
१८ वैशाख, काठमाडौं । भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरीको नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा च्यासलले वीरगञ्ज युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दुवै गोल मिलन राईले गरे ।
च्यासलले वीरगञ्जाथि सुरुवातदेखि नै आक्रमण बुनेपनि पहिलो हाफ गोलरहित बराबरीमा चिक्त बुझाएको थियो । ४५ औं मिनेटमा मिलन राईले गोल गर्दै च्यासललाई अग्रता दिलाए । ७४औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।
यससँगै दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा जावलाखेल र सरस्वती युवा क्लब तथा नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल बिहीबार जावलाखेल युथ क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ । खेल ३ बजेपछि नैकाप फुटबल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4