
१८ वैशाख, काठमाडौं । छिमेकी मुलुक भारतमा चक्रवात आँधीको त्रास छ । ‘फानी’ नाम दिइएको यो आँधीको प्रभाव नेपालमा पर्छ कै पर्दैन भन्ने चासो र चिन्ता व्यक्त भइरहेको छ ।
नेपालका मौसमविदले पनि यसलाई चासोपूर्वक पछ्याइरहेका छन् । मौसमविद वरुण पौडेलले भने, ‘हामीले फानी कतातिर जान्छ भनेर डिरेक्सन (बाटो) पछ्याइरहेका छौं ।’
नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी सार्वजनिक गर्दै आएको छ । पछिल्लो बुलेटिनमा बुधबार दिउँसो र राति देशैभरि आंसिकदेखि सामान्य बदलि रही पश्चिमी भूभागका साथै पूर्वी र मध्य पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ । बिहीबार र शुक्रबार पनि देशैभर आंसिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरिएको छ ।
तर, अहिलेसम्म भारतको फानी नेपाल आउने सम्भावना नदेखिएको मौसमविद बताउँछन् । ‘शुक्रबारको अन्त्यतिर पूर्व र मध्य नेपालमा हल्का असर देखिए पनि फानी आँधीको सम्भावना नेपालमा छैन,’ मौसमविद पौडेलले भने, ‘फानीबाट हामी डराउनु पर्दैन ।’
भारतमा भने फानीले विनास निम्ताउन सक्ने भन्दै उत्तरी तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशको तटीय क्षेत्र लगायतका स्थानमा ३ मेसम्म सतर्क रहन सूचित गरिएको छ । १५५ देखि १७५ किलोमिटर प्रतिघण्टाको वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् ।
यसअघि २७ चैतमा आएको ‘टोर्नाडो’ आँधीका कारण नेपालका बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4