Comments Add Comment

खाँडादेवी मन्दिरमा आन्तरिक पर्यटक बढ्दै

२२ वैशाख, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाको खाँडादेवी मन्दिरमा आन्तरिक पर्ययक तथा दर्शनार्थीको संख्या बढेको छ । मन्दिरको प्रचार प्रसार बढेपछि पर्यटक बढ्न थालेका हुन् ।

शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने भए पनि अहिले अन्य समयमा समेत दर्शनार्थीको संख्या बढेको छ ।

दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा तथा तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि आउन लागेका छन् । खाँडादेवी मन्दिरसम्म सडकको पहँुच पुगेपछि दर्शनार्थीहरु बढेका हुन् ।

खाँडादेवी विगतमा प्रचारबाट ओझल परेको शक्ति पीठ हो । खाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र किम्बदन्ती पाइन्छन् । तर त्यस्ता जनश्रुति र किम्बदन्तीभन्दा पनि शिवपुराणको हिमवत खण्डमा उल्लेख भएअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालीञ्चोकमा अन्तरध्यान भएको उल्लेख छ ।

खाँडादेवी मन्दिरका पुजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठको रुपमा लिइन्छ । विक्रम सम्वत् १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शीला उत्पत्ति भएको बताइन्छ । विसं १५७३ सालमा चढाइएको घण्ट अहिले पनि मन्दिरमा मन्दिरका पुजारी शेरबहादुर तामाङ बताउँछन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीको रुपमा किल्ला बनाएका थिए । अंग्रेजसँगको लडाईं जित्नको लागि पृथ्वीनारायणले खाँडादेवीसँग आशिर्वाद लिएको जनश्रुति पाइन्छ । पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मंगलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बली दिन भनी आदेश दिएका थिए भन्ने जनश्रुति छ ।

काठमाडौंबाट करिव १०० किलोमिटरको यात्रापछि खाँडादेवी पुग्न सकिन्छ । धुलिखेलबाट ८० किलोमिटरको यात्रा पूरा गरेपछि प्रसिद्ध कुशेश्वर महादेवको दर्शन गर्न सकिन्छ । त्यसपछि सित्खाबाट सुनकोशी नदी तरेर कच्ची सडकको यात्राहुँदै खाँडादेवी पुग्न सकिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट भने २० किलोमिटर दूरीमा  खाँडादेवी पुग्न सकिन्छ ।

केवुलकार निर्माणको योजना

प्रदेश नं ३ सरकारले खाँडादेवी मन्दिरसम्म केवुलकार निर्माणको सम्भाव्यता अध्ययनका लागि बजेटसमेत विनियोजन गरेको छ । निजी क्षेत्रसंगको सहकार्यमा सित्खादेखि खाँडादेवीसम्म केवुलकार निर्माण गर्ने प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढु‌गेलले बताए ।

‘यो केवुलकार निर्माण भयो भने काठमाडौ तथा तराईका दर्शनार्थी तथा अन्य पर्यटकसमेत खाँडादेवी आउने छन् । यसले रामेछाप र सिन्धुलीको विकासमा कायापलट हुने छ । त्यसैले यो काम छिट्टै हुन्छ’ मन्त्री ढुंगेलले भने ।

खाँडादेवीमा केवुलकार निर्माण तथा पर्यटन प्रवर्धको लागि खाँडादेवी गाउँपालिकाले पनि सरोकारवालासँग छलफल तथा अघि बढाएको सो गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । तामाङका अनुसार गाउँपालिकाले खाँडादेवीको प्रचारको लागि खाँडादेवी महोत्सव आयोजना गर्ने योजनासमेत बनाएको छ ।

अहिले पनि खाँडादेवी मन्दिरको विकास र संरक्षणको लागि पुरातत्व विभागले खाँडादेवी विकास कोषसँग मिलेर काम गरिरहेको छ । मन्दिरको पुरानो भवन हटाएर अत्याधुनिक भवन निर्माण तथा सिँढी हाल्ने लगायतका काम भएको कोषका अध्यक्ष शेरबहादुर तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment