Comments Add Comment

वीरगञ्जका मेयर भन्छन्-सिंहदरबारको अधिकार मुग्लिन तिरै अड्केको छ

२७ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपलिकाका मेयर विजयकुमार सरावगीले सिंहदरबारको अधिकार मुग्लिन तिरै अड्केको टिप्पणी गरेका छन् । ‘सिंहदरवारको अधिकार घर-घरमा’ भन्ने नारा नाराकै रुपमा सिमित भएको मेयर सरावगीले बताए ।

‘स्थानीय तहलाई अधिकार सम्पन्न भनिएको छ । तर, प्रदान गर्न नखोजेको अवस्था छ । शिक्षा र स्वास्थ्य स्थानीय तहको भनिएको छ तर संघले अर्को दोकान खोलेको छ,’ उनले अघि भने, ‘ एकात्मक केन्दि्रकृत शासन व्यवस्थाबाट विकेन्दि्रत संघीय व्यवस्थामा आइसकेका छौं तर अझैपनि मोह छुटेको छैन, गभर्न गर्ने मानसिकता हटेको छैन ।’

अधिकार कार्यान्वयन गर्ने सवालमा पनि केन्द्र सरकारको सहयोग नपाएको मेयर सरावगीले गुनासो गरेका छन् । ‘वीरगञ्ज महानगरपालिकामा २ सयको हाराहारीमा सरकारी र निजी विद्यालय छन् । शिक्षा महाशाखामा १३ जनाको दरबन्दी छ तर एकजना कर्मचारी खटाइएको छ । एकजनाले २ सय वटा विद्यालय हेर्न सक्छ ?’ उनले प्रश्न गरे ।

बालश्रममा लागेका बालबालिकालाई उद्धार गरेर राख्ने ‘सेल्टर होम’ नहुँदा समस्या भएको उनले बताए । बालश्रम न्युनिकरणको मुख्य चुनौतीको रुपमा सेल्टर होम नै बनेपछि महानगरपालिकाले पहिला सेल्टर होम निर्माण गर्ने सोच बनाएको उनको भनाइ छ ।

वीरगञ्जमा आयोजित बाल श्रम न्युनिकरण सम्बन्धी एक दिवसीय अन्तरक्रियामा बोल्दै उनले महानगरपालिकाले ३० जना बालबालिकालाई राख्न सकिने खालको सेल्टर होम निर्माण गर्ने जानकारी दिए ।

कार्यक्रममा मेयर सरावगीले बाल श्रममा लागेका बालकहरु दूव्र्यशनमा पनि लागेको पाइएको बताउँदै कारबाही नगरेसम्म उपलब्धी हाँसिल नहुने निष्कर्षमा पुगेको बताए ।

बालश्रम नियन्त्रणका लागि सूचना लिने गरी महानगरपालिकाले हेल्पलाइन नम्बर पनि लिन लागेको मेयर सरावगीले जानकारी दिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजनामा वीरगञ्जको होटल कुमु प्यालेसमा कार्यक्रम भएको थियो ।

श्रम तथा रोजगार कार्यालय पर्साका प्रमुख कृष्णकुमार यादवले सबैले सामाजिक उत्तरदायित्व बुझेको अवस्थामा बालश्रम रोकथाम गर्न समय नलाग्ने तर्क गरे ।

नेपाल लेबर फोर्स सर्भे २०१७/०१८ को तथ्याङक अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका २ सय ८६ जना बाल श्रमिक छन् । जसमा १६५ जना महिला र ११९ जना पुरुष रहेको श्रम तथा रोजगार कार्यालय पर्साका नायब सुब्बा सुन्दर श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment