+
+
Shares

देउवा समूहको सम्मेलनको निष्कर्ष : १५ औं महाधिवेशन गर्ने, शशांकले संयोजन गर्ने

सम्मेलनले १५ औं महाधिवेशन समयमा हुन नसक्नुमा तत्कालीन महामन्त्री गगनकुमार थापालाई जिम्मेवार ठहर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनले पार्टीको १५ औं महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको छ ।
  • सम्मेलनले महाधिवेशनको नयाँ कार्यतालिका घोषणा गर्ने सम्पूर्ण अधिकार सभापति देउवालाई प्रदान गरेको छ ।
  • सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने र अन्य समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने निर्णय सम्मेलनले गरेको छ ।

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको  राष्ट्रिय सम्मेलनले पार्टीभित्रको विवाद अन्त्य गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा तीन दिनसम्म चलेको सम्मेलनले देउवा नै पार्टी सभापति रहेको दाबीसहित उनकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको हो ।

पार्टीको आधिकारिकतासम्बन्धी विवाद, विशेष महाधिवेशन, आगामी महाधिवेशनको कार्यतालिका तथा संगठन पुनर्गठनसहित समसामयिक राजनीतिक विषयमा पनि सम्मेलनले विभिन्न निर्णयहरू गरेको छ ।

सम्मेलनपछि जारी वक्तव्यमा पार्टीभित्रको विभाजनलाई अन्त्य गर्दै १४ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाकै नेतृत्वमा वृहत एकताको १५ औं महाधिवेशन नै उपयुक्त निकास भएको उल्लेख छ ।

सम्मेलनले कार्यसम्पादन समितिको आवश्यक परामर्शमा १५ औं महाधिवेशनको नयाँ कार्यतालिका घोषणा गर्ने सम्पूर्ण अधिकार देउवालाई प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

‘विधानबमोजिमको समयावधि भित्रै १५ औं महाधिवेशन सम्पन्न गर्न पार्टी भित्र कानूनी तथा राजनीतिक समस्याहरू उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै यथाशीघ्र महाधिवेशनको कार्यतालिका घोषणा गर्न केन्द्रीय कार्यसमितिलाई निर्देश गर्दै कार्यसम्पादन समितिको आवश्यक परामर्श लिई पार्टी सभापति श्री शेरबहादुर देउवालाई नयाँ कार्यतालिका घोषणा गर्ने सम्पूर्ण अधिकार प्रदान गर्दछ,’ सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएको घटनालाई देउवा समूहले आफ्नो पक्षमा न्याय प्राप्तिको पुनः अवसरका रूपमा व्याख्या गरेको छ ।

वक्तव्यमा अदालतको आदेशको स्वागत गर्दै न्यायपालिकाबाट प्रस्तुत तथ्य, प्रमाण र आधारमा देउवा सभापति रहेको केन्द्रीय कार्यसमितिले नै आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।

पार्टीभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनलाई लिएर देखिएको विवादप्रति राष्ट्रिय सम्मेलनले असन्तुष्टि जनाएको छ । वक्तव्यमा केही व्यक्तिको पद प्राप्तिको हतार, महत्त्वाकांक्षा र राजनीतिक षड्यन्त्रबाट विशेष महाधिवेशनको नाटक मञ्चन गरिएको आरोप लगाइएको छ ।

विशेष महाधिवेशनले निर्वाचनको मुखमा कांग्रेसलाई संगठनात्मक तथा भावनात्मक रूपमा विभाजित गरेको र त्यसकै परिणामस्वरूप फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार बेहोर्नुपरेको सम्मेलनको ठहर छ ।

प्रदेश सरकारबाट कांग्रेस क्रमशः बाहिरिनुपरेको अवस्थाको जिम्मेवारी पनि सम्मेलनले विशेष महाधिवेशन पक्षधर नेतृत्वमाथि लगाएको छ ।

‘हरेक प्रदेश सभामा उचित संख्यामा हाम्रो पार्टीका माननीय सदस्यहरू विद्यमान रहेको हुँदाहुँदै पनि सबै प्रदेश सरकारबाट नेपाली कांग्रेस क्रमशः बाहिरिनुपर्ने परिस्थितिको जिम्मा तथाकथित विशेष महाधिवेशन पक्षधर नेतृत्वले लिनुपर्ने यो सम्मेलन ठहर गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्मेलनले १५ औं महाधिवेशन समयमा हुन नसक्नुमा तत्कालीन महामन्त्री गगनकुमार थापालाई जिम्मेवार ठहर गरेको छ । वक्तव्यमा क्रियाशील सदस्यताको नामावली तोकिएको समयमा केन्द्रीय कार्यसमितिमा नबुझाइएकाले घोषित कार्यतालिकाअनुसार महाधिवेशन गर्न नसकिएको उल्लेख छ ।

यसका साथै निर्वाचनको तयारी गर्नुपर्ने अवस्था र भदौ २४ को घटनामा पार्टी केन्द्रीय कार्यालयसहित प्रदेश, जिल्ला, क्षेत्र तथा स्थानीय तहका १५० भन्दा बढी भवन, कागजात तथा प्रविधिसम्बन्धी सामग्री र अभिलेख जलेर नष्ट भएको अवस्थालाई पनि महाधिवेशन प्रभावित हुनुका कारणका रूपमा उल्लेख गरिएको छ ।

देउवा समूहले १५ औं महाधिवेशनसम्म पार्टीका राजनीतिक तथा वैधानिक गतिविधि सञ्चालन गर्न सम्मेलनका संयोजक डा. शशांक कोइरालाको संयोजकत्वलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ । सम्मेलनले विधानअनुसार केन्द्रीय कार्यसमिति पुनर्गठन गर्न पनि निर्देशन दिएको छ ।

‘१५ औं महाधिवेशनसम्म पार्टीका वैधानिक तथा राजनीतिक गतिविधि निरन्तर सञ्चालन गर्न तथा महाधिवेशनको तयारी गर्न यसै सम्मेलनका संयोजक प्रा.डा. शशांक कोइरालाको संयोजकत्वलाई निरन्तरता दिई विधानबमोजिम केन्द्रीय कार्यसमिति पुर्नगठन गर्न समेत यो सम्मेलन निर्देश गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

संगठनलाई आगामी निर्वाचन केन्द्रित बनाउन युवाको सहभागिता बढाउने विषयलाई सम्मेलनले प्राथमिकता दिएको छ । देउवा समूहले पार्टीमा युवाको सहभागिता र निर्णय प्रक्रियामा पहुँच बृद्धि गर्दै विधानमा भएको सांगठनिक संरचनाहरू चुस्त बनाउने र संरचनाभित्र समावेशिता बढाउने उल्लेख निर्णय पनि गरेको छ ।

‘आसन्न स्थानीय तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी पार्टीमा युवाको सहभागिता र निर्णय प्रक्रियामा पहुँच वृद्धि गर्दै विधानमा भएको सांगठनिक संरचनाहरु चुस्त बनाई सोही आकार र संख्या भित्र पनि समावेशीताको मात्रा वृद्धि गर्दै युवा पुस्ताको भावनालाई आत्मसाथ गरी प्रभावकारी जनसंवाद गर्दै सशक्त संगठन निर्माणमा जुट्न सबैलाई आव्हान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

देउवा समूहले राष्ट्रिय राजनीतितर्फ वर्तमान अवस्थालाई अस्थिर र चुनौतीपूर्ण भनेको छ । राष्ट्रिय एकता, सार्वभौमिकता, लोकतन्त्र, नागरिक स्वतन्त्रता तथा अधिकार संकुचन हुँदै गएको दाबी गर्दै सम्मेलनले यस्तो परिस्थितिको सामना सवल, सुदृढ र सम्पूर्ण एकता भएको कांग्रेसले मात्रै गर्न सक्ने सम्मेलनको निष्कर्ष छ ।

यस्तै, राष्ट्रिय हितका साझा विषयमा अन्य राजनीतिक शक्तिसँग संवाद, सहमति र सहकार्य आवश्यक रहेको सम्मेलनको निष्कर्ष निकालेको छ । सम्मेलनले छिमेकी तथा मित्रराष्ट्रसँगका सम्बन्धलाई नेपालको राष्ट्रिय हित केन्द्रमा राखेर समयानुकूल र सुमधुर बनाउन पनि केन्द्रीय कार्यसमितिलाई निर्देशन दिएको छ ।

सम्मेलनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै कानुनी राज्य, सुशासन, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ । सम्मेलनले सरकारलाई कुनै व्यक्ति आरोपित हुँदैमा अन्तिम न्यायिक निर्णयअघि दोषी ठहर गर्न नमिल्ने सिद्धान्तसमेत स्मरण गराएको छ ।

देउवा समूहले पार्टीका संस्थापक बीपी कोइरालाको लोकतान्त्रिक समाजवादी विचारलाई समयानुकूल व्याख्या र कार्यान्वयन गर्दै आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ ।

सम्मेलनले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय पनि गरेको छ । नेता डा. प्रकाशशरण महतले राष्ट्रिय सम्मेलनको निर्णयबारे जानकारी दिँदै हिन्दू, बौद्ध, किराँतलगायत सनातनदेखि चलिआएका धर्म–संस्कृतिलाई साझा पहिचानका रूपमा अघि बढाउने र अन्य धर्म मान्ने समुदायको धार्मिक स्वतन्त्रता पनि सुनिश्चित गर्ने बताए ।

‘सनातन धर्मलाई हाम्रो राष्ट्रिय पहिचानका रुपमा अगाडि बढाउने भन्ने कुरा भयो,’ उनले भने, ‘सँगसँगै अरु जति पनि अन्य धर्महरू छन्, त्यो समुदायको धर्म मान्ने अधिकारलाई सुनिश्चित गर्ने विषय निरन्तर जान्छ ।’

प्रेस स्वतन्त्रता, नागरिक अधिकार, न्याय र समानताको पक्षमा उभिने तथा धार्मिक, सामाजिक, जातीय, क्षेत्रीय र लैङ्गिक विभेद तथा हिंसाविरुद्ध जागरण अभियान सञ्चालन गर्ने घोषणा गर्दै सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको समापनमा सम्मेलन अघिसम्म देउवा समूहको नेतृत्व गर्दै आएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र छुट्टै विचार समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला भने अनुपस्थित थिए ।

सम्मेलनको उद्घाटन समारोहमा उपस्थिति भएर आ–आफ्नो मन्तव्य दिएका दुवै नेताको समापन समारोहमा रहेको अनुपस्थितिले अनेक अड्कलबाजी हुन सुरु भएको छ ।

खड्काको सचिवालयले उनी समापन समारोहमा अनुपस्थित रहेको कुरा पुष्टि गरेको छ । तर, कारण भने खुलाएन । पूर्वउपसभापति खड्का शनिबारको बन्दसत्रमा भने उपस्थित थिए ।

उता अर्का नेता कोइराला भने शनिबार र समापन समारोह दुवैमा अनुपस्थित थिए । तर, उनीनिकट नेताको दाबीअनुसार कोइराला व्यक्तिगत कामका कारण समापन समारोहमा उपस्थित हुन नसकेका हुन् ।

देउवा पक्षीय एक नेताले समापन समारोहमा कोइरालाले आफ्नो समूहबाट नेता सञ्जयकुमार गौतमलाई प्रतिनिधिका रुपमा पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?