+
+
Shares

पर्सामा ३ सय ५० जन्मसिद्धका सन्तानले लिए वंशजको नागरिकता

सुरेश बिडारी सुरेश बिडारी
२०७६ वैशाख १३ गते १९:१२

१३ वैशाख, वीरगञ्ज । जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको पत्रअनुसार पर्सामा शुक्रबारसम्म ३ सय ५० जनाले नागरिकता लिएका छन् ।

शुक्रबार एकै दिन ३४ जनाले यस्तो नागरिकता लिएका छन् । सर्वोच्चबाट नागरिकता वितरणमा आंशिक अंकुश लागेकै दिन तोकिएका कागजात पूरा गरेका ३४ जनालाई नागरिकता वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आवश्यक कागजात पुगेकाले नागरिकता पाएका बताए । ‘कतिपयको निवेदन लिएर राखेका छौं । क्रमशः अध्ययन गरेर वितरण गर्छौ’ उनले भने ।

सर्वोच्चले दिएको नयाँ आदेशका बारेमा परिपत्र नआइसकेकोले अहिले जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने क्रम नरोकिने उनको भनाई छ ।

‘वि.स. ०५४ मा दिएको नागरिकता ०५८ मा बदर गरिएको छ । तर कतिपय जिल्लामा त्यस्तो नागरिकता लिएकाको सन्तानले पनि यही भीडमा नागरिकता लिन खोजेको भन्ने गुनासो आएको मैले पनि थाहा पाएको छु ।’ प्रजिअ भट्टराईले भने, ‘सर्वोच्चको पछिल्लो आदेश उनीहरुका लागि लक्षित हो भन्ने मैले बुझेको छु । छिटपुट केशमा मात्रै जारी नगर्नु भन्न खोजिएको हुन सक्छ । पर्सामा त्यस्तो समस्या छैन ।’

शुक्रबारको अदालतको आदेशमा पनि गृहको परिपत्रको सम्पूर्ण अंशमा नभएर ०५८ साउन ८ मा प्रमुख जिल्ला अधिकारी मातहतमा नरहेका अधिकृतहरुको टोलीबाट वितरण गरिएको नागरिक प्राप्त गर्नेहरुको हदसम्म मात्रै नागरिकता वितरण रोक्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले थप ८ सय ३५ जनाको कागजात सहितको निवेदन संकलन गरेर राखेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिन आउनेहरुको भिड अत्याधिक भएपछि समय समयमा विवाद र हो–हल्ला समेत हुन थालेको थियो । त्यसलाई व्यवस्थित गर्न प्रहरी परिचालन गर्नुका साथै शुरुमा प्रशासनले टोकन प्रणाली लागु गरेको थियो ।

कार्यालयले नागरिकता दिनेसँगै नयाँ निवेदन लिने क्रमलाई समेत निरन्तरता दिएको छ । कार्यालयमा दैनिक १ सय वटा जति निवेदन संकलन भइरहेको कार्यालयका कम्प्युटर अपरेटर झमक रेग्मी मगरले जानकारी दिए ।

दैनिक ५० वटाका दरले नागरिकता दिने लक्ष्यका साथ शुक्रबारसम्म कार्यालयले वैशाख २५ गतेसम्मका लागि ५ सय ३५ वटा निवेदन दर्ता गरिसकेको छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?