Comments Add Comment

रुपन्देही कांग्रेसका नेताहरुले मागे विष्णु पौडेलको राजीनामा

२१ वैशाख, बुटवल । रुपन्देहीका कांग्रेस नेताहरुले नेकपा महासचिव एवं सांसद विष्णु पौडेलले राजीनामा मागेका छन् । ललिता निवास प्रकरणमा मुछिएका पौडेलले नैतिक जिम्मेवारी लिँदै पदीय जिम्मेवारी छोड्नुपर्ने र छानविनमा सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

रुपन्देही २ का प्रतिनिधिसभाका उम्मेदवार युवराज गिरी, प्रदेश सभाका उम्मेदवारहरु काजिमान श्रेष्ठ र महेशमान सिह, तिलोत्तमा नगरपालिकाका प्रमुखका प्रत्यासी रामकृष्ण खांण, बुटवल उपमहानगरका खेलराज पाण्डे र सैनामैना नगरपालिकाका फणिन्द्र शर्माले संयुक्त पत्रकार सम्मेलन गरेर पौडेलको राजीनामा मागेका हुन् ।

पौडेलका कारण देशकै राजनीति धुमिल भएको गिरीको दाबी छ । उाले भने, ‘रुपन्देही क्षेत्र नम्बर २ को मतदाता र बासिन्दा हुँ भन्न समेत लाज भो ।’

बालुवाटार जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्नुको साटो सरकारले पौडेललाई उन्मुक्ति दिन खोजेको उनको आरोप छ । ‘सुकुम्बासी र भूमिहीनलाई लालपुर्जा दिन्छु भनेर चुनाव जितेका पौडेल आफैं सरकारी जग्गा हडप्न तल्लीन रहँदा रुपन्देही क्षेत्र नम्बर २ का जनताको शिर निहुरियो’ गिरीले भने ।

गिरीले बालुवाटार जग्गा प्रकरणमा आफनै पार्टी सभापति शेरबहादुर देउवा नै दोषी देखिए पनि कारबाही हुनुपर्ने भन्दै देउवालाई देखाएर पौडेललाई उन्मुक्ति दिन भने कांग्रेसले नदिने बताए ।

ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन होस् र दोषीमाथि कडा कारबाही होस् भन्ने पक्षमा कांग्रेस रहेको नेताहरुले बताएका छन् ।

कांग्रेस नगर सभापति खेलराज पाण्डेले गलत कामको ढाकछोप गर्ने काम गर्नु पटक्कै राम्रो नभएको बताए । उनले भने, ‘दुई तिहाईको कम्युनिष्ट सरकार यस्तै गलत कामलाई बडावा दिनका लागि बनाइएको हो ? कम्युनिष्ट पार्टीका इमान्दार नेता कार्यकर्ता नेताको भ्रष्ट कामसँगै गहुमा घुन पिसिए झैं पिसिनु पर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment