Comments Add Comment

भुवन भर्सेस अनमोलः कति भिन्न छ बाबुछोराको आनीबानी ?

भुवन केसी आफ्ना जमनाका सुपरस्टार । अनमोल वर्तमानका । यी बावुछोराबीच यति एउटा समानता छ । बाँकी त, ठीक विपरित ।

भुवन केसीले ‘सदबहार नायक’को तक्मा पाए, अनमोलले ‘मेगास्टारको ।’ भलै यसमा कतिको बिमती हुनसक्ला । अब यी दुईबीच फरक छुट्याउँ।

हिजो भुवनको जमना थियो, आज अनमोलको । भुवनसँग भिड्ने राजेश हमाल, शिव श्रेष्ठ, सरोज खनालहरु आफैमा शक्तिशाली थिए । आज अनमोलसँग उति ज्याद्रो प्रतिस्पर्धी छैनन् । भुवन सेल्युलाइड जमानाका, अनमोल डिजिटल । यी तपसिलका कुरा भए ।

भुवन र अनमोलबीच धेरैकुरा बेमेल छ । अर्थात उनीहरुको आनीबानी, स्वभाव, प्रवृत्ति आपसमा मिल्दैन । न उनीहरुको खानपान मिल्छ, न फेसन-शैली । अनलाइनखबरसँग कुरा गर्दै भुवनले भनेका थिए, ‘अनमोल र मेरो आनीबानी ठ्याक्कै उल्टो छ ।’

फेसन

भुवन फेन्सी ड्रेसअप गर्छन् । चहकिलो, कलरफुल र स्टाइलिस । पहिरन-शैलीमा सचेत छन् । अक्सर टिसर्ट, जिन्स र डिंगो लगाउँछन् । त्यससँग मिल्ने स्कार्फ बाँध्छन् ।

अनमोल ‘डिसेन्ट’ पहिरन रुचाउँछन् । भलाद्मी देखिने । उनी फेसनमा त्यती धेरै चासो राख्दैनन् । कुनै विशेष पहिरन शैली पनि उनले अपनाएका छैनन् । अवस्था अनुसार जस्तोसुकै गेटअपमा पेश हुन्छन् ।

स्टाइल

भुवनले आफुलाई ‘स्टाइलिस हिरो’को रुपमा चिनाएका छन् । आफ्नो जमानाका स्टाइल आइकन पनि हुन्, उनी । उनी चस्मा लगाउँछन्, सिक्री झुन्ड्याउँछन् । पहिरनमा पनि केही न केही नयाँ प्रयोग गर्छन् । उनको जुँगा र कपाल पनि ‘सदबाहार’ नै छ, सधै उस्तै बान्की मिलेको ।

अनमोल आफुलाई स्टाइलिस भन्न रुचाउँदैनन् । उनी चमक-दमक पनि रुचाउँदैनन् । घडी बाँध्दैनन् । सामान्य अवस्थामा चस्मा लगाउँदैनन् । मोवाइल सामान्य बोक्छन् ।

खानपान

भुवन केसी ननभेज हुन् । तामासिक खानपानमा रुची राख्छन् । माछा, मासु, मसलेदार । उनलाई खानमा कुनै छेकबार छैन । मनलाग्दो खान्छन् । उनी मदिरापान पनि गर्छन् । चुरोट नभई हुन्न । भुवनलाई भान्साको काममा जाँगर चल्दैन । उनी आफुले खानका लागि पनि कुनै खानेकुरा बनाउँदैनन् ।

अनमोल शुद्ध शाहाकारी हुन् । उनलाई माछा, मासु चल्दैन । उनको मनपर्ने खाना भनेको दाल, भात, तरकारी, अचार हो । उसिनेको खानेकुरामा जोड दिन्छन् । उनलाई मनपर्ने चाहि भेडेखुर्सानी र पनिर हो । नियन्त्रित र उचित मात्रामा खाना खान्छन् । कति खाने, कसरी खाने, कतिबेला खाने ? अनमोलले हेक्का राखेका छन् ।

अनमोल जाड-रक्सी, चुरोट केहीपनि सेवन गर्दैनन् । बरु मध्यन्ह उनी जुस पिउँछन्, फलफूल खान्छन् । राती आटाको रोटी र दाल खान्छन् । यसअघि आफै बनाएर सलाद खाइसकेका हुन्छन् । उसिनेको आलु, काँक्रा, गाँजरको मिक्स अर्थात चटपटे पनि बनाएर खान्छन् ।

दैनिकी

भुवनको दैनिकी अनियन्त्रित छ । कुन बेला उठ्ने, कुन बेला सुत्ने खास टुंगो हुँदैन । उनी मनमौजी छन् । बिहान चाडै उठ्न सक्दैनन् । घाम छिप्पिदासम्म मस्त सुत्छन् । उनलाई धर्मकर्ममा रुची छैन । पूजापाठ गर्ने, मन्दिर धाउने गर्दैनन् ।

अनमोलको दैनिकी नियमित छ । उनी बिहान ६ बजे उठिसक्छन् । राती चाडै सुत्छन् । सात घण्टा मस्त निदाउँछन् । उठेर बाथरुम जान्छन् । नुहाउँछन् । त्यसपछि उनी पूजापाठमा लाग्छन् । खासगरी मन्त्र जप गर्छन् । उनी भगवान कृष्णका भक्त हुन् ।

केहि समय पूजापाठमा विताइसकेपछि अनमोल हल्का व्यायाम गर्छन् । ट्रेडमिलमा दौडन्छन्, कार्डियो ट्रेनिङ गर्छन् । घरको ग्राउन्ड फ्लोरमा यसका लागि छुटै व्यवस्था छ ।

सवारी

भुवन केसी कार चढ्छन् । उनी कारका सौखिन नै हुन् । सकेसम्म कारमै सवार हुन्छन् । उनलाई सहज पनि यसैमा लाग्छ ।

अनमोललाई कारमा उस्तो रुची छैन । उनी बाइकका भने सौखिन हुन् । उनीसँग केही बाइकको कलेक्सन नै छ । उनी बाइकर्स गु्रपमा पनि सामेल छन् । बेलामौकामा राइडर्स साथीहरुसँग मिलेर लामो यात्रामा पनि निस्कन्छन् ।

प्रवृत्ति

भुवन अलि अराजक छन् । रोमान्टिक पनि । मनमौजी छन् । लभ-रोमान्समा बढी रमाउँछन् । चहकिलो र स्टाइलिस पहिरन लगाउने, माछामासु खाने, मदिरापान गर्ने, मनमौजी बाँच्ने उनी तामासिक प्रवृत्तिका छन् । उनीको प्रेम कथा र लफडाबाजी पनि प्रशस्तै छन् ।

अनमोल शान्त छन् । सौम्य छन् । उनले आफैलाई अनुशासनमा बाँधेका छन् । लभ-रोमान्सलाई उनले छताछुल्ल बनाएका छैनन् । सामान्य जीवनशैली रुचाउने उनी सात्विक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment