Comments Add Comment

राष्ट्रपतिको स्वास्थ्यमाथि कसले गर्‍यो खेलवाड ?

१८ वैशाख, बेइजिङ । अचानक बिरामी भएको भन्दै ९ दिने राजकीय भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार काठमाडौं आइपुगेकी छिन् । बेइजिङ्गबाट फर्केर चीनको स्वशाषित तिब्बतको ल्हासा भ्रमणका क्रममा भण्डारीलाई हाईअल्टिच्युड सिकनेस भएको भनिएको छ ।

दोस्रो बेल्ट एण्ड रोड फोरमको शिखर सम्मेलनको सिलसिला पारेर भएको राजकीय भ्रमणमा चीन आएकी राष्ट्रपति भण्डारी बेइजिङ आउँदा नै थकित भइसकेकी थिइन् ।

बेइजिङमा राष्ट्रपति भण्डारीका यति धपेडीयुक्त कार्यक्रमहरु थिए कि उनको बेइजिङ बसाइ पूरापूर व्यस्त रह्यो ।

त्यसो त पहिल्यैदेखि नै हल्का बिरामी रहेकी राष्ट्रपति भण्डारीको खानपिनमा फरकपन, लामो समयसम्म एकै स्थानमा बस्नुपर्ने बाध्यता, मौसमको प्रतिकुलता, अति व्यस्त कार्यक्रम, सम्बोधनका धेरै कार्यक्रम र भिडभाडयुक्त वातावरण पनि स्वास्थ्य बिग्रनुमा जिम्मेबार छन् ।

राष्ट्रपति भण्डारी सान्सी प्रान्तको सियान सहरमा एकरात बसेर चीनको राजधानी आएकी थिइन् । जानकारहरुका अनुसार सियानमा खासै अर्थपूर्ण वा अति आवश्यक भ्रमण थिएन । त्यहाँ एकजना नेपालीको जोडमा राष्ट्रपति भण्डारीलाई सियानको भ्रमण गराउन सफल भएको जानकारहरु बताउँछन् ।

परराष्ट्र मन्त्रालयले बिरामी राष्ट्रप्रमुखलाई राजकीय भ्रमण गराउँदा किन सिधै बेइजिङमा ओर्लने र बेइजिङबाट कार्यक्रम सकेर सीधै नेपाल फर्कने छोटो र छरितो तालिका निर्धारण गर्न सकेन ? यसो गरेको भए भ्रमण सुनमा सुगन्ध हुने थियो ।

राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको एयरबस–३२० बाट सियान ओर्लेकी थिइन् । निगम स्रोतका अनुसार एयरबस–३२० ले काठमाडौंबाट सीधै बेइजिङसम्म उडान भर्न सक्छ । त्यसर्थ, प्राविधिक कारणले गर्दा राष्ट्रपतिको टोली बेइजिङ नगई सियानमा बस्नुपरेको होइन ।

बेइजिङमा व्यस्त कार्यक्रम

बेइजिङ आएको दोस्रो दिन बेल्ट एण्ड रोड फोरमको शिखर सम्मेलनको उद्घाटन, त्यसपछि गोलमेच, तेस्रो दिन पनि गोलमेच बैठकमा सम्बोधन, अनि बेइजिङको बाहिरी भागमा रहेको स्थानमा भएको समापन समारोह र त्यही साँझ राष्ट्रपति भण्डारीको स्वागतमा नेपाली दुतावासले आयोजना गरेको रात्रीभोजमा सहभागी हुदाँ उनी अति व्यस्त र थकित देखिन्थिन् ।

यतिमै राष्ट्रपतिको कार्यक्रम सकिएन । उनी त्यसको भोलिपल्ट चीनको राजधानीका विभिन्न स्थानको भ्रमणमा निस्किइन् । र, साँझ अबेरसम्म फेरि चिनियाँ समकक्षी सि जिनपिङसँगै हर्टिकल्चर मेलाको उदघाटन समारोहमा सहभागी भइन् ।

बेइजिङबाट ल्हासा उड्नु अघिल्लो दिन चिनियाँ राष्ट्रपतिसँग दुईपक्षीय भेटघाट भयो । र भोलिपल्ट बिहान सबेरै तिब्बततर्फको उडान भयो ।

कल्पना गर्नुहोस् कति व्यस्त कार्यतालिका । के यस्तो कार्यतालिकामा काम गर्न राष्ट्रपतिको स्वास्थ्यका कारण सहज छ ? यसबारे परराष्ट्र मन्त्रालयले राष्ट्रप्रमुखको स्वास्थ्य र कार्यतालिकामा हेलचेक्र्याइँ गरेको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment