Comments Add Comment

विद्यालय भर्सेस प्रकृतिः बालबालिकाले कहाँ के सिक्छन् ?

हामी चाहन्छौं, मेरा बालबच्चा ज्ञानी हुनुपर्छ । बौद्धिक हुनुपर्छ । चतुर हुनुपर्छ । सिपालु हुनुपर्छ । इमान्दार हुनुपर्छ । अनुशासित हुनुपर्छ ।

यहि सदिक्षा राखेर हामी उनीहरुलाई विद्यालय भर्ना गरिदिन्छौं । दिन नबिराई विद्यालय पठाउँछौ । बालबालिकालाई ज्ञानी, बौद्धिक, सिपालु बनाउने खुराक पाठ्यपुस्तकमा लेखिएको हुन्छ । त्यही खुराक शिक्षक/शिक्षिकाले बालबालिकालाई दिन्छन् । पाठ पढाउँछन् । लेख्ने अभ्यास गराउँछन् । पुस्तकमा लेखिएका कुरा उनीहरुले कति सिके ? यसका लागि परीक्षा लिइन्छ ।

हामी सोच्छौं, विद्यालय पढाएपछि मेरा बालबच्चा जान्नेबुझ्ने हुन्छन् । उनीहरु तिक्ष्ण बुद्धिका हुन्छन् । नयाँ कुरा जान्दछन् ।

तर, सोच्नुहोस् त तपाईंको बच्चाको कौतुहलता, जिज्ञासा पाठ्यपुस्तकले मात्र मेट्छ होला ? कक्षाकोठाको चार दिवारभित्र मात्र बच्चाका लागि पर्याप्त ज्ञानका स्रोत होला ?

हामी गल्ती गर्दैछौ ?

बालबच्चालाई ज्ञान आर्जन गर्नका लागि बिहान उठ्नसाथ विद्यालय पठाउँछौ । साँझ र्फकनसाथ होमवर्क र पठनपाठनमा व्यस्त बनाउँछौ । उनीहरुको हरेक दिन विद्यालयकै पर्खालभित्र व्यतीत हुन्छ । न उनीहरुसँग खेल्ने समय छ, न रमाइलो गर्ने, न घुमफिर गर्ने । जन्मिएर तङ्गि्रन नपाउँदै उनीहरुलाई विद्यालयमा भर्ना गरिदिन्छौ । बाल्यकाल, किशोरवय उनीहरुले विद्यालय गुजार्छन् । युवाअवस्था पुगेपछि करियर र गृहस्थीले एकैपटक छोप्छ ।

विद्यालयप्रति नकारात्मक हुनुपर्छ भन्ने होइन । पढाई आवश्यक छैन भन्ने पनि होइन । तर, अहिलेको विद्यालय शिक्षा, पठन विधी र अभिभावकको चेतले अबोध बालबालिका मानसिक बन्दी बन्दैछन् । उनीहरुको मस्तिष्क विद्यालय, पढाई, होमवर्क, शिक्षक भन्दा दायाँवायाँ हुन पाउँदैन ।

हामी अभिभावक र शिक्षकको सोचाई के छ भने, विद्यालय नै बालबालिकाको समग्र जान्नेबुझ्ने ठाउँ हो । पाठ्यपुस्तकबाट नै बालबालिकाले सबै कुरा सिक्छन् । जान्ने हुन्छन् । त्यही कारण त आफ्नो बच्चाले परीक्षामा उच्च अंक हासिल गर्नुलाई नै अभिभावकहरु सफताको मानक बनाउँछन् ।

तर, आफैलाई एकपटक प्रश्न गरौ त, के विद्यालय नै पर्याप्त छ बालबालिकाका लागि ? उनीहरुलाई किन विद्यालय पठाइरहेका छौ ? परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गराउनका लागि ? ज्ञानी बनाउनका लागि ? बुद्धिजीवि बनाउनका लागि ? शिक्षित बनाउनका लागि ? अनुशासित बनाउनका लागि ? मर्यादित बनाउनका लागि ?

पक्कैपनि विद्यालय भनेको बालबालिकाको समग्र ज्ञान र सीप आर्जनको थलो हो । उनीहरुको मनमा उठ्ने जिज्ञासा, कौतहुलता मेट्ने ठाउँ हो । नयाँ अभ्यास र अध्ययन गर्ने प्रयोगशाला हो । अनुशासन र मर्यादा सिक्ने घर हो ।

तर, यावत् ज्ञान, चेतना, शिक्षा र अभ्यासका लागि  विद्यालय मात्र पर्याप्त छैन । पाठ्यपुस्तकमा मात्र ति सबै कुरा उनीहरुले पाउँदैनन्, जो उनीहरुले जान्नु र बुझ्नुपर्ने हुन्छ । कापी र पेन्सिलले मात्र ति सबै अभ्यास गर्न सक्दैनन्, जो उनीहरुको लागि जीवनोपयोगी हुन्छ ।

प्रकृतिको ढोका खोलौं 

बालबालिकालाई विद्यालय र पुस्तकसँग मात्र संगत गराउने होइन, प्रकृतिसँग पनि एकाकार गराउनुपर्छ । उनीहरुले पुस्तकबाट जति कुरा सिक्छन्, उतिनै कुरा एउटा फलको बोटबाट सिक्छन् । विद्यालय जसरी उनको ज्ञान आर्जन गर्ने थलो हो, त्यो भन्दा ठूलो र खुला थलो हो बनजंगल, बगैंचा, खेतीबाली,  जीवजन्तु, वनस्पती, किरा-फट्यांग्रा ।

बच्चाको मानसिक विकास हुन नपाउँदै, उनको शरीरका अंगहरु राम्ररी तङ्गि्रन नपाउँदै हामी उनिहरुलाई विद्यालयभित्र बन्द गरिदिन्छौ । पाठ्यपुस्तकमा एकोहोरो बनाइदिन्छौ । यही कारण उनीहरु प्रकृति, परिवार, समाज र वातावरणबाट विमुख हुन्छन् ।

दिनभर घाम लाग्यो कि हावा चल्यो ? सुन्तला फल्ने सिजन हो कि, धान पाक्ने ? अहिलेका बालबालिकालाई थाहा हुँदैन । किनभने उनीहरु विद्यालयभित्र बन्दी भएका छन् । जबकी विद्यालय र पुस्तकलाई सीमित गरेर उनीहरुलाई घर परिवार, पर्यावरण, गाइबस्तु, बगैंचा, खेतीबाली पनि अवलोकन गराउने हो भने त्यसबाट उनीहरुले धेरै कौतुहलता एवं उत्सुकता मेट्न पाउँछन् । ज्ञान, सीप र दक्षता आर्जन गर्छन् । यसरी आर्जन गरेका ज्ञान नै जीवनोपयोगी र प्रभावकारी पनि हुन्छ ।

प्रकृतिमा के छ ?

हामीले जान्नुपर्ने, बुझ्नुपर्ने, सिक्नुपर्ने सबैकुरा प्रकृतिमा छ । जब हामी प्रकृतिसँग एकाकार हुँदैनौ, जीवनलाई सही अर्थमा पनि बुझ्न सक्दैनौ । अहिलेका बालबच्चाहरुलाई अभिभावकले यहि कारण अन्याय गरिरहेका छन् कि, बालबच्चा प्रकृतिबाट विमुख छन् । उनीहरुले प्रकृतिको काखमा उन्मुक्त रमाउन पाएकै छैनन् ।

प्रकृति एक गुरु हुन्, खुला ज्ञान भण्डार पनि ।

बालबालिकालाई बनजंगलमा पुर्‍याउनुहोस्, बगैंचामा रमाउन दिनुहोस् । गाईबस्तुसँग संगत गर्न दिनुहोस् । खेतीबालीको काममा प्रेरित गर्नुहोस् । यावत् अनुभव र अभ्यासबाट उनीहरुले जीवनोपयोगी कुरा आर्जन गर्छन् ।

पुस्तकका पानामा मात्र स्याउ देखेका बच्चालाई स्याउकै बोटमा लगेर देखाउनुको भिन्नता कति हुन्छ ? कर्म गर्नुपर्छ भनेर पाठ घोकेका बच्चालाई खेतीबालीमा श्रम गर्न लगाउँदाको भिन्नता कति हुन्छ ? खुसी र उत्साहित हुनुपर्छ भनेर उपदेश दिइएका बच्चालाई रंगबिरंगी फूल एवं पुतलीहरुसँग स्वच्छन्द खेल्न दिनुको भिन्नता कति हुन्छ ?

अभिभावकले बुझ्नैपर्ने कुरा हो ।

तपाईं आफ्नो बच्चालाई परीक्षामा उत्कृष्ट भएको वा उच्च अंक हासिल गरेको हेर्न चाहनुहुन्छ भने विद्यालय मात्र पठाउनुहोस् । पुस्तक र होमवर्कमा केन्दि्रत गराउनुहोस् । तर, बच्चालाई जीवन र जगतको भाषा सुनाउन चाहनुहुन्छ, व्यवहारिक ज्ञान र सीप प्राप्त गरेको हेर्न चाहनुहुन्छ भने प्रकृतिसँग पनि खेल्न छुट दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment