Comments Add Comment

महाकाली सिँचाइ आयोजनामा बजेट अभाव

१५ वैशाख, कैलाली । महाकाली सिँचाइ आयोजना अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणको काम बजेट अभावले रोकिने अवस्थामा पुगेको छ ।

२०६४ सालबाट सुरु भएको महाकाली सिंचाइ आयोजनाको १२ वर्षमा १३ किलोमिटर मूल नहर निर्माण गरेपनि अहिलेसम्म निर्माण कम्पिनीले भुक्तानी भने पाउन सकेको छैन ।

बजेट अभावका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका निर्देशक लोकबहादुर थापाले बताए ।

उनले आयोजनासँग बजेट सकिएका कारण निर्माण कम्पनीलाई भुक्तानी गर्न नसकिएको स्वीकार गरे ।

बजेट समयमा नआउँदा काममा ढिलाइका हुनका साथै आयोजनाको अवधि पनि लम्बिने देखिएको छ । आयोजनाका निर्देशक थापाले अहिलेसम्म प्रस्तावित बजेटको २५ प्रतिशत बजेट मात्रै आएको बताए ।

बजेटका लागि केन्द्रमा माग गरेको बताउँदै निर्देशक थापाले छिट्टै रकम निकासा हुने आश्वासन आफूले पाएको बताए ।

आर्थिक वर्ष ०६३/६४ मा सुरु भएको आयोजनाको काम १२ वर्ष बित्दा पनि ७ प्रतिशतमात्रै भौतिक प्रगति भएको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका लागि आव ०७६/७७ मा २५ करोड बजेट विनियोजन गरेको निर्देशक थापाले बताए । तर, यति रकमले आयोजना सम्पन्न गर्न नसकिने भन्दै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट भयो भने ३ वर्षभित्र निर्माण सम्पन्न हुने निर्देशक थापाले जानकारी दिए ।

महाकाली सिँचाइ आयेजना तेस्रो चरण अन्तर्गत निर्माण सम्पन्न भए ब्रम्हदेव क्षेत्रमा २९ हजार हेक्टर, चाँदनी दोधारा क्षेत्रमा ३५ हजार हेक्टर, त्रिभुवन बस्ती क्षेत्रमा उन्नाइस हजार ६२० हेक्टर र मालाखेती क्षेत्रमा ७ हजार ४९० हेक्टर गरी कैलाली कञ्चनपुरको कुल ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुबिधा उपलब्ध हुनेछ ।

अहिले शारदा ब्यारेजबाट सञ्चालनमा रहेको महाकाली सिँचाइ प्रणालीबाट महेन्द्रनगर तथा बेलडाँडी क्षेत्रको करिब ११ हजार ६ सय हेक्टर जमीनमा सिँचाइ सुविधा उपलब्ध छ ।

निर्देशक थापाका अनुसार नेपाल र भारतबीच एकीकृत महाकाली सन्धिमा भारतले टनकपुर ब्यारेजदेखि नेपाल-भारत सीमा भीमदत्त नगरपालिका-९ मटेनासम्म १ हजार २ सय मिटर नहर निर्माण गर्नुपर्ने हुन्छ । यसका लागि भारतीय पक्षले १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी टेन्डर आहृवान गरिसकेको निर्देशक थापाले बताए ।

२०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment