Comments Add Comment

कांग्रेस प्रवक्ता भन्छन्- प्रधानमन्त्रीज्यू, अलिकति त लोकलाज राख्नुस्

२० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनाव क्षेत्रमा बजेट पार्न भन्दै राष्ट्रिय योजना आयोगलाई योजनाहरुको सूची थमाएकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देशको प्रधानमन्त्रीले दमकको मेयरको जस्तै व्यवहार देखाएको टिप्पणी गरेका छन् । शर्माले अनलाइनखबरसँग भने, ‘१६५ निर्वाचन क्षेत्र पनि सम्झनुभएन, झापाको अरु क्षेत्र पनि सम्झनुभएन । आफ्ना क्षेत्रका लागि आयोजनाको सूची थमाउनुभयो ।’

‘प्रधानमन्त्री कार्यालयकै लेटरप्याड प्रयोग गरेर आयोजनाको सूची थमाएपछि योजना आयोगको कुन सदस्यले काट्ने हिम्मत गर्ला ?’ शर्माले प्रतिप्रश्न गरे ।

कांग्रेस प्रवक्ता शर्माको भनाइ जस्ताको त्यस्तै-

संसारकै अग्लो बुद्धको मूर्ति बनाउने कुरा आयो । त्यो उहाँलाई आफ्नै क्षेत्रमा चाहियो । झापाकै काँकडभिट्टामा राखेको भए के बिग्रन्थ्यो ? दमक नगरपालिकामा मात्रै ५ हजार सुकुम्बासी छन् । उनीहरुको दुई तिहाई भोट पनि उहाँले नै पाउनुभयो थियो । तर, उनीहरुलाई थोरै जमिन र छानो दिने योजना प्रधानमन्त्रीको प्राथमिकतामा परेन । सुकुम्बासीहरुले परैबाट देखिने गरी दमकमा भ्यू टावर बनाउन लाग्नु भएको छ । के त्यो टावरबाट सुकुम्बासीको करङ गन्ने ?

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओलीले पदको दुरुपयोग गरे : कृष्ण खनाल

गोरखा, सिन्धुपाल्चोक, दोलखा, धादिङ, काभ्रेका भूकम्पपीडितहरु अझै टहरामै छन् । ०७२ वैशाखको भूकम्पले सबैभन्दा बढी क्षती यहीँ भएको हो । तर, भूकम्प संग्राहालय झापामा बन्दैछ, त्यो पनि उहाँकै क्षेत्रमा । किन चाहियो झापामा भूकम्प संग्राहालय ? किन गोरखा र सिन्धुपाल्चोकमा नबनाउने ?

दमक नगरपालिकासँगै जोडिएको कमल गाउँपालिका छ । त्यहाँ आदिवासीहरुको चिहान उधिनेर रंगशाला बनाउने सहमति भयो । रंगशालामा स्पुता पनि बनाउने र त्यहाँ मृत्यु भएकाहरुको नाम राख्ने सहमति भएको थियो । वर्तमान राष्ट्रपति विद्या भण्डारी रक्षामन्त्री हुनुभएका त्यसको शिलान्यास गर्नुभयो । अहिले आएर त्यसको नाम मदन भण्डारी रंगशाला राख्न खोजिएको छ ।

मैले भन्दै आएको छु, आदिवासीको चिहान उधिनेर बनाएको रंगशालाको नाम मदन भण्डारी रंगशाला राख्दा स्वर्गीय नेता मदन भण्डारीको आत्मा समेत दुख्ला ।
यति हुँदा पनि म सार्वजनिक रुपमा बोेलेको थिइनँ । तर, अहिले त प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर आफ्नो क्षेत्रमा यो-यो योजना पार्नू भनेर योजना आयोगलाई पत्र नै पठाइएछ । उहाँले १६५ निर्वाचन क्षेत्रलाई बिर्सनुभयो, झापाको अरु क्षेत्र बिर्सनुभयो ।

दुई तिहाईको बहुमत भएको प्रधानमन्त्रीले तोकेको योजना काट्ने आँट राष्ट्रिय योजना आयोगका कुन सदस्यले गर्ला ? त्यसैले मेरो आग्रह छ, प्रधानमन्त्रीज्यू ! अलिकति त लोकलाज राख्नुस् ! दमकमा दमक नगरपालिकाकै मेयरलाई काम गर्न दिनुस् ।

मैले यसोभन्दा हिजो पनि यस्तो भएकै थिएन भन्न खोजेको होइन । तर, यसरी भएको पनि त बाहिर आएको थिएन । हिजो भएको थियो भने पनि त्यो गलत थियो । र, हिजो गलत भएको थियो भनेर आज मैले पनि धेरै गल्ती गर्न पाउनुपर्छ भन्न त नमिल्ला नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment