Comments Add Comment

सरकारको नीति तथा कार्यक्रम आज, प्राथमिकतामा के–के ?

Photo Credit : फाइल तस्वीर

२० वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

बजेट प्रस्तुत गर्नुपूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रचलनअनुरुप सरकारले सङ्घीय संसद्मा संयुक्त रुपमा आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

संघीय संसद सचिवालयका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् ।

यसअघि बजेटपूर्वको छलफलपछि मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरिएको थियो । तर, यसपटक बजेटबारेको छलफल अगावै नीति तथा कार्यक्रम सरकारले प्रस्तुत गर्न लागेको छ । जसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।

नीति तथा कार्यक्रमलाई सरकारको आधार मानिन्छ । यसकै आधारमा सरकारले जेठ १५ गते प्रस्तुत गर्ने बजेट निर्माण गर्नेछ ।

सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रममा अघिल्लो वर्ष देखिएका त्रुटिहरु सच्याउँदै अधिका‌श कार्यक्रमलाई निरन्तरता दिने अनुमान गरिएकाे छ । गत वर्षकाे भन्दा थप जनमुखी कार्यक्रमहरुलाई पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिने सरकारले जनाएको छ ।

नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि त्यसबारे छलफल हुनेछ । संघीय संसद् सचिवालयले बढीमा ३ दिनसम्म यसबारे छलफल चलाउने तयारी गरेको छ ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि त्यसको अनुमोदन प्रक्रिया अघि बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment