।’
मतदान प्रक्रिया अवरुद्ध नहोस् र कहिँ पनि फेरि मतदान गर्न नपरोस् भनेर सुरक्षा सतर्कता अपनाएको भन्दै उनले थपे, ‘दिउँसो केही ठाँउमा छिटफुट घटना भएपछि फेरि मतदान अघि बढेको छ । कामना गरौं, त्यो स्थिति नआउला ।’
आफूहरुले सोचेको कुरा पूरा भएको भन्दै उनले निर्वाचनको इतिहासका जानकारहरुले पनि विगतमा यो खालको शान्तिपूर्ण निर्वाचन नदेखेको बताए ।
विगतको तुलनामा केही कम मत खसेको हुनसक्ने भन्दै उनले निर्वाचन सुरक्षामा गरिएको कडाईले फर्जी मत नखसेकाले अनुपात घटेको हुनसक्ने प्रतिक्रिया दिए ।
विगतमा केही मतदान केन्द्रमा धाँधली गरेर ९५ प्रतिशतभन्दा बढी मत खसेको भेटिएको उदाहरण दिँदै उनले थपे, ‘यसपाली अनधिकृत व्यक्तिहरुले मतदान गर्न पाएका छैनन् ।’
उनले अब तत्काल मतदानपछिको सुरक्षा योजना शुरु हुने भन्दै मतपेटिका संकलन र गणनास्थलमा पुर्याउने कामले प्राथमिकता पाउने बताए । उनले थपे, ‘अब हामी मतपेटिका ढुवानी र गणनाको सुरक्षामा लाग्नेछौं ।’
प्रतिक्रिया 4