Comments Add Comment

अक्षयकुमार र नरेन्द्र मोदीको रमाइलो प्रश्नोत्तर : ओबामाले तँ भन्छन् !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक कार्यकाल देश हाँक्ने चेष्टामा छन् । अहिले जारी रहेको लोकसभा चुनावलाई आफ्नो पक्षमा ल्याउन उनी कुनै पनि उपाय छाडिरहेका छैनन् । यसैको पछिल्लो सिलसिला हो बलिउडका चर्चित नायक अक्षय कुमारसँग मोदीको गैर राजनीतिक अन्तरवार्ता ।

चुनावअगाडि मोदीको ‘बायोपिक’ रिलिज गर्ने तयारी थियो, तर त्यसलाई निर्वाचन आयोगले रोकिदियो । त्यस फिल्ममार्फत मोदी राजनीतिमा कम चासो राख्ने तर बलिउड फिल्ममा लत लागेका नागरिकहरुलाई प्रभावित पार्न चाहन्थे । यो सफल नभएपछि मोदीले नयाँ उपाय रचेका छन् । उनले बलिउडका चर्चित नायक अक्षय कुमारलाई एउटा भिडियो अन्तरवार्ता दिएका छन्, जुन यतिबेला भारतमा चर्चाको विषय बनिरहेको छ ।

अहिले निर्वाचन आचारसंहिता लागू भइरहेका कारणले राजनीतिक अन्तरवार्ता दिन मिल्दैन । त्यसैले मोदीले अक्षयसँग गैरराजनीतिक कुरा गरेरै मतदाता प्रभावित पार्ने कोशिस गरेका छन् । अक्षयले पनि मोदीलाई चिल्लो घस्न कुनै कसर बाँकी राखेका छैनन् । उनले प्रश्न सोध्दा मोदीलाई कसरी महान देखाउन सकिन्छ भनेर निकै होमवर्क गरेको भान हुन्छ । अक्षयले सोधेका कतिपय प्रश्नहरु वाहियात जस्तै लाग्छन् ।

मोदीको घरको बरन्डामा बसेर कुराकानी सुरु गरिएको छ । अक्षयले पहिलो प्रश्न नै बेतुकको गर्छन् । उनी सोध्छन्, ‘तपाईं आँप कत्तिको रुचाउनुहुन्छ ? यसलाई काटेर खानुहुन्छ कि कोयासहित खानुहुन्छ ?’

मोदीको जवाफ हुन्छ, ‘मलाई आँप निकै मन पर्छ । सानोमा अर्काको बगैंचाबाट टिपेर खान्थेँ । अहिले त स्वास्थ्यका कारण खान सक्दिनँ ।’ कोयासहित खाने गरेको वा काटेर खाने गरेको मोदीले बताएनन् ।

त्यसपछि अक्षयले अलि गम्भीर प्रश्न सोध्छन्, ‘तपाईंले भारतको प्रधानमन्त्री बन्ने कुरा कहिल्यै सोच्नुभएको थियो ?’

मोदी भन्छन्, ‘अहँ, थिएन । मेरो पारिवारिक पृष्ठभूमि सामान्यखालको थियो । सायद मैले कुनै राम्रो नोकरी पाएको भए आमाले मिठाई बाँड्नुहुन्थ्यो होला ।’

मोदीको यो अन्तरवार्ता अहिले भारतीयहरुमाझ भाइरल भइरहेको छ । यसलाई लिएर अभिनेता अक्षय आलोचित पनि बनेका छन् । उनले मोदीलाई सोधेका प्रश्नहरु चाकडीले भरिएको भनेर धेरैले टिप्पणी गरेका छन् ।

यसैगरी अमेरिकी पूर्वराष्ट्रपति ओबामासँग तँ-तँ र म-म चल्छ भन्ने मोदीको भनाइलाई पनि धेरैले मजाकको विषय बनाइरहेका छन् । ओबामाले अंग्रेजीमा कसरी तँ भन्दा हुन् भन्ने धेरैको जिज्ञासा छ ।

मोदी र अक्षयकुमारका केही प्रश्नोत्तर यस्ता छन्ः 

अक्षयः तपाईंलाई कत्तिको रिस उठ्छ ? रिस उठ्दा के गर्नुहुन्छ ?

मोदीः वास्तवमा भन्ने हो भने मलाई कहिल्यै रिस उठ्दैन । यो सुन्दा मानिसहरु छक्क पर्छन् । कहिलेकाहीँ भित्र रिस उठे पनि बाहिर व्यक्त गर्दिनँ ।

अक्षयः यति ठूलो घर छ । यसमा आफ्ना आमा, भाइ, नातेदारहरु बसुन् भन्ने चाहनुहुन्न ?

मोदीः मैले जिन्दगीको कम उमेरमै घर छाडेको हुँ । प्रधानमन्त्री बनेपछि घरबाट निस्केको होइन । म आमालाई समय दिन सक्दिनँ । उहाँ पनि मरो समय खराब गर्न चाहनुहुन्न ।

अक्षयः बाहिर तपाईंको छवि एउटा कडा मिजासको नेताको छ । भित्र तपाईं कस्तो हुनुहुन्छ ?’

मोदीः मेरो बाहिर जे छवि छ, त्यो सही छैन । म कसैलाई अनावश्यक दबाव दिएर काम गराउँदिन । काम गर्न प्रेरित गर्छु । आफैं उदाहरण बनेर प्रस्तुत हुन्छु । पहिलेका प्रधानमन्त्री बेलुकी ६/७ बजे अफिसबाट निस्किसक्थे । म बिहानै अफिस जान्छु र राति ९-१० बजेसम्म बस्छु । काम छ भने १२ बजेसम्म पनि बस्छु । मैले काम गरेको देखेर अरु कर्मचारीहरु पनि प्रेरित हुन्छन् । अनुशासन भनेको थोपरेर हुँदैन । काम गर्ने कल्चर महत्वपूर्ण हो । जस्तो कि म कुनै मिटिङमा भएका बेला कहिल्यै मेरो फोनको घन्टी बज्दैन । मसँगको मिटिङमा कोही मोबाइलमा भुलिरहेको छ भने मलाई त्यो मन पर्दैन ।

अक्षयः तपाईंलाई गुजरातको सीएम हुँदा पहिलोचोटि भेटेको थिएँ । त्यतिबेला मैले तपाईंलाई एकाध चुट्किला सुनाएको थिएँ र तपाईंले पनि सुनाउनुभएको थियो । तपाईंको रसिक स्वभाव अहिले पनि त्यस्तै छ कि बदलियो ?

मोदीः म पहिलेदेखि नै ह्यूमरस थिएँ । कुनै पनि तनावपूर्ण माहोललाई मेरो उपस्थितिले हल्का गराइदिन्छ । अहिले पनि त्यही हो । शब्दसँग खेल्न मलाई मज्ज्ा लाग्छ । तर, अहिले हरेक चिजको अलग अर्थ निकालिन्छ । त्यसैले जे पायो त्यही बोल्न डर लाग्छ । टीआरपीका भोकाहरु मेरो जिब्रो कहाँ चिप्लिन्छ भनेर पर्खिरहेका हुन्छन् । त्यसैले सचेत हुनुपर्छ । तर, म आफ्नो निकटका व्यक्तिहरुलाई अहिले पनि चुट्किला सुनाउँछु ।

अक्षयः प्रतिपक्षी नेताहरुसँग चाहिँ तपाईंको सम्वन्ध कस्तो छ ?

मोदीः बाहिर देखिएजस्तो छैन । धेरै प्रतिपक्षी नेताहरु मेरो नजिकको मित्र हुनुहुन्छ । हामी वर्षमा एक-दुईपटक सँगै खाना पनि खान्छौं । हुन त यो कुरा भन्दा चुनावलाई असर गर्न सक्छ । तर, ममता दिदी -ममता बेनर्जी) ले मलाई हरेक साल एक-दुई जोर कुर्ता पठाउँछिन् आफंैले किनेर । बंगलादेशको प्रधानमन्त्री सेख हसिनाले वर्षमा ३-४ पटक मलाई मिठाई पठाउँछिन् ।

अक्षयः मैले सुनेको थिएँ कि गुजरातको सीएमबाट रिटायर्ड हुँदा तपाईंको बैंकमा २१ लाख रुपैयाँ थियो र त्यो पैसा सबै तपाईंले आफ्ना स्टाफका बच्चाहरुलाई बाँड्नुभएको थियो । आज तपाईंको बैंक ब्यालेन्स कति छ ?

मोदीः पहिले त मेरो बैंक अकाउन्टसमेत थिएन । सीएम भएपछि कर्मचारीहरुले खोलिदिएका हुन् । गुजरातको सीएमबाट निस्कँदा मैले आफ्नो खातामा रहेको सबै पैसा बाँड्न चाहेको थिएँ । तर, मेरा कर्मचारीहरुले भने कि तपाईंको विरुद्धमा यति धेरै मुद्दा छन्, त्यसका लागि धेरै पैसा खर्च गर्नुपर्ने हुन्छ । उनीहरुले बाँड्ने नै भए केही हिस्सा मात्रै बाँड्न सुझाव दिए । त्यसैले मैले आफूसँग भएको पैसामध्ये २१ लाख भारु मेरो सचिवालयका कर्मचारीलाई छोराछोरीको पढाईमा खर्च गर्न भनेर दिएको हुँ ।

हरेक एमएलएलाई सरकारले सस्तोमा जग्गा उपलब्ध गराउँछ । त्यो जग्गा पनि मैले आफ्नो पार्टीलाई दिन चाहें । तर, त्यसमा कानूनी उल्झन रहेछ । अदालतमा मुद्दा चलिरहेको भएर दिन मिलेन । क्लियर भएपछि दिने नै छु । खासमा मलाई सम्पत्ति चाहिएकै छैन ।

अक्षयः तर, गुजरातका मानिसहरु पैसाका लागि मरिमेट्छन्, एक-एक पैसा सम्हालेर राख्छन् भन्ने गरिन्छ । यति भनिसकेर अक्षयले एउटा चुट्किला पनि सुनाउँछन्-

‘एक गुजराती जीवन र मरणको अवस्थामा रहेछन् ।  आफू मर्दैछु भन्ने लागेपछि उनले सोधेछन् मेरो छोरा कहाँ छ ? छोरा नजिक आएर भनेछन् म यहाँ छु । अनि सोधेछन्, मेरी श्रीमती खोई ? श्रीमतीले पनि आफू त्यहीँ भएको बताउँछिन् । छोरीलाई खोजेछन् । छोरी पनि सँगै थिइन् । त्यसपछि भनेछन्, ‘तिमीहरु सबै यही छौ ? पसल कसले खोल्छ ?’

अक्षयको चुट्किलाको बदलामा मोदीले पनि चुट्किला फ्याँक्छन्-

‘एउटा ट्रेनमा प्यासेन्जसर सुतिरहेका थिए । स्टेसन आयो । उनले झ्यालबाट बाहिर सोधे- कुन स्टेसन ? बाहिरबाट जवाफ आयो, ‘चार आना देउ अनि भन्छु’ । त्यसपछि ती यात्रुले भने, ‘ए मैले थाहा पाएँ ? अहमदावाद रहेछ ।’

यति भनिसकेर मोदीले अर्को ‘वास्तविक घटना’ सुनाउँछन्-

म पहिले एउटा झोला भिरेर धेरै पैदल यात्रा गर्थेँ । सकभर अटो चढि्दनथेँ । एकपटक पुणे गएको थिएँ । आरएसएसको अफिस पुग्नु थियो, जुन रेल स्टेसनबाट एक-डेढ किलोमिटर पर थियो । म झोला भिरेर हिँड्न थालेँ । मलाई एउटा अटोवालाले पछ्यायो । उ मेरो पछिपछि अटो चलाइरहेको थियो । मैले रोकिएर सोधेँ, ‘के तिम्रो अटो बिगि्रएको छ, किन सुस्तरी हाँकेको ?’

उसले सोध्यो, ‘तपाईं बस्नुहुन्छ कि भनेर ।’

मैले भनें, ‘होइन, म त पैदल नै जाने हो ।’

त्यसपछि उसले भन्यो, ‘तपाईं समाजवादी होइन र ?’

मैले सोधेँ, ‘किन र ?’

उसले भन्यो, ‘समाजवादीहरु सबैले देख्ने गरी स्टेसनमा अटो चढ्दैनन् । सुरुमा पैदल नै हिँड्छन् र अलि पर पुगेपछि कसैले नदेख्ने गरी चढ्छन् । तपाईं पनि त्यस्तै हो कि भनेर ।’

अक्षय प्रसंग बदल्दै सोध्छन्- ‘तपाईं राति तीन, साढे तीनघण्टा मात्रै सुत्नुहुन्छ भन्ने बाहिर सुनिन्छ । के यो सत्य हो ?’

मोदीः सही हो । म ३/४ घन्टाभन्दा बढी सुत्नै सक्दिनँ । मेरा जति पनि साथी छन्, उनीहरुले मेरो निद्रा बढाउन सुझाव दिन्छन् ।’

यति भनिसकेपछि मोदीले अमेरिकाका पूर्वप्रधानमन्त्री बाराक ओबामाको गफ दिन्छन्-

‘मलाई ओबामाले पहिलोचोटि भेट्दा नै सोधेका थिए, मोदीजी तपाईं किन कम सुत्नुहुन्छ ? हामी राम्रो साथी हौं । एक अर्कालाई ‘तँ-तँ’ भनेर बोलाउँछांै । अहिले भेट्दा पनि उनी मलाई यही प्रश्न सोधिरहेका हुन्छन् ।’

अब अक्षयले अर्को हास्यास्पद प्रश्न सोध्छन्- ‘मोदीजीलाई रुघा लाग्दा के गर्नुहुन्छ भन्ने धेरै मानिसहरुको जिज्ञासा हुन सक्छ, खासमा के गर्नुहुन्छ ?’

‘निकै राम्रो प्रश्न सोधेको’ भन्दै मोदीले सुनाउँछन्, ‘म कठिन जिन्दगी बाँचेर आएको हुँ । मलाई पहिले डाक्टर के हो, महंगो दबाई के हो भन्ने थाहा थिएन । रुघा लाग्दा म खाली तातोपानी लिन्छु र २४ घन्टा फास्टिङ बस्छु । ठीक भएन भने तोरीको तेल तताएर राति दुई तीन थोपा नाकमा हाल्छु । त्यसले ठीक गर्छ ।’

अक्षयबाट अर्को रमाइलो प्रश्न आउँछ, ‘तपाईं कहिलेकाहीँ आधा बाहुला भएको कुर्ता लगाउनुहुन्छ नि किन ?’

मोदीको जवाफ झन् रमाइलो छ ।

उनी गफ दिन्छन्, ‘सानैदेखि म आफ्नो कपडा आफैं धुने गर्थेँ । आफ्नो मात्रै नभएर मेरो परिवारका सबै सदस्यको कपडा म नै धुन्थेँ । कपडा धोइरहँदा पूरा बाहुला भएको कुर्ता धुन धेरै समय लाग्ने । अनि कहिलेकाहिँ बाहिर निस्कँदा झोलामा लुगा हाल्नुपथ्र्यो । त्यतिबेला पूरा बाहुला भएको कुर्ताले धेरै ठाउँ ओगट्थ्यो । त्यसैले म प्रायः आधा बाहुलाको लुगा लगाउँथे । मैले धेरैवटा कुर्ताको बाहुला आफैंले काटेको पनि छु ।’

मोदीले घरमा लुगा प्रेस गर्ने आइरहन नभएकाले लोटामा तातो कोइला भरेर कपडा प्रेस गर्ने गरेको सुनाए । अनि आफ्नो विगतको गरिबी देखाउने अर्को उदाहरण दिए ।

‘मेरो सानोमा जुत्ता थिएन । एक दिन मामाले मलाई सेतो रंगको कपडाको जुत्ता ल्याइदिनुभयो । म त्यो लगाएर स्कुल जान थालेँ । केही दिनपछि जुत्ता फोहोर भयो । सावुन किन्ने पैसा हुँदैनथ्यो । स्कुल छुट्टी भएपछि सबै साथीहरु कक्षाबाट निस्कँदासम्म म बसिरहन्थेँ । सबै निस्केपछि म शिक्षकले कक्षामा पढाउँदा फ्याँकेका वा खसेका चकहरु जम्मा गर्न थाल्थेँ । ती चक घरमा ल्याएर आफ्नो जुत्तामा रगड्थेँ र सेतो बनाउँथेँ ।

अक्षयले अर्को प्रश्न सोध्छन्, ‘तपाइर्ंलाई मैले भेट्दा घडी तल फर्काएर लगाएको देखेको छु । त्यो किन ?’

मोदीले तर्क गर्छन्, ‘जब कसैसँग म मिटिङमा हुन्छु, त्यतिबेला टाइम हेरिरहनुपर्छ । तर, मैले घडी हेरेको देख्यो भने त्यो व्यक्तिलाई नराम्रो लाग्न सक्छ । त्यसैले मैले घडी हेरेको थाहा नपाओस् भनेर उल्टो पारेर लगाउँछु ।’

अक्षयः तपाईं सोसल मिडिया कत्तिको हेर्नुहुन्छ ? त्यहाँ लेखिने टिप्पणीहरुले तपाईंलाई कत्तिको प्रभाव पार्छ ?

मोदीः एकदमै हेर्छु । एक प्रकारले सामाजिक सञ्जालबाट बाहिरको धेरै जानकारीहरु प्राप्त हुन्छ । म तपाईंको टि्वटर पनि हेर्छु र टि्वंकल खन्ना (अक्षयकी पत्नी) को पनि हेर्छु । कहिलेकाहीँ मलाई लाग्छ कि टि्वंकलले ममाथि जेजति रिस टि्वटरमा पोख्छिन्, त्यसले तपाईंको पारिवारिक जीवनमा शान्ति ल्याएको हुनुपर्छ । किनकि रिस जति मलाई पोखेपछि उहाँलाई आनन्द मिल्छ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment