Comments Add Comment

तनहुँको दुर्गम क्षेत्रमा बिजुली पुग्यो, स्थानीय दंग

१९ वैशाख, तनहुँ । दिउँसो तीन बज्दा नबज्दैं डाँडामा लुक्ने घाम । नजिकै सुनसान बगिरहेको सेती नदी । साँझमा धिपधिप बल्ने बत्ती । समसाँझैं चकम्मन्न बन्ने गाउँ । सुनसान, एकान्त अनकन्टार । न त बालबालिकाहरुले उज्यालोमा पढ्न पाउँछन्, नत आमा दिदिवहिनीले उज्यालोमा घर धन्दा ।

यसरी नै कैयौं पुस्ताले जीवन बिताएको तनहुँको कर्णाली भनेर चिनिने सराङ्घाट वारिपारि, ज्यायाटार, बागथल, सारङ, कुनमुन, भेडेगाउँ, ज्यामिरे, थाकस्वाँराका ३ सय घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ ।

तनहुँको देवघाट गाउँपालिका–३, सराङ्घाटका स्थानीय सुकबहादुर गुरुङले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए । सुकबहादुरका अनुसार घर घरमा बिजुली बल्दा दैनिक कामकाज गर्न निकै सजिलो भएको छ ।

बन्दीपुर गाउँपालिका–६ र आँबुखैरहनी गाउँपालिका–६ का विकट गाउँहरुमा बिजुली पुगेको छ । दमौलीसँग जोडिएको सेतीपारीका गाँउहरु काहुँ शिवपुर, रिसिङलगायतका केही क्षेत्रमा अझै बिजुली पुगेको छैन । देवघाट गाउँपालिकाका तीन वडाका जनता अझै पनि अन्धकारमा बस्न बाध्य छन् ।

ग्याजेटार वरपर ९६ घरमा बिजुली पुग्दा यहाँका स्थानीय खुसी छन् । वल्लतल्ल सडक पुर्‍याए पनि यहाँका स्थानीयले विजुली वत्तिको मुख देख्न पाएका थिएनन् । दमौली र अन्य क्षेत्रमा वलेको बिजुली हेर्दै रात काट्ने यहाँका स्थानीय आफ्नै गाउँघरमा बिजुली बल्न थालेपछि औधी खुसी भएको स्थानीय ४७ वर्षीय हर्कबहादुर गुरुङले बताए । हर्कबहादुर नै अहिले गाउँमा विद्युतीकरण गर्ने उपभोक्ता समितिका अध्यक्ष बनेका छन् ।

विद्युत् प्राधिकरण दमौली वितरण केन्द्रका प्रमुख शिव गोशलीले गत वर्षको ८० लाख, चालु वर्षको ३ करोड र आन्तरिक करीब १ करोडको लागतमा ग्रामीण विद्युत्तीकरणलाई तीव्र पारिएको बताए । गत वर्ष १८०० र चालू आर्थिक वर्षमा तीन हजार घरमा बिजुली पुर्‍याउने योजनाअनुरुप काम भइरहेको गोशलीको भनाइ छ । ब्यास, रिसिङलगायत स्थानमा चालू वर्षमा नै विद्युत् लगिने उनले बताए ।

‘तनहुँका ८८ प्रतिशत जनताको घरमा बिजुली पुगेको छ’, प्रमुख गोशलीले भने, ‘अब बाँकी १२ देखि १३ प्रतिशत घरमा मात्रै बिजुली पुग्न बाँकी छ त्यो छिट्टै पूरा हुन्छ ।’

शहरलाई भन्दा पनि गाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरण दमौलीका प्रमुख गोशलीले बताए ।

हिलेखर्कमा टिप्न थाल्यो मोवाइल !

तनहुँको अर्को पर्यटकीय र सुन्दर ठाँउ हो, हिलखर्क । निकै गर्मी मौसममा समेत चिसो सिरेठो चल्ने यो ठाँउमा एक वर्ष अघिसम्म बिजुली बल्दैन्थ्यो । जनताका आफ्नै दुःख थिए । तनहुँको सगरमाथा भनेर चिनिने छिम्केश्वरी र बन्दीपुरको बीचमा रहेको हिलेखर्क पर्यटकीय केन्द्रका रुपमा समेत चर्चित छ । हिलेखर्कको दुःख न त यहाँ बिजुली थियो न त यहाँ नेपाल टेलिकमको मोबाइल नै टिप्थ्यो । तर हिलेखर्कमा बिजुली बत्ती बल्न थालेको छ । मोबाइलको नेटवर्क पनि टिप्न थालेको छ । बिजुली आएसँगै यहाँको जनजीवन फेरिएको छ । जसले गर्दा होमस्टे सञ्चालनमा पनि सहज भएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराएर चर्चामा आएका तनहुँ क्षेत्र नं. १ का सांसद किसान श्रेष्ठले अबको दुई वर्षभित्र तनहुँका कुनै पनि जनता बिजुलीविहीन भएर बस्नु नपर्ने बताए । तनहुँका ग्रामीण विद्युतीकरण तीव्र पारिएको सांसद् श्रेष्ठको दाबी छ । त्यसका लागि ८५ करोडको ठेक्का लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment