Comments Add Comment

राजपाको महाधिवेशन कात्तिक २८ गतेदेखि

महन्थ ठाकुरको नेतृत्वमा तयारी समिति गठन

१३ वैशाख, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ ।

वैशाख ८ देखि १३ गतेसम्म काठमाडौंमा बसेको पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख ७ गते महाधिवेशन तोकिए पनि हुन सकेको थिएन ।

महाधिवेशन गर्नका लागि अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्यहरु रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति गठन गरिएको छ । महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिइने निर्णय बैठकले गरेको छ ।

यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लग तामाङ, मालामती राणा थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र अकवाल अहमदलाई सदस्यमा राखिएको छ ।

बैठकले भ्रातृ संगठनहरुलाई तत्काल समायोजन गरी पूर्णता दिने र व्यवस्थापन गर्ने निर्णय गरेको अध्यक्ष शरदसिंह भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रव्यापी आन्दोलन गर्ने निर्णय

बैठकले राष्ट्रव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ । संविधान संशोधन गराउन, आन्दोलनकारीमाथि लगाइएको मुद्दा खारेज गराउन, सांसद रेशम चौधरीलगायत राजबन्दीलाई रिहा गराउन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन सदन र सडकबाट तत्काल सशक्त राष्ट्रव्यापी आन्दोलन गरिने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै नेपालगंज घट्ना छानबिन गर्न बनेको पराजुली आयोगको प्रतिवेदन सार्वजनिक गराउन, सुशासन कायम गराउन, बलात्कारीहरुलाई कार्वाही गराउन, महँगी नियन्त्रण गराउन, भ्रष्टाचारी, कलोबजारीको पर्दाफास गराउन पनि आन्दोलन गरिने राजपाले जनाएको छ ।

समान विचारधारा र नीति मिलेका पहिचान र संघीयता पक्षधर पार्टीहरुसँग एकीकरण/मोर्चा/गठबन्धन गर्ने निर्णय गरेको राजपाले २०५४ सालमा ३४ हजार ९० जनाको नागरिकता प्रचलनमा नल्याउन सर्वाेच्च अदालतले गरेको अन्तरिम आदेशले राष्ट्रियतालाई कमजोर बनाउने भन्दै बैठकले दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment