Comments Add Comment

राष्ट्र बैंकको ६४औं वार्षिक नेपालगञ्ज कार्यालयमा मनाइयो

१६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले बैंकको ६४ औं वाषिर्कोत्सव विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । विभिन्न अतिरिक्त क्रियाकलाप सम्पन्न भएपश्चात वाषिर्कोत्सव समारोहको औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

समारोहको सभापतित्व ग्रहण गरेका बैंकका निर्देशक  मुक्तिनाथ सापकोटाले विभिन्न प्रतियोगिताका विजयी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । समारोहलाई सम्वोधन गर्दै उनले नेपाल राष्ट्र बैंक स्थापना भएयता प्राप्त उपलब्धि, वर्तमान अवस्था तथा भावी चुनौतीहरुको चर्चा गरे । देशको आर्थिक स्थायित्व तथा वित्तीय सन्तुलन कायम राख्न राष्ट्रबैंक सधैं तत्पर रहेको भन्दै सापकोटाले सोका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्गमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा कामु उपनिर्देशक रामचन्द्र भट्टराई, तत्कालिन मुख्य व्यवस्थापक यसपाल चौरसिया, उपनिर्देशक श्री शिव प्रसाद घिमिरेले सम्वोधन गरेका थिए । उपनिर्देशक घिमिरेको संयोजकत्वमा वाषिर्कोत्सव मूल समारोह तथा अतिरिक्ति क्रियाकलाप समितिको गठन गरी व्याडमिण्टन, भलिवल, चेस, टेवुलटेनिस लगायतका खेलकुद प्रतियोगिता कार्यालय परिसर भित्रै आयोजना गरिएका थिए । यस्तै, मैत्रीपूर्ण फुटवल खेल प्रहरी व्यायामशाला, बाँकेको खेल मैदानमा आयोजना गरिएको थियो ।

कर्मचारीका बालबालिकाहरुलाई सहभागी गराउन बालचित्रकला प्रतियोगिता आयोजना गरिएको थियो भने पूर्व कर्मचारीहरुलाई सहभागी गराउन घंैटो फोड्ने कार्यक्रम समेत समावेश गरिएको थियो । वाषिर्कोत्सवकै अवसरमा वित्तीय सचेतना अभिबृद्धिकालागि प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

फुटसल प्रतियोगिता जारी

वाषिर्कोत्सवकै अवसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले आयोजना गरेको फुटसल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगितामा नेपालगञ्ज क्षेत्रका २९ बैंक तथा वित्तिय संस्था सहभागी छन् ।

शनिबार भएको उद्घाटन खेलमा भार्गव विकास बैंकले ग्लोबल आईएमई बैंकलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । यसैगरी अन्य खेलहरुमा वेस्टर्न डेभलपमेन्ट बैंक, मेघा बैंक, नेपाल बंगलादेश बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया बैंक र कैलाश बैंक विजयी भएका थिए ।

यसैगरी आइतबार भएका खेलहरुमा राष्ट्रबैंकले गन्डकी विकास बैंकलाई पराजित गरेको छ । यसैगरी लक्ष्मी बैंकले राष्ट्रिय बाणिज्य बैंक र कुमारी बैंकले सानिमा बैंकविरुद्ध जित हासिल गरेका छन् । बाँकी लिग खेलहरु बुधबार र शुक्रबार हुनेछन् भने शनिबार फाइनल खेलाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment