+

च्याम्पियन्स लिगमा दाबेदारी भिडन्त – लिभरपुल कि बार्सिलोना ?

२०७६ वैशाख  १८ गते २०:१६ २०७६ वैशाख १८ गते २०:१६
च्याम्पियन्स लिगमा दाबेदारी भिडन्त – लिभरपुल कि बार्सिलोना ?

१९ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब बार्सिलोनाबीच राति पौने १ बजे खेल हुँदै छ ।

बार्सिलोनाको मैदान क्याप नाउमा हुने खेलमा विश्वका उत्कृष्ट फुटबलरलाई एउटै मैदानमा हेर्न विश्वभरका फुटबल समर्थक प्रतीक्षारत छन् । त्योभन्दा हतारोमा छन् बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभर्दे र लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप ।

‘हाम्रो ध्यान जित नै हो । तर लिभरपुललाई रोक्नु र गोल गर्नु कति कठीन काम हो त्यो हामीले बुझेका छौँ’ बार्सिलोन प्रशिक्षक भालभर्देले भनेका छन् ।

लिभरपुल प्रशिक्षक क्लोप पनि बार्सिलोना कठीन टिम भएको नै बताउँछन् । उनी भन्छन्, ‘मेस्सीले सिजनको सुरुवातमा नै च्याम्पियन्स लिग जित्ने उद्घोष गरेका थिए, जुन हाम्रा लागि ठूलो चुनौती हो ।’

लिभरपुलका फरवार्ड रोबर्टो फर्मिन्हो फिट नरहेका खबर आइरहँदा प्रशिक्षक क्लोपले भने उनी सन्तुलिन अवस्थामा रहेको र बार्सिलोनविरुद्ध खेल्ने बताएका छन् । घाइते रहेका मिडफिल्डर फाबिन्हो पनि अहिले ठीक छन् ।

बार्सिलोनाले इंग्लिस टिमसँग सबैभन्दा राम्रो जितको रेकर्ड बनाएको भए पनि यसअघिका चार अवे खेलमा लिभरपुल बार्सिलोनासँग हारेको छैन । जसमा दुई खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ । युरोपियन प्रतिस्पर्धामा बार्सिलोनालाई उसैको मैदानमा हराएको एकमात्र इंग्लिस टिम पनि लिभरपुल नै हो ।

च्याम्पियन्स लिगमा घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३१ खेलसम्म अपराजित नै छ । जसमा २८ खेल जितेको छ भने ३ खेल बराबरी गरेको छ ।

अन्तिम १६ को खेलमा लिभरपुलले बायर्न म्युनिखलाई र क्वाटरफाइनलमा पोर्टोलाई हराउँदा पनि देखिएको टिम गेम बार्सिलोनासँगको खेलमा पनि निरन्तर गर्नेमा प्रशिक्षक क्लोप विश्वस्त छन् ।

अन्तिम १६ मा लियोनलाई हराएको बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।

मेस्सीमा बढी निर्भर हुने आरोप खेपिरहेको बार्सिलोना पनि यो सिजन उत्कृष्ट लयमा छ । हुन पनि मेस्सीले इंग्लिस विपक्षी टिमविरुद्धको ३२ च्याम्पियन्स लिग खेलमा २४ गोल गरेका छन् ।

सम्भावित सुरुवाती ११

बार्सिलोना – टेर स्टेगेन, रोबर्टो, पिके, लेङलेट, अल्बा, ¥याकिटिक, बुस्केट्स, आर्थर, मेस्सी, स्वारेज, कोउटिन्हो ।

लिभरपुल – एलिसन, एलेक्जेण्डर आर्नोल्ड, म्याटिप, भ्यानजिक, रोबर्टसन, हेन्डरसन, फाबिन्हो, विज्नाल्डम, सलाह, फर्मिनो, माने ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय