Comments Add Comment

लुम्बिनी भ्रमण वर्षको प्रचार गर्न रोड शो

२२ वैशाख, बुटवल । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसार गर्ने उद्देश्यले ‘रोड शो’ कार्यक्रम शुरु भएको छ ।

यो कार्यक्रमअन्तर्गत ध्यान आसनमा बसेका बुद्धको मुर्तिलाई नेपालको राष्ट्रिय झण्डा र बौद्ध ध्वजा पताकाले सजिएको गाडीमा सबैले देख्ने गरी राखेर विभिन्न जिल्ला परिक्रमा गराइनेछ ।

भैरहवाबाट सोमबार बिहान शुरु भएको रोड शो प्रदेश ५का बुटवल, पाल्पा, प्रदेश ४ को स्याङजा, पोखरा,तनहुं, ,प्रदेश ३ को चितवन, धादिङ हुँदै संघीय राजधानी काठमाडौं पुगेर समापन हुने छ ।

पाँच दिनसम्म चल्ने रोड शोमा तीनवटै प्रदेशका मुख्य मुख्य शहरका चोकमा संक्षिप्त कोणसभा गरी भ्रमण वर्षका प्रचार सामग्री वितरण र लुम्बिनी भ्रमणमा आउन सम्बन्धित प्रदेशवासीलाई निम्तो दिइने छ । रोड शोको शुभारम्भ गर्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनीको पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान पुर्याउन भ्रमण वर्ष आयोजना गरिएको बताए । उनले भ्रमण वर्षको प्रचारप्रसार व्यापक बनाइ पर्यटक आगमन १५ लाखबाट २५ लाखसम्म पुर्याउने लक्ष्य पूरा गर्न रोड शोलगायत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु हुने बताए ।

‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ भन्ने नाराका साथ आउंदो बुद्ध पूर्णिमा जेठ ४ गते लुम्बिनी भ्रमण वर्ष २०७६ औपचारिकरुपमा शुरु हुनेछ । सिद्धार्थ होटेल एशोसिएसनको नेतृत्वमा सञ्चालित रोड शोमा होटेल व्यवसायी, पर्यटन व्यवसायीलगायत ३० जनाको समूह रहेको एशोसिएसनका सल्लाहकार चेतन पन्तले जानकारी दिए । भ्रमण वर्षमा मायादेवी प्रसूति उत्सव, सुजाता खीर उत्सव, लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्ज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन,योग तथा ध्यान शिविरहरू र स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर) को व्यवस्था मुख्य आकर्षणको रुपमा रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment