News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीपछि केही महिलाले तीजका लागि छुट्याएको खर्च राहतमा लगाएर प्रभावितलाई सहयोग गरेका छन्।
- सबाना खातुनले तीज कार्यक्रम स्थगित गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दै खाद्यान्न, कपडा, औषधि र सरसफाइ सामग्री पठाएकी छन्।
- डा. नियुक्ति अर्जेल र छिरिङ गुरुङले पनि तीज खर्च कटौती गरेर बाढी–पहिरो प्रभावितका लागि नगद र राहत सामग्री सहयोग गरेका छन्।
२८ भदौ, काठमाडौं । तीज आउन महिनौँ अघिदेखि नै यसको रौनक सुरु हुन्छ । विशेषगरी महिलाहरू दर खाने, भेटघाट गर्ने र विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीमा जुट्छन् । पछिल्ला वर्षमा घर–परिवारमा सीमित तीजका कार्यक्रम पार्टी प्यालेस, होटल र रेस्टुरेन्टसम्म विस्तार भएका छन् । तीजका नाममा हुने खर्च पनि त्यसैअनुसार बढ्दै गएको छ ।
तर, यस वर्षको तीजको माहोल केहीका लागि फरक छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि धेरै परिवार घरबारविहीन छन् । कतिपयले आफन्त गुमाएका छन् भने कतिपय अझै बेपत्ताको खोजीमा छन् । विस्थापितहरू आधारभूत आवश्यकता पूरा गर्न संघर्ष गरिरहेका छन् ।
यही अवस्थामा केही महिलाले भने तीजको उत्सवमा गरिने खर्च कटाएर बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेका छन् । कसैले तीजकै कार्यक्रम स्थगित गरेर राहतका लागि रकम छुट्याए, कसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरे । कसैले खाद्यान्न, कपडा, सरसफाइका सामग्री, बालबालिकाका सामानदेखि औषधिसम्म जुटाएर प्रभावित क्षेत्रमा पठाए ।
उनीहरूको भनाइमा यो तीज नमनाउने निर्णयभन्दा पनि आफ्नो खुसीको केही हिस्सा दुःखमा परेका मानिससँग बाँड्ने प्रयास हो ।
‘तीजको कार्यक्रम रोक्यौँ, त्यही पैसा राहतमा लगायौँ’
सबाना फिटनेसकी सञ्चालिका सबाना खातुनका लागि पनि यस वर्ष तीजको तयारी भइरहेको थियो । हरेक वर्षझैँ सबाना फिटनेसमा तीजको दर कार्यक्रम गर्ने तयारी थियो । त्यसका लागि खर्चसमेत छुट्याइएको थियो ।
तर भदौ १० गते भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको क्षतिको खबर आएपछि उनको सोच बदलियो । तीजको कार्यक्रम स्थगित गर्ने र त्यसका लागि छुट्याइएको रकम बाढी प्रभावितका लागि खर्च गर्ने निर्णय गरिन् । त्यससँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत रकम जम्मा गरिन् ।
‘बाढी गएको र त्यहाँ भएको क्षतिको कुरा थाहा पाउनेबित्तिकै आफूले कति सहयोग गर्न सक्छु, त्यो गर्ने अठोट गरेँ,’ सबाना भन्छिन्, ‘त्यहीअनुसार सहयोग गर्न पाएकोमा मलाई एकदमै खुसी लागेको छ ।’
उनले आफ्नो तर्फबाट र सबाना फिटनेसको तर्फबाट बाढी प्रभावितका लागि खाद्यान्न, मौसमअनुकूल कपडा, भित्री वस्त्र, जीवनजल तथा सामान्य औषधि, सेनेटरी प्याड, बच्चाका लागि डाइपर, कपडा, लिटो लगायतका सामग्री उपलब्ध गराएकी छन् । त्यसैगरी साबुन, मञ्जन, ब्रस, टावल लगायतका व्यक्तिगत सरसफाइका सामग्री पनि राहतमा समेटिएका छन् ।
सहयोग सामग्री छनोट गर्दा उनले बालबालिका र महिलाको आवश्यकतालाई विशेष प्राथमिकता दिइन् । ‘मेरो आफ्नो छोरो सानो भएकाले पनि विशेषगरी बालबालिका र गर्भवती महिलाका लागि सहयोग गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन् ।
आफ्नो बच्चा सानो भएकाले प्रभावित क्षेत्रमा आफैँ पुग्न नसके पनि संकलन गरिएको राहत प्रभावित क्षेत्रमा पठाइएको उनले बताइन् । उद्धार गरेर ल्याइएका बाढी प्रभावितहरू राखिएको पहेँलो गुम्बामा भने उनी आफैँ पुगेर त्यहाँको आवश्यकताअनुसार सहयोग गरेकी छन् ।
उनका लागि तीजको खुसी केही समयका लागि रोकिँदा ठूलो कुरा होइन । विपद्मा परेका परिवारलाई तत्काल आवश्यक परेको सामग्री उपलब्ध गराउनु अहिलेको प्राथमिकता हो ।
‘चाडपर्वका लागि धेरै पैसा खर्च गर्नैपर्छ भन्ने छैन’
गिजा तथा दन्तरोग विशेषज्ञ डा. नियुक्ति अर्जेल पनि चाडपर्वलाई ठूलो खर्चसँग जोड्न नहुने धारणा राख्छिन् । उनका लागि तीज होस् वा दशैं–तिहार, चाडपर्वको मुख्य उद्देश्य परिवार, आफन्त र साथीभाइबीचको सम्बन्धलाई अझ बलियो बनाउनु हो । देखावटी र प्रतिस्पर्धाका लागि ठूलो रकम खर्च गर्नु आवश्यक नभएको उनको बुझाइ छ ।
‘मलाई कुनै पनि चाडपर्व धेरै पैसा खर्च गरेर मात्रै मनाउनुपर्छ जस्तो लाग्दैन,’ उनी भन्छिन्, ‘चाडपर्व भनेको परिवार र साथीहरूसँगको बन्डिङ र कनेक्सन बढाउने एउटा अवसर हो ।’
तर पछिल्लो समय चाडपर्वलाई देखावटी खर्च र सामाजिक प्रतिस्पर्धासँग जोड्ने प्रवृत्ति बढ्दै गएकोमा उनी चिन्तित छन् । ‘देखाउनकै लागि धेरै खर्च गर्ने र त्यसलाई सुपर हाइप गर्ने प्रवृत्तिले समाजमा केही विकृति पनि ल्याइरहेको छ,’ उनी भन्छिन् ।
त्यसैले यसपालि तीजमा हुने खर्चसमेत कटौती गरेर त्यसको केही हिस्सा सहयोगमा लगाउने उनले निर्णय गरिन् । उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । उनको क्लिनिकको तर्फबाट पनि सहयोग गरिएको छ । त्यसबाहेक उनले आबद्ध रहेको जनता क्लब अफ काष्ठमण्डपमार्फत बाढी प्रभावितका लागि राहत सामग्री संकलन गरी पठाइएको छ ।
राहतमा भाँडाकुँडा, नयाँ कपडा, बालबालिका तथा वयस्कका लागि आवश्यक सामग्री, खाद्यान्न र औषधि लगायतका सामग्री थिए ।
उनको विचारमा भने सबैले तीज मनाउनै छोड्नुपर्छ भन्ने होइन । सहयोग गर्ने वा नगर्ने, कति खर्च गर्ने भन्ने व्यक्तिगत छनोट हो ।
‘हामीले व्यापारलाई पनि प्रोत्साहन गरेनौँ भने त्यही व्यापारले फेरि सहयोग गर्न सक्दैन,’ उनी भन्छिन्, ‘अहिले ठूला–साना बिजनेस हाउस र विभिन्न संस्थाले आफूले सकेको सहयोग गरिरहनुभएको छ । त्यसका लागि उहाँहरूको अर्थतन्त्र पनि चलायमान हुनुपर्छ । त्यसैले कति खर्च गर्ने भन्ने कुरा व्यक्तिगत रोजाइ पनि हो ।’
तर आफ्नो रोजाइ भने उनी आवश्यकतामा रहेका मानिससम्म सहयोग पुर्याउने पक्षमा रहेको बताउँछिन् । ‘जसलाई जहाँ जरुरी छ, त्यहाँ प्रभाव पार्न सकियो भने राम्रो हुन्छ भन्ने मेरो सोच हो,’ उनी भन्छिन् ।
‘तीज नमनाउनुहोस् भनेको होइन, खुसी बाँड्नुहोस्’
युवा उद्यमी तथा ग्लो गेटर मेन्सुरल कप र डुडल डाइपरकी सञ्चालिका छिरिङ गुरुङले पनि यस वर्षको तीजलाई फरक ढंगले मनाउने निर्णय गरिन् । उनका लागि तीज नेपाली महिलाको महत्वपूर्ण पर्व हो । संस्कृति र परम्परा जोगाउँदै तीज मनाउनु आवश्यक छ भन्नेमा उनी स्पष्ट छिन् ।
तर यस वर्ष बाढी–पहिरोले धेरै परिवारको घर, सम्पत्ति र जीविकोपार्जनसमेत खोसेको अवस्थामा सामान्य अवस्थामा जसरी तीज मनाउन उनको मन मानेन ।
‘यस वर्ष बाढी–पहिरोका कारण धेरै परिवारले घर, सम्पत्ति र आफ्नो जीविकोपार्जनसमेत गुमाउनुभएको अवस्था देख्दा पहिले जसरी तीज मनाउन मनले मानेन,’ उनी भन्छिन् । त्यसैले तीजका लागि छुट्याइएको बजेटको ठूलो हिस्सा राहतमा प्रयोग गर्ने निर्णय गरिन् ।
उनको सहयोग नगदमा मात्र सीमित छैन । आवश्यकताअनुसार खाद्यान्न, खानेपानी, कपडा, सरसफाइका सामग्री तथा दैनिक जीवनमा आवश्यक पर्ने अन्य सामग्री उपलब्ध गराउने प्रयास गरिएको छ ।
उनका लागि सहयोगको अर्थ रकमको आकारमा मात्र सीमित छैन । ‘आफूले उत्सवमा खर्च गर्न लागेको रकममध्ये केही हिस्सा कसैको दुःखमा काम लाग्यो भने त्यसको मूल्य धेरै ठूलो हुन्छ,’ उनी भन्छिन् ।
तर उनी सबैलाई तीज नमनाउन आग्रह भने गर्दिनन् । ‘तीज मनाउनुहोस्, आफ्नो संस्कृति र परम्परा मनाउनुहोस् । तर सक्नुहुन्छ भने आफ्नो खुसीको केही हिस्सा अरूसँग पनि बाँड्नुहोस्,’ उनी भन्छिन् ।
उनको बुझाइमा नयाँ कपडा, गरगहना, खानपिन वा रमाइलोका लागि छुट्याइएको रकमबाट थोरै हिस्सा मात्र सहयोगमा छुट्याउन सके पनि त्यसले विपद्मा परेका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ ।
‘यस वर्ष हामीले आफ्नो खुसी अलिकति कम गरेर होइन, आफ्नो खुसी अलिकति बाँडेर तीज मनाउन सक्छौँ,’ उनी भन्छिन् ।
‘अहिलेको सहयोग आपत्कालीन अवस्थामै सीमित नहोस्’
बाढी प्रभावितलाई सहयोग गर्ने अभियान तत्कालको राहतमा मात्र सीमित हुनु नहुनेमा डा. अर्जेलको जोड छ । उनका अनुसार अहिले खाद्यान्न, कपडा, औषधि, सरसफाइका सामग्री र अन्य आधारभूत आवश्यकता तत्काल पूरा गर्नुपर्ने अवस्था छ । तर विपद्को प्रभाव लामो समयसम्म रहने भएकाले पुनर्निर्माण र पुनस्र्थापनाका लागि पनि निरन्तर सहयोग आवश्यक पर्नेछ ।
‘अहिले हामी इमर्जेन्सी पिरियडमा छौँ । तर यो स्पिरिट तत्कालका लागि मात्रै नराखौँ,’ उनी भन्छिन्, ‘अब रिबिल्डिङ र रिह्याबिलिटेसनमा पनि धेरै काम गर्नुपर्नेछ । धेरै सहयोग चाहिन सक्छ ।’ उनको भनाइमा सहयोग गर्ने तरिका पनि आ–आफ्नो क्षमता र पेशाअनुसार फरक हुन सक्छ ।
स्वास्थ्य क्षेत्रमा रहेकाले आफूले आर्थिक वा भौतिक सहयोगसँगै आफ्नो व्यावसायिक सीपबाट समेत प्रभावितलाई सहयोग गर्न सक्ने उनको धारणा छ ।
‘व्यक्तिगत रूपमा पनि र प्रोफेसनल्ली पनि हामी धेरै काम गर्न सक्छौँ,’ उनी भन्छिन्, ‘म ओरल केयरमा छु । प्रभावितहरूको ओरल हेल्थ र ओरल केयरमा सहयोग गर्न सक्छु । आमा सुरक्षा संस्थासँग आबद्ध भएकाले गर्भवती महिला र आमाहरूलाई स्वास्थ्य क्षेत्रमा केही सहयोग गर्न सक्छु ।’
परम्परागत रूपमा तीज माइती आएकी चेलीलाई मिठा परिकार खुवाउने, भेटघाट गर्ने र खुसी साटासाट गर्ने पर्व हो । अहिले केही महिलाले त्यही ‘खुसी बाँड्ने’ अर्थलाई विपद्मा परेका परिवारसम्म विस्तार गर्ने प्रयास गरेका छन् ।
उनीहरूको सन्देश एउटै छ– चाडपर्व मनाउन छोड्नुपर्छ भन्ने होइन । तर उत्सव मनाइरहँदा वरिपरि दुःखमा रहेका मानिसलाई पनि सम्झन सक्नुपर्छ ।
प्रतिक्रिया 4