Comments Add Comment

महाभूकम्प २०७२ : उठ्दै छ सिन्धुपाल्चोक

१२ वैशाख, सिन्धुपाल्चोक । महाभूकम्पले थला पारेको सिन्धुपाल्चोकको गाउँबस्तीलाई चिटिक्क परेका रंगीचंगी घरहरुले लोभलाग्दो बनाएका छन् । भूकम्पमा ढलेका विद्यालय भवनहरु सुविधसम्पन्न बनेर ठडिएका छन् ।

कतिपय निजी घर, स्वास्थ संस्था र सरकारी कार्यालय निर्माणको अन्तिम चरणमा छन् । भूकम्प गएको चारवर्षमा सिन्धुपाल्चोक पुननिर्माणको मैजारो गर्ने तरखरमा छ । जिल्लाको जनजीवन पहिलाको लयमा फर्किएको छ ।

भूकम्पबाट सर्बाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका गाउँहरुमा शौचालय र धारासहितको घर संख्या बढेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले जिल्लाका एकदर्जन स्थानमा एकीकृत बस्ती बनाएको छ । ती बस्तीमा ३०० भन्दा बढी घर छन् ।

६५ हजार नयाँ घर

भूकम्पमा क्षती भएका खानेपानी, सिँचाइ, सडकलगायतका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । निजी घर बनाएर अन्तिम किस्ता अनुदान लिने लाभग्राही संख्या ६३ हजार २७० छ । निजी आवस पुनर्निर्माणमा प्राविधिक सहयोग गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइबाट तेस्रो किस्ताको सिफारिस लिने सेवाग्राहीको संख्या भने ६५ हजार नाघेको छ ।

भूकम्पमा ३५ सयको ज्यान गएको सिन्धुपाल्चोकमा पुनर्निर्माण प्राधिकरणले घर बनाउनुपर्ने ८८ हजार २४९ लाभग्राही पहिचान गरेकोमा ८५ हजार १७२ जनाले ५० हजार रुपैयाँ पहिलो किस्ता अनुदान लिएका थिए । तीमध्ये ७९ हजारले मात्र घर बनाउन थालेका थिए ।

गाउँगाउँमा प्राविधिक पठाएको पुनर्निर्माण प्राधिकरणले आगामी वर्षभित्र सबै सेवाग्राहीले घर बनाइसक्ने प्रतिवेदन आएको जनाएको छ । जिल्लामा ७९ हजार ७४१ लाभग्राहीले दोस्रो किस्ता (एकलाख ५० हजार) अनुदान लिएका छन् । छानोसमेत हालेर मापदण्ड अनुसार घर पूरा गरेका सेवाग्राहीले अन्तिम किस्तामा एकलाख रुपैयाँ पाउँछन् ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिका पुनर्निर्माणमा अगाडि छ । यहाँका कुल १३ हजार ९९९ लाभग्राहीमध्ये पहिलो किस्ता अनुदान लिने १३ हजार ७३३, दोस्रो किस्ता लिने १३ हजार २५३ र घर बनाइ सकेर अन्तिम किस्ता लिने सेवाग्राही १२ हजार ९८ छन् । पहिलो किस्ता लिएर घर बनाउन नथाल्ने लाभग्राहीको संख्या ११ सय ५५ छ ।

त्यस्तै, बलेफी गाउँपालिकाका कुल छहजार ५४ लाभग्राहीमध्ये पाँचहजार ९६४ ले पहिलो किस्ता लिएका छन् । तीमध्ये पाँचहजार ८१९ ले दोस्रो र पाँचहजार दुईसयले अन्तिम किस्ता लिएका छन् ।

भूकम्पपछिको पुननिर्माणमा भोटेकोशी गाउँपालिका सबभन्दा पछाडि छ । भोटेकोशीका कुल चारहजार २२६ लाभग्राहीमध्ये चारहजार १३७ जनाले पहिलो किस्ता अनुदान लिएका थिए । तीमध्ये तिनहजार ४४९ ले दोस्रो र १७ सय ९५ ले अन्तिम किस्ता लिएका छन् ।

घर बनाइसक्नेमा अन्यत्र बसोबास नभएका वास्तविक भूकम्प पीडितहरु बढी छन् । सुरुमै प्राविधिक नापजाँच गर्न छुटेका केही बाहेक सबैले घर निर्माण सकेका छन् । घर बनाउन नथाल्नेमा चाही अन्यत्र पनि बसोबास भएका लाभग्राही धेरै छन् ।

सिन्धुपाल्चोकका कुल ५४० विद्यालयमध्ये ५०८ वटालाई भूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पअघि तीमध्ये एकाधको मात्र पक्कि भवन थियो । अहिले भने अधिकांशको भवन विकसित देशका जस्ता बनेका छन् ।

यतिबेला २७२ विद्यालयका २८ सय १० वटा कक्षा कोठा तयार भइसकेका छन् । आउँने वर्ष बाँकी सबैको पुनर्निर्माण भइसक्ने जिल्ला आयोजना कार्यान्वय इकाइका इन्जिनियर शेरबहादुर पुजारले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment