Comments Add Comment

श्रृंखलावद्ध हत्या प्रकरणमा साइप्रसका मन्त्रीको राजीनामा

२० वैशाख, काठमाडौं । तीन वर्षदेखि भइरहेको श्रृंखलावद्ध हत्या प्रकरणलाई लिएर साइप्रसका न्यायमन्त्री इओनास निकोलाउले पदबाट राजीनामा दिएका छन् । यद्यपि हत्यामा आफू प्रत्यक्ष संलग्न नरहेको उनको भनाई छ ।

पक्राउ परेका एक सैनिकले सात आप्रवासी महिला र केटीहरुलाई मारेको स्वीकार गरेपछि ‘राजनीतिक जिम्मेवारी’ लिँदै मन्त्रीको राजीनामा आएको हो । मारिने सातमध्ये एक महिला नेपाली हुन सक्ने एएफपीको समाचारमा उल्लेख छ । तर, यसको पुष्टि भएको छैन ।

अपराध स्वीकार गरेका ३५ वर्षिय ग्रीक–साइप्रियट आर्मी अफिसरलाई हिरासतमा राखिएको छ । प्रहरी अधिकारीहरुमाथि तीन वर्षदेखि मानिसहरु हराइरहेको घटनामा राम्ररी छानविन नगरेको आरोप लाग्दै आएको थियो ।

आफ्नो निर्णयको घोषणा गर्दै मन्त्री निकोलाउले देशको प्रहरीलाई प्रारम्भिक अनुसन्धानमा भएको कमजोरीबारे एउटा स्वतन्त्र आयोग बनाएर अनुसन्धान गर्न आग्रह गरेका छन् ।

‘यसरी अनुसन्धान गर्दा प्रक्रियाहरुमा भएका त्रुटीहरु फेला पारेर त्यसलाई सच्याउन सकिन्छ,’ उनले पत्रकारसँग भने । राष्ट्रपति निकोस अनास्टासियड्सले निकोलाउको राजीनामा सदर गरिसकेका छन् । यसअघि आन्दोलनकारीहरुले मन्त्री निकोलाउ र प्रहरी प्रमुखको राजीनामा माग्दै आएका थिए । उनीहरुमाथि अनुसन्धानमा लापरवाही गरेको र रंगभेदी नीति लिएको आरोप छ ।

मारिनेहरुमध्ये फिलिपिन्सका मेरी रोज टिबोर्कियो, एरियन पलानस लोजाने र मरिकर भाल्तेज अर्कियोलाको शव भेटिएको छ । यस्तै, अरु तीन जनामध्ये रोमानियन महिला लिभिया बुनेया र उनका दुई छोरीहरु मारिएका छन् । उनीहरुको शव खोजी भइरहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment