Comments Add Comment

खुला विश्वविद्यालयमा असोजदेखि आमसञ्चारको पढाइ हुने

१६ वैशाख, काठमाडौं । नेपाल खुला विश्वविद्यालयले आउँदो असोजदेखि आम सञ्चार अध्ययन (Media and Communication Studies) विषयमा स्नातक र स्नातकोत्तर तहको पढाइ सुरु गर्ने भएको छ । नियमित रुपमा कक्षामा उपस्थित हुन नसक्ने, विदेशमा रहेका, जुनसुकै उमेर समूहका विद्यार्थीलाई उनीहरुको फुर्सदको समयमा घरमै इन्टरनेटको माध्यमबाट पढ्न पाउने गरी आमसञ्चार अध्ययनको पढाइ सुरु हुन लागेको हो ।

हाल उक्त शैक्षिक कार्यक्रमको पाठ्यक्रम निर्माणको तयारी भएको छ ।  आमसञ्चार अध्ययनको पढाइ सञ्चालनको विषयमा सोमबार खुला विश्वविद्यालय र आमसञ्चार तथा पत्रकारितासम्बन्धी तालिम तथा कक्षा सञ्चालन गर्दै आएको नेपाल प्रेस इन्ष्टिच्युटबीच एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले हस्ताक्षर गरेका छन् । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक र स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन सुरु गर्ने सहमति भएको छ ।

आमसञ्चार अध्ययनको पाठ्यक्रम निर्माणका लागि विश्वविद्यालयले इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुने गरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्ने सहमति भएको छ । त्यसअनुसार काम पनि सुरु भइसकेको छ ।

इन्स्टिच्यूटले विश्वविद्यालयको नियम र प्रक्रियाको अधीनमा रही कोर्स सञ्चालन गर्नेछ भने कोर्स सञ्चालन गर्न लाग्ने जनशक्ति र अन्य खर्च विश्वविद्यालयले व्यहोर्ने छ । कोर्स सञ्चालन गर्न आवश्यक पर्ने स्रोत व्यक्ति इन्स्टिच्यूटले उपलव्ध गराउनेसमेत सहमति छ ।

खुला विश्वविद्यालयको आमसञ्चार अध्ययनमा पत्रकारिता तथा आमसञ्चार संकायबाट उच्च माध्यमिक शिक्षा पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले स्नातकोत्तर तहमा भर्ना हुन सक्नेछन् ।

तर, पूर्वतयारी कोर्स पूरा गर्ने कुनै पनि विषयमा माध्यमिक शिक्षा पूरा गरेका व्यक्ति स्नातक तहमा र पूर्वतयारी कोर्स पूरा गरी स्नातकोत्तर तहमा भर्ना हुन सक्नेछन् । पूर्व तयारी कक्षाको स्वरुप भने हालसम्म निर्धारण भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment