काठमाडौं । प्रतिबन्धित औषधी प्रयोग गरेको भन्दै इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हेल्स विश्वकप क्रिकेट खेल्ने टिमबाट निकालिएका छन् ।
विश्वकपका लागि घोषणा भएको १५ खेलाडीमा नाम रहेका हेल्स जाँचका क्रममा प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि २१ दिनको प्रतिबन्धमा परेका हुन् । इंग्ल्याण्ड क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तीअनुसार २१ दिनपछि उनीमाथि पुनः अनुसन्धान हुने छ ।
प्रतिबन्धकै कारण हेल्सले शुक्रबार आयरल्याण्डसँग हुने तय भएको एकदिवसीय खेल, पाकिस्तानसँगको एकदिवसीय सिरिजसमेत गुमाएका छन् ।
हेल्सको स्थानमा कसलाई राख्ने भन्ने निश्चित नभए पनि मे २३ मा विश्वकपका लागि अन्तिम नामावली सार्वजनिक गरिने भएकाले आयरल्याण्ड र पाकिस्तानसँगको खेलमा राम्रो गर्नुपर्ने दबावमा खेलाडीहरु रहेका छन् ।
बेला बेला अनुशासनको कारबाहीमा पर्दै आएका हेल्सले इंग्ल्याण्डबाट ७० एकदिवसीय खेलमा ३७ को औषतमा २ हजार ४ सय १९ रन बनाएका छन् ।
प्रतिक्रिया 4