Comments Add Comment

जिसस सिन्धुपाल्चोकले मौज्दात रहेको ६० करोड स्थानीय तहलाई बाँड्ने

१२ वैशाख, सिन्धुपाल्चोक । जिल्लाका १२ स्थानीय तहलाई ६० करोड बजेट बाँडफाँट गर्ने निर्णय गर्दै जिल्ला समन्वय समिति -जिसस) सिन्धुपाल्चोकको तेस्रो जिल्ल्ाा सभा सकिएको छ ।

जिससमा रहेको मौज्दात कोषको रकम स्थानीय तहले पेश गरेको योजनाको आधारमा बाँडफाँट गरेको हो ।

जिल्ला समन्वय समितिमा रहेको ६० करोड १४ लाख ८३ हजार २ सय १९ रुपैयाँ मन्त्रिपरिषदको २०७५ पुस ६ गतेको बैठकले निर्देशिका बनाएर बाँडफाँट गर्न भनेपछि जिल्ला सभाले उक्त रकम बाँडफाँट गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

जिल्ला समन्वय समिति मौज्दात कोष निर्देशिकामा व्यवस्था अनुसार जिल्लाका सबै स्थानीय तहमा बजेट बिनियोजन गरिएको जिसस प्रमुख तामाङले बताए ।

जिल्ला समन्वय समितिले जिल्लाका १२ स्थानीय तहले पेश गरेका कार्यक्रम तथा योजनाहरुका लागि बजेट प्रस्ताव गरेको छ ।

१२ स्थानीय तहमध्ये लिसखुपाखर गाउँपालिका, भोटेकोशी, त्रिपुरासुन्दरी, जुगल, पाँचपोखरी गाउँपालिकाले गाउँकार्यपालिका भवन निर्माणका लागि जिससमा योजना पेश गरेका छन् । ती गाउँपालिकाहरुमा भवन निर्माणका लागि बजेट पास गरिएको जिसस प्रमुख तामाङले जानकारी दिए ।

हेलम्बु गाउँपालिकाले नमूना विद्यालय सञ्चालनका लागि बजेट माग गरेको छ । नमूना विद्यालयका लागि जिससले १ करोड ५० लाख रुपियाँ बजेटको प्रस्ताव गरेको छ ।

जिल्ला सभाले हेलम्बु गाउँपालिका लाई २ करोड ७० लाख, मेलम्ची नगरपालिका ३ करोड ५५ लाख, पाँचपोखरी थाङपाल गाउँपालिका ४ करोड २० लाख, इन्द्रावती गाउँपालिका ३ करोड १५ लाख, चौतारा साँगाचोकगढी नगरपालिका ३ करोड ५० लाख, जुगल गाउँपालिका ३ करोड २५ लाख, बलेफी गाउँपालिका २ करोड ६० लाख रुपियाँ बजेट वितरण गरिएको छ ।

त्यस्तै सुनकोशी गाउँपालिका २ करोड ९० लाख, लिसंखुपाखर गाउँपालिका ४ करोड, त्रिपुरासुन्दरी गाउँपालिका ३ करोड,बाह्रविसे नगरपालिका ४ करोड ९५ लाख र भोटेकोशी गाउँपालिकालाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिइन् ।

त्यस्तै जिल्ला समन्वय समितिले जिल्लामा हुने विभिन्न विपत्तिका प्रकोपहरुलाई मध्यनजर गर्दै केही जाली र खानेपानीका पाइपहरु खरिदका लागि पनि बजेट राखिएको छ ।

जिससले खानेपानीको पाइप खरिदका लागि २ करोड, ग्याबिन जाली खरिदका लागि २ करोड ५० लाख, हलुका सवारी खरिदका लागि १ कारेड ५० लाख, जिसस भवन मर्मत सम्भारका लागि २ करोड र विभिन्न दायित्व भुक्तानिका लागि ११ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

निर्देशिकाले गरेको व्यवस्था अनुसार २० लाख रुपियाँ प्रशासनिक खर्चको लागि छुटयाइएको छ । जिल्ला समन्व्य समितिले शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधार, विपद व्यवस्थापनको क्षेत्रका लागि बजेट विनियोजन गरेको हो ।

जिल्ला सभाले नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

तेस्रो जिल्ला सभामा जिल्ला समन्वय समितिले जुगल हिमाल आरोहीलाई सम्मानसमेत गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सासंद एवम पूर्व कानूनमन्त्री शेरबहादुर तामाले जुगल आरोही माया गुरुङ र मिलन तामाङलाई सम्मान गरे ।

प्रतिनधिसभा क्षेत्रनम्बर १ का संसाद एवम पूर्वमन्त्री अग्नि सापकोटाले जिल्ला सभाको उद्घाटन गरेका थिए भने पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले समापन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment