Comments Add Comment

आयुष्मान र शिल्पाको ‘रानु कम्मर’को आकर्षक भिडियो, तर फितलो अडियो…

असारको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । ‘रानु कम्मर’ बोलको गीतको भिडियोमा साजन सिंहको कोरियोग्राफी छ । काठमाण्डौमा आयोजित कार्यक्रममा कल्याण सिंह र रोमन बज्रचार्यको संगीत, रोमन, सिमा राई र सुयोग गुरुङको स्वर, रोमन र रवि मल्लको शब्द समावेश गीत सार्वजनिक गरिएको हो ।

यो गीतको भिडियोलाई तीस लाखको लगानीमा तयार पारिएको बताइएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् । भिडियोको लोकेशन, सेटिङका लागि निर्माताले कञ्जुस्याँइ गरेका छैनन् । यो चलचित्रको निर्देशक सुयोग गुरुङ हुन् । चलचित्रको यो गीतमा गौरी मल्ल, विशाल पहारि, शिशिर वाङ्देल, रश्मी भट्टलाई पनि फिचरिङ गरिएको छ ।

चलचित्रको यो गीतको भिडियोमा निर्माताले लोभ नगरेपनि यसको अडियो भने निकै नै कमजोर छ । अडियो दर्शकको मुखमा झुण्डदैन । यसैले चलचित्रको भिडियोमा मात्र यसको निर्माणपक्षले ध्यान दिएको देखिन्छ । गीतको अडियो कमजोर भयो भने स्तरिय भिडियोले पनि यसलाई हिट गराउन सक्दैन । चलचित्रमा समिर सुनवार र निर्देशकको कथा छ ।

ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइ टेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेठ र रमेश के मित्तलको लगानी छ । चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण गरिएको छ । आलोक शुक्लाले चलचित्रको छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment