Comments Add Comment

दुई युवती भारत लैजादै गर्दा युवक पक्राउ

१५ वैशाख, कैलाली । कञ्चनपुरको पुनर्वाससंगै जोडिएको भारतीय भूमिबाट भारतीय सीमा सुरक्षा बलले दुई यवती र एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको अवस्थामा पुनर्बास नगरपालिका ५ का भीमबहादुर बोहरा पक्राउ परेका छन् । उनीसँगै से ६ प २९०३ नम्बरको मोटरसाइकलमा भारत लगिएका सर्लाहीको बागमती नगरपालिकाका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई गोपाल बोहराका अनुसार भीमबहादुरले यवतीलाई भारतीय शहर सम्पुर्णानगर पुर्‍याएवापत प्रतिव्यक्ति एकहजार रुपैयाँ लिने गरेको बयानका त्रलममा बताएका छन् । बोहरा लामो समयदेखि यस्तै धन्दामा रहेको प्रहरीको भनाइ छ ।

युवती भारत लैजाने गिरोहमा सक्रिय मुख्य आरोपी भनिएका पुनर्वास ५ ‘ग’ गाउँका किशन भनेर चिनिने कृष्णबहादुर रोकाया भने फरार रहेका छन् । युवतीहरुलाई वैदेशिक रोजगारीका लागि ओमान लैजाने भन्दै ल्याएको युवतीहरुले बताएका छन् । तर उनीहरूसंग विदेश जान आवश्यक कागजपत्र नरहेकाले उनीहरूलाई वेचविखनकै लागि ल्याइएको हुनसक्ने मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण समिति, पुनर्वासकी सदस्य सुकमाया तामाङले बताइन ।

विगतमा कैलालीको नाका हुँदै थुप्रै युवती भारततर्फ जाँदै गर्दा पक्राउ परेका कारण दलालहरुले पछिल्लो पटक कञ्चनपुरको दक्षिणी नाका हुदै युवतीहरु भारततर्फ लैजाने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment